मङ्गलबार, ११ वैशाख २०८१
ताजा लोकप्रिय

पूर्वसांसद दाहालको निधन

शुक्रबार, ०३ असोज २०७६, १३ : १६
शुक्रबार, ०३ असोज २०७६

काठमाडौं– पूर्वसांसद हरि वैरागी दाहालको ६२ वर्षको उमेरमा आज निधन भएको छ । विसं २०५१ को मध्यावधि निर्वाचनमा सङ्खुवासभा निर्वाचन क्षेत्र नं २ बाट नेपाल कम्युनिष्ट पार्टी (एकीकृत माक्र्सवादी लेनिनवादी) को प्रतिनिधित्व गर्दै उनी सांसद निर्वाचित भएका थिए । 

राजनीतिका अलावा साना जलविद्युत् विकासको अभियानकर्मीका रुपमा स्थापित दाहाल ‘कोल्ड स्ट्रोल’ रोगबाट पीडित हुनुभएको पारिवारिक सदस्य योगेन्द्रविजय दाहालले जानकारी दिए । पूर्वसांसद दाहालको उपचारका क्रममा मनमोहन कार्डियोलोजी अस्पताल महाराजगञ्जमा आज बिहान निधन भएको हो । विसं २०१४ कात्तिक २८ गते मादी गाउँपालिका–५ सङ्खुवासभामा माता फाल्गुकुमारी र पिता यज्ञरत्न दाहालको कोखबाट उनको जन्म भएको थियो । उनका श्रीमती, दुई छोरी र एक छोरा रहेका छन् ।

दाहालको पार्थिव शरीरलाई अहिले धुम्बाराहीस्थित नेपाल कम्युनिष्ट पार्टीको केन्द्रीय कार्यालयमा श्रद्धाञ्जलिका लागि राखिएको छ । पार्टी महासचिव विष्णु   पौडेलले पार्टी कार्यालयमा श्रद्धाञ्जली अर्पण गरे । दिउँसो १ः०० बजेपछि पशुपति आर्यघाटमा उनको अन्तिम संस्कार गरिने पारिवारिक स्रोतले जनाएको छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप