शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

भ्रमण वर्षमा विश्वका प्रमुख नेतालाई बोलाउँछौं भन्दा नकारात्मक प्रचार भयो : मन्त्री भट्टराई

शुक्रबार, ०३ असोज २०७६, १९ : ०२
शुक्रबार, ०३ असोज २०७६

काठमाडौँ–  संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री योगेश भट्टराईले नेपाल भ्रमण वर्ष–२०२० को उद्घाटनमा विभिन्न राष्ट्रका प्रमुखलाई बोलाउने भन्दा नकारात्मक प्रचार भएको बताए ।  शुक्रबार मन्त्रालयमा प्रेस संगठनसँग आवद्ध पत्रकारहरुसँग अनौपचारिक छलफलमा मन्त्री भट्टराईले विश्वका राष्ट्र प्रमुखलाई भ्रमण बर्षको उद्घाटनमा निमन्त्रणा गर्ने भन्दा नकारात्मक प्रचार गरिएको बताए । 

‘हामी नेपालीमा कति ठुलो हिनताबोध छ । हामी भ्रमण बर्ष मनाउँदै छौ २०२० । भ्रमण बर्षमा विश्वभरिका प्रमुख नेतालाई बोलाउने हाम्रो उद्देश्य छ भन्न नहुने ? कति हिनताबोध,’ मन्त्री भट्टराईले पत्रकारहरुसँग भने, ‘सामान्य मान्छेले यस्तो कुरा गर्र्यो भन्ने पनि होला । हो म सामान्य मान्छे हुँ । तर अहिले मलाई जिम्मेवारी छ ।’

जनवरी १ मा नेपालका सातवटै प्रदेश र विश्वमा रहेका नेपाली दूतावासबाट समेत ‘भिजिट नेपाल’ को उद्घाटन गर्ने तयारी छ भन्दा पनि विरोध भएको उनले बताए ।  ‘विश्वमा जहाँ–जहाँ हाम्रो दूतावास छ, ती ठाउँमा पनि हामी उद्घाटन गर्छौ । त्यहाँ सम्बन्धित देशका राष्ट्र प्रमुखलाई निम्ता गर्छौ मैले भनेको हो,’ मन्त्री भट्टराईले भने, ‘यहि क्रममा हामी अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्म, भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई चिनियाँ राष्ट्रपति सी जिन पिङ लगायतलाई समेत आमन्त्रण गर्छौं भनेको हो । यसमा पनि विरोध ? उहाँहरु हाम्रो राजदूतावासमा आएर बत्ति वालिदिनुभयो भने पनि हामी खुशी हुन्छौं ।’ 

मन्त्री भट्टराईले थप अगाडि भने ‘आउने नआउने उहाँहरूको कुरा हो । तर बोलाउँदैमा के फरक पर्छ ? हामी डोनाल्ड ट्रम्पलाई बोलाउनै नसक्ने हैसियतमा छौं र ? उहाँहरु आउनुभएन भने अरु प्रतिनिधि पठाउनुहोला । उहाँहरुले एक दुई मिनेट नेपालको बारेमा केही बोलिदिनुभयो भने पनि राम्रो म्यासेज जान्छ ।’

दक्षिण कोरियाका राष्ट्रपतिले तीनपटक नेपाल भ्रमण गरिसकेको भन्दै मन्त्री भट्टराईले उनले नेपालका बारेमा थोरै सकारात्मक कुरा बोलिदिँदा पनि नेपाललाई फाइदा पुग्ने बताए । 

नागरिक उड्ययन प्राधिकारण अब दुई संरचनामा

मन्त्री भट्टराईले नागरिक उड्डययन प्राधिकरण अब अलग–अलग संरचनामा लैजाने तयारी भएको बताए ।  ‘नागरिक उड्ययन प्राधिकरणले अहिलेसम्म सर्भिस् र अनुगमन दुवै काम गर्दै आएको छ । दुनियाँमा यस्तो हुँदैन । जसले सर्भिस् दिन्छ, त्यसले अनुगमन गर्ने भन्ने हुँदैन, मन्त्री भट्टराईले भने, ‘यो छुट्याउनुपर्छ । यो छिट्टै प्रक्रियामा जान्छ ।’ 

दुई अलग संरचनामा जाँदा एउटाले व्यवस्थापन र अर्कोले अनुगमन गर्नेछ । यस्तै नेपाल वायुसेवा निगमलाई पनि पब्लिक पार्टनरसीपमा लैजाने कोशिस भएको उनले जानकारी दिए ।  मन्त्री भट्टराइले नेपालमा रहेका ५५ विमानस्थलमध्ये झन्डै ३५ विमानस्थल कालोपत्रे गरेको जानकारी दिए । र, अब वाँकी रहेका विमानस्थल पनि छिट्टै कालोपत्रे हुने बताए । 

यस्तै गौतमबुद्ध विमानस्थलबारे मन्त्री भट्टराईले भनेका छन्, ‘राष्ट्रिय गौरवको आयोजना हो । यो विमानस्थलको काम ८० प्रतिशतभन्दा माथि भएको छ । पछिल्लो चरणमा काम दुर्त गतिमा भएको छ । दुई तीन दिनमा त्यहाँको रिपोर्ट मैले बुझेको हुन्छु । किनकि आउने डिसेम्बरमा निर्माणको काम सकिसक्नु पर्नेछ ।’ 

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल २४ घण्टा संचालनको तयारी

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थललाई आवश्यक परे २४ घण्टा सञ्चालनमा ल्याउन सकिने मन्त्री भट्टराईको दावी छ । तर, त्यसको लागि विमानस्थलको व्यवस्थापकीय सुधार गर्न आवश्यक रहेको उनको भनाई छ ।  ‘विमानस्थलबाट गत बर्ष मात्रै ५० लाख पर्यटक आवातजावत गरेका छन् । यसलाई आवश्यक परे २४ घण्टा सञ्चालनमा ल्याउन सकिन्छ । तर त्यसको लागि कर्मचारीदेखि अन्य व्यवस्थापकीय जिम्मेवारी मिलाउनुपर्ने हुन्छ । अहिले कै अवस्थामा एयरपोर्ट फुलफेजमा चल्यो भने यसले ८० लाखसम्म धान्छ ।’ उनले भने । 

उनका अनुसार अन्तर्राष्ट्रिय विमानस्थलबाट बार्षिक करिब ५० लाख यात्रु र आन्तरिकतर्फ बार्षिक २९ लाख यात्रुहरुले विमानस्थल प्रयोग गरेका छन् । 

निजगढ विमानस्थल ‘गेम चेन्जर’ प्रोजेक्ट 

मन्त्री भट्टराइले दशलाख मान्छे ल्याएर निजगढ विमानस्थलको शिलन्यास गर्नेभन्दा पनि अनावश्यक विरोध भएकोे गुनासो गरे ।  ‘कतिपयले निजगढ विमानस्थल बनाउँनै दिन्नौ भनेर जबरजस्ती दवाव सिर्जना गर्न खोजेका छन् । निजगढ विमानस्थल नेपालको सन्र्दभमा ‘गेम चेन्जर’ प्रोजेक्ट हो । त्यो प्रोजेक्ट सुरु हुन्छ भने सिंगो देशवासीले खुशीयाली मनाउनुपर्छ । त्यसर्थ जसरी पनि शिलान्यास हुन्छ ।’

मन्त्री भट्टराईले भने, ‘जुन दिन शिलान्यास हुन्छ, ढोलबाजा पिटे पनि हुन्छ । त्यसले राष्ट्रिय माहोल बनाउँछ । तर, दश लाख मान्छे उतार्न कम्तिमा पनि दुई महिना पार्टी खट्नुपर्छ । माथिको झगडा र विरोध छाडेर त्यता लाग्नुपर्छ ।’

उनले पार्टीको जिम्मेवार तहबाट समेत निजगढमा विमानस्थल बनाउन नहुने भन्दै आवाज आउन थालेको बताए ।  ‘२५ लाख रूख काटिन्छ भन्दै विरोध भइरहेको छ । कुन उद्देश्यले विरोध भइरहेको छ हामीले बुझेका छौं । सरकारले बुझेको छ’, भट्टराईले भने, ‘त्यो विमानस्थल बन्यो भने दुई नम्बर प्रदेश त लाभान्वित हुन्छ । सिंगो देशलाई नै फाइदा पुग्छ । त्यसर्थ हामीले रूख काट्ने होइन, विमानस्थल बनाउने हो ।’ 

भ्रमण वर्षको घनिभूत तयारी 

मन्त्री भट्टराईले भ्रमण बर्ष– २०२० लाई मध्यनजर गर्दै नेपाल भित्रिने मुख्य गन्तव्यको अध्ययन गरेको बताए ।  ‘नेपालमा पर्यटक भित्रिने भारत, चीन, अमेरिका, श्रीलङ्का, डेनमार्क, बेलायत, कोरीया, जापान लगाएत मुख्य दश गन्तव्य छन् । यी गन्तव्यमा मुख्य ध्यान दिन्छौ । किनी यसले पर्यटक धेरै आउने स्थिति बन्छ ।’ मन्त्री भट्टराईले भने ।  

यस्तै भैरहवाको गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल र पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको दूर्त गतिमा काम भैरहेको जानकारी दिए । उनले यी विमानस्थल समयमै निर्माण सम्पन्न हुने दावी गरे ।  मन्त्री भट्टराईले आफ्नो सफलतासँग कम्युनिस्ट सरकारको सफलता जोडिएको भन्दै यसमा कम्युनिस्ट पार्टी र मुलुकको भविष्य जोडिएको दावी गरे ।

यस्तै मन्त्री भट्टराईले आन्तरिक उडानमा ७० वर्ष उमेर पुगेका बृद्धबृद्धालाई भाडा छुट गर्नुपर्ने कुरा उठाउँदा पनि विरोध भएको बताए । 


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप