मङ्गलबार, ११ वैशाख २०८१
ताजा लोकप्रिय

द्रुतमार्गमा काटिएका रुखको बदलामा बिरुवा रोपिए

शनिबार, ०४ असोज २०७६, १६ : ०७
शनिबार, ०४ असोज २०७६

नेपाली सेनाले काठमाडौँ तराई–मधेश द्रुतमार्ग सडक आयोजना निर्माणका क्रममा काटिएका रुखका बदलामा बाराको कोल्हवी नगरपालिकामा आज बृहत् वृक्षरोपण गरेको छ ।

संविधान दिवसको अवसर पारेर शान्ति टोलको पाँच हेक्टर जग्गामा गरिएको उक्त कार्यक्रमा टिक, सिमल, शिरिष तथा जामुन जातका बिरुवा रोपिएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ । नेपाली सेनाका अनुसार, बाराका प्रमुख जिल्ला अधिकारी, स्थानीय निकायका जनप्रतिनिधि, नेपाली सेनाका सकलदर्जा, सुरक्षा निकायका प्रमुख, सम्बन्धित सरोकारवाला निकायका पदाधिकारी उक्त वृक्षरोणमा सहभागी थिए ।

उक्त स्थानमा उम्रिएका साललगायतका बिरुवा र नयाँ रोपिएका बिरुवालाई तारबार गरी संरक्षण गर्ने कार्यसमेत भएको सेनाले जनाएको छ ।
 वन तथा भू–संरक्षण विभाग र द्रुतमार्ग आयोजनाबीचको समझदारीअनुरुप द्रुतमार्ग निर्माणका क्रममा हालसम्म हटाइएका १७ हजार ९५४ र पछि कटान गर्नुपर्ने रुखको सट्टामा छ लाखको सङ्ख्यामा बिरुवा रोपिनेछ ।
 
वैशाखदेखि बाराको निजगढ तथा मकवानपुरको राजदमार इलाकामा आफ्नै नर्सरी स्थापना गरी जमीन सुहाउँदो र छिटो हुर्कने प्रजातिका एक लाख ५० हजार बिरुवा उत्पादन गरिसकेको छ । निजगढ र कोल्हवी नगरपालिकामा रहेका सामुदायिक वन तथा राष्ट्रिय वन क्षेत्रको पहिचान गरिएको १८८ हेक्टर खाली जग्गाको सर्भेगरि वृक्षरोपण गरिने पनि नेपाली सेनाले जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप