केन्द्रीय संस्करण
बहस

नेपालले अर्को एउटा संयुक्त जनआन्दोलनको प्रतीक्षा गर्दैछ, जसबाट साँच्चै नै तपाईंले सोचेको समाजवाद आउँछ

आत्मघाती समाजवादी भएको हुनाले, मुख्य सत्रुलाई नचिनिकन नै एकअर्कासँग हानाथाप गरेर हिँड्ने, अर्कासँग काटाकाट गरेर हिँड्ने स्थितिमा हिटलरको उदय भयो

person explore access_timeअसोज ३, २०७६ chat_bubble_outline0
प्रदीप गिरी

रातोपाटी

नेपालको सन्दर्भमा समाजवाद शीर्षकको यस कार्यक्रममा मलाई बोलाएर विचार व्यक्त गर्ने मौका दिनुभएको छ । मेरो विचारमा यो साह्रै  अर्थपूर्ण कुरा छ र यसमा भोलिको राजनीतिक आन्दोलनको विकासको दिशामा एउटा सानो  सङ्केत पनि छ । पूर्ववक्ता साथीहरू राम कार्की र घनश्याम भुसाल अलग पार्टीमा हुनुहुन्छ, म अलग पार्टीमा छु ।  उहाँहरूले यताउति काँग्रेसलाई घोचपेच पनि गर्नुभयो । मलाई यो भन्न कुनै द्विविधा छैन– दुवैजना कमरेडहरूले भन्नु भएका प्रत्येक शब्दसँग म आधारभूत रूपमा सहमत छु । उहाँहरूको कुराको पुष्टिमा र पक्षमा नै थप तर्कहरू दिन्छु । सबैभन्दा पहिला म सहिद कुशुमको सम्मानमा, स्मृतिमा आयोजित यस भामा युवाहरूलाई देख्दैछु । अचेल पार्टीहरूको मिटिङमा युवाहरू धेरै आउँदैनन् । तपाईंलाई देखेर मभित्र उत्साह दुई दुना चार बढेको छ । 

यहाँ कमरेड राम कार्कीले एउटा सजिलो परिभाषा दिनुभयो– समाजवाद के हो भन्ने बुझ्न धेरै ठूला ठूला शास्त्र पनि पढ्न पर्दैन । पुँजीवाद भनेको म, समाजवाद भनेको हामी हो । त्यो पहिले चे ग्वेभाराले भनेको भनेर दोहार्याउनुभयो उहाँले । त्यो परिभाषा शतप्रतिशत सर्मथनीय छ । त्यस परिभाषालाई केन्द्रमा राख्नुभयो भने हाम्रा कुराकानी क्रममा उठेका अनेकौँ अस्पष्टता अथवा अन्तरविरोधी कुराहरुको, अहिले भनेका–गरेका कुराले मलाई  बलियो बनाउँछ कि हामीलाई भन्ने कसौँटीमा तपाईंले उत्तर पाउनेहुने छ  । त्यसैले यो मूल्यवान परिभाषा हो ।

*******

सधैँ ठूला परिर्वतन साहित्यको क्षेत्रमा,कलाको क्षेत्रमा,विज्ञानको क्षेत्रमा युवाले गरेका छन् । वैज्ञानिकहरूले के अध्ययन गरेका छन् भने ३५ वर्ष नाघेपछि,अझ भनौँ ४० वर्ष  नाघेपछि मानिस मौलिक चिन्तन गर्नै सक्दैन । आफूलाई दोहोर्‍याएर बस्छ ।

*******

सहिद  कुशुमको २५, २६ वर्षको उमेरमा निधन भयो । यहाँ उपस्थित धेरै युवाहरू २५ देखि ३५ वर्षको हुनु यस सभामा सर्वाधिक सकारात्मक र आशादायी पक्ष हो ।  तर यहाँ भएका युवाले आफूलाई  म नभनेर हामी भनेर सोच्न थाल्नुभयो भने मबाट हामीमा सङ्क्रमण हुँदै जाँदा वा अवतरण हुँदै जाँदा सम्झिनुपर्ने एउटा कुरा छ । आजसम्म इतिहासमा एकाध अपवादबाहेक अपवादले जिन्दगीको नियमलाई नै सिद्ध गर्छ भनिन्छ । सधैँ ठूला परिर्वतन साहित्यको क्षेत्रमा, कलाको क्षेत्रमा, विज्ञानको क्षेत्रमा युवाले गरेका छन् । वैज्ञानिकहरूले के अध्ययन गरेका छन् भने ३५ वर्ष नाघेपछि, अझ भनौँ ४० वर्ष  नाघेपछि मानिस मौलिक चिन्तन गर्नै सक्दैन । आफूलाई दोहोर्‍याएर बस्छ । योभन्दा मैले निराश हुनैपर्ला, घनश्यामजी र राम कार्कीजी पनि निराश हुन बेर छैन । तर अपवादमा पर्नुहुन्छ उहाँहरू ।

यो देशको मात्रै होइन, सिङ्गो संसारकै सबैभन्दा ठूलो मान्छे यसै देशमा जन्मिएका हुन्– गौतम बुद्ध । उनी आत्मज्ञान प्राप्त गरेर सिद्धार्थ गौतमबाट बुद्ध भए । त्यो बेला उहाँको उमेर कति थियो ? २९ वर्षको उमेरमा घरबाट निस्किए । ५ या ६ वर्षपछि उनलाई बोधीवृक्षका तल ज्ञान प्राप्त भयो ।  उनी सिद्धार्थ वा राजकुमार रहेनन्, बुद्ध भए । सिङ्गो विश्वमा उनको शिक्षा, ज्ञान र जीवनशैलीको आलोक फिँजियो । त्यसले मनुष्यलाई सभ्य बनायो ।

https://i0.wp.com/zenstudiespodcast.com

बुद्धको पदचिन्ह अनुशरण गर्दै पश्चिममा एउटा मानिस जन्मिए,जसलाई हामी इसा मसिहका नामले जान्दछौँ । उनी सुली चढाइए,उनलाई मारियो । बर्बर रोमन साम्राज्यले मार्दा उनको कति उमेर थियो?३२ वर्ष मात्रै थियो ।

*******

  हिंसा छोड, बर्बरता छोड, अरू त अरू,  पशुपन्छीको पनि हिंसा नगर भने उनले ।  विश्वमा कृषि क्रान्तितर्फ सिद्धान्त अघि बढाए । म विस्तारमा जान चाहन्न । यो एउटा इतिहास छ । उनै बुद्धको पदचिन्ह अनुशरण गर्दै पश्चिममा एउटा मानिस जन्मिए, जसलाई हामी इसा मसिहका नामले जान्दछौँ । उनी सुली चढाइए, उनलाई मारियो । बर्बर रोमन साम्राज्यले मार्दा उनको कति उमेर थियो ? ३२ वर्ष मात्रै थियो ।

आधुनिक कालमा कार्ल मार्क्सले १८४६ सालमा प्रकाशन गरेको थेसिस अन फायरबाख,इकोनमिक एन्ड फिलोसफिकल म्यानुस्क्रिप्ट एउटा  लेखका रूपमा लेखिएको थियो । १८४६ मा त्यो लेख लेख्दा कार्ल मार्क्सको उमेर २८ वर्ष थियो । १८४८ मा कम्युनिस्ट मेनिफेस्टो प्रकाशित गर्दा मार्क्स ३० का र एङ्गेल्स २८ का थिए ।

*******

रुसी भाषाको इस्त्रा  (नेपालीमा ज्वाला,झिल्को वा फिलिङ्गो) छाप्दा पनि लेनिन युवा नै थिए । लेनिनका अनन्य मित्र मार्तोव त लेनिनभन्दा २ वर्ष कान्छा थिए । रोजा लक्जेम्बर्ग लेनिनभन्दा एक वर्ष कान्छी थिइन् । त्यो कामार्क्सवादका स्वर्णीम युग थियो भनेर कट्टरविरोधीले पनि लेखेका छन् । 

*******

लेनिनको राजनीतिक जीवनको सबैभन्दा प्रभावशाली पुस्तक ह्वेर टु बिगिन,ह्वाट्स टु बी डन?भन्ने मानिन्छ ।  जनवादी केन्द्रीयताका सिद्धान्तको प्रतिपादन गरेको त्यो लेख्दा उनको उमेर ३५ वर्ष थियो । ह्वेर टु बिगिन लेख्दा उनी  ३१, ३२ वर्षका थिए । होयर टु बिगेन भन्ने १२, १५ पेजको सानो पुस्तिकामा ह्वाट इज टु बी डन भन्ने सार थियो । रुसी भाषाको इस्त्रा  (नेपालीमा ज्वाला, झिल्को वा फिलिङ्गो) छाप्दा पनि उनी युवा नै थिए । लेनिनका अनन्य मित्र मार्तोव त लेनिनभन्दा २ वर्ष कान्छा थिए । रोजा लक्जेम्बर्ग लेनिनभन्दा एक वर्ष कान्छी थिइन् । त्यो काल मार्क्सवादका स्वर्णीम युग थियो भनेर कट्टर विरोधीले पनि लेखेका छन् ।  मार्क्सवादको क्षेत्रमा नयाँ नयाँ सिद्धान्तहरू लेख्ने ती मानिसहरुको नाम अहिले धेरै सुनिँदैन । कतिपयको स्टालिनको पालामा बर्बर हत्या गरियो । बुखारिनले ३६ वर्षसम्म साम्राज्यवादका बारेमा लेनिन र रोजासँग राय बझाएर काम गरेका छन् । ट्रटस्की लगायत सब ३५ का हाराहरीमा थिए । काँग्रेसको नामभन्दा तपाईंहरूलाई आपत्ति छैन भने बीपी कोइरालाले २००७ सालको क्रान्तिको नेतृत्व गर्दा ३२ वर्षका थिए । पुष्पलालजी उहाँभन्दा पनि कान्छो हो ।

बीपीको कुरा गर्दा उनको  हाराहारीमा त्यतिबेला सक्रिय किसनुजी ७ सालको क्रान्तिपछि बनेको सल्लाहकार सभाको सभामुखमा नियुक्त हुँदा तिनको उमेर नै पुगेको थिएन  भनेर मुद्दा चल्यो । २५ वर्ष पुग्नुपर्ने विधान थियो ।

अमेरिकी स्वतन्त्रता युद्धका एक एक नेताहरूलाई सम्झिनुहोस् । वासिङ्टन  अलिकति पाका थिए । सबैभन्दा बुढा बेन्जामिन फ्र्याङ्कलिन थिए । थोमस जेफर्सन, एडम्स आदि त्यहाँका संस्थापकहरु नेताहरू युवा थिए । पछि वासिङ्टनको मन्त्रीमण्डलमा अर्थमन्त्री भएका अलेक्जेन्डर हेमल्टन भन्ने मान्छे त्यसबेला २० वर्ष पनि पुगेका थिएनन् । उनी वासिङ्टन प्रमुख रहेका मुक्ति सेनाका जनरल थिए ।

त्यसकारण, जे गर्ने हो युवाहरूले गर्ने हो । यो कुनै कविताको कुरा होइन । तपाईंहरूलाई उचाल्न मात्रै गरेको कुरा होइन । इतिहासको यो कठोर वास्तविकतामा हामी छौँ । अहिले कुशुम पनि २५, २६ को उमेर सहिद हुनुभएको छ । त्यसैको हाराहारीमा सुन्नुभए होला ओखलढुङ्गामै अलि तल टिम्बुरबोटेमा सहिद हुँदा राम र लक्ष्मण २५ पुगेर २६ टेकेका  थिए । 

 यहाँ कमरेड राम कार्की, घनश्याम भुसालले समाजवादी आन्दोलनको इतिहासको धेरै पाना पल्टाउनुभयो । सामान्यतः समाजवादको कुरा गर्दा चर्चा नगरिने अत्यन्त महत्त्वपूर्ण नामहरूमध्ये कमरेड राम कार्कीले एक जना रोजा लम्जेम्बर्गको नाम लिनुभयो । उहाँले सही नै भन्नुभयो । मार्क्सवादी परम्परामा कार्ल मार्क्सपछिका सबैभन्दा प्रभावशाली नेतृ उहाँ हुनुन्थ्यो । उहाँ मारिनुभयो ।

जर्मनी सेनाको संरक्षणमा पालिएका गुण्डाहरू थिए,  जसलाई फ्री कर्प्स (Freikorps)    भनिन्थ्यो जर्मनीको भाषामा । त्यो पञ्चालकालमा मण्डले भएजस्तै मनपरी गर्ने, मण्डलेभन्दा महामण्डले प्रतिक्रियावादी सङ्गठन त्यहाँको सेनाले बनाएका थिए । तिनै मण्डलेहरूको हातबाट रोजा मारिनुभयो । त्यसबेला उहाँको उमेर ४८ र ४९  बीचमा थियो । उहाँले आफ्ना देहान्तअघि धेरै महत्त्वपूर्ण साहित्यिक–राजनीतिक कृतिहरू लेखेर जानुभएको छ । बल्ल आएर उहाँका प्रति विश्वको ध्यान जाँदै छ ।

उहाँको एउटा चर्चित लेखको चर्चा गर्दै राम कार्कीले भन्नुभयो– आगामी भविष्य भनेको बर्बरता हुने हो या समाजवाद  ? या त संसारमा बर्बरता हुन्छ, पाशविक राज्य हुन्छ, जङ्गली युगमा फर्किन्छौँ या होइन भने समाजवाद नै लागू हुनुपर्छ ।

*******

म अर्को खतरा देख्दैछु । समाजवाद  त यस संविधानमा रहन्छ रहन्छ,अन्य देशले पनि समाजवाद ल्याएका थिए । हामीले त महासमाजवाद ल्याउँछौँ भन्न बेर छैन,विधानमा संशोधन गरेर । समाजवादले पुगेन महासमाजवाद ल्याउनेऽ विकट समाजवाद ल्याउने । यो खतराबारे सावधान गर्न चाहन्छु ।

*******

यता आएर  त्यसपछाडि कमरेड घनश्याम भुसालले भन्नुभयो– परिस्थिति बिग्रिराखेको छ । संविधानमा समाजवाद लेखिएको छ । तर हाम्रा शासक, मन्त्री, प्रधानमन्त्री सबैले  नेताहरूले, उहाँहरूले गर्नुभएको क्रियाकलापले हामी बेगैपिच्छे समाजवादको विपरीत दिशामा जाँदैछौँ । हुँदाहुँदै उहाँले भन्नुभयो– ‘यसरी हामी नित्य समाजवादका विपरीत दिशामा गयौँ भने हाम्रो नेताले भन्नथाल्न बेर छैन– समाजवाद त काममै कामै लागेन । आलु पनि फलेन धान पनि फलेन, सबै विदेशबाट ल्याउनुपरेको छ  । मान्छे पनि  विदेश बसेकाले त्यहाँ जागिर पाउन छाडे । समाजवाद हटाइदिऊँ । यो  फापेन भन्न पनि सक्छन् ।’ कमरेड भुसालजी ! नफापे त बेसै हुने थियो, खासै फरक पर्ने थिएन । तपाईं–हामी यतै कतै घुमीवरि बाँचेकै हुनेथियौँ । म अर्को खतरा देख्दैछु । समाजवाद  त यस संविधानमा रहन्छ रहन्छ, अन्य देशले पनि समाजवाद ल्याएका थिए । हामीले त महासमाजवाद ल्याउँछौँ भन्न बेर छैन, विधानमा संशोधन गरेर । समाजवादले पुगेन महासमाजवाद ल्याउने । यो खतराबारे सावधान गर्न चाहान्छु ।

लेनिनले रुसमा क्रान्ति गर्दा सारा दुनियाँ उनका उपर जाइलागे,आक्रमण गरे । ‘रुसमा अर्धविकसित देशमा कृषिप्रधान देशमा समाजवाद हुन्छ?के खोजेको तैँले?’भनेर काउत्स्कीले,बर्नस्टिनले,प्लेखानोभले,अस्ट्रेलियाका ठूला ठूला समाजवादीहरूले भने । लेनिनले भने– ‘समाजवाद एक्लैले गर्ने हो र?

*******

लेनिनले रुसमा क्रान्ति गर्दा सारा दुनियाँ उनका उपर जाइलागे, आक्रमण गरे । ‘रुसमा अर्धविकसित देशमा कृषिप्रधान देशमा समाजवाद हुन्छ ? के खोजेको तैँले ?’ भनेर काउत्स्कीले, बर्नस्टिनले, प्लेखानोभले, अस्ट्रेलियाका ठूला ठूला समाजवादीहरूले भने । लेनिनले भने– ‘समाजवाद एक्लैले गर्ने हो र ? समाजवादको अन्तर्राष्ट्रियकरण भएको छ । ऊ जर्मनीमा क्रान्ति हुँदैछ हेर । जर्मनीको समाजवादी क्रान्ति सकिएपछाडि त्यहाँको प्रविधि त्यहाँको ज्ञान, त्यहाँको नयाँ उत्पादन प्रणालीको हामी बोझ लिन्छौँ । हाम्रो जनशक्ति त्यहाँ गएर काम गर्छन् आदि इत्यादि ।’ तर जर्मनीमा क्रान्ति भएन । जर्मनीमा त्यही क्रान्ति गर्ने क्रममा रोजा लक्जेम्बर्ग सहिद हुनुभयो ।    जर्मनीमा क्रान्ति असफल प्रयास भयो, रोजा असफल भइन् । कमरेड कारलिन पनि सहिद भए । त्यसपछि जर्मनीमा समाजवाद नाममा दुईवटा पार्टी भए । एउटा सोसियल डेमोक्रट पार्टी, अर्को कम्युनिस्ट पार्टी । एउटै पार्टी फुटेर दुईवटा भए । कम्युनिस्ट पार्टी जर्मनी, सोसियल डेमोक्रेटिक पार्टी जर्मनी । अहिले दुई तिहाइको गर्व गर्ने नेकपा, समाजवाद भन्ने कांग्रेस,  उपेन्द्र बाबुरामको भोट पनि गन्ने हो भने दुई तिहाइ होइन, ९० प्रतिशत संख्या पुग्छ समाजवादीहरुको । पहिले पनि पुगेका थिए । सीपी मैनाली, वैद्य, रोहित, मोहन विक्रमहरुको बेग्लै पार्टी छ  । त्यस्तै अवस्था जर्मनीको पनि थियो । त्यस्तै अवस्थामा जर्मनीका एक युवा हिटलर निस्किए । देशमा निराशा थियो । बेरोजगारी थियो । भ्रष्टाचार थियो । हिटलरले यिनीहरू नक्ली समाजवादी हुन्, असली समाजवादी म हुँ भने । यिनीहरूको समाजवाद राष्ट्रविरोध छ, मेरो समाजवाद राष्ट्रिय समाजवाद हो भने ।  हिटलरले पार्टीका नाम नेसनल सोसलिस्ट पार्टी राखे ।

https://annefrank.freetls.fastly.net/media/filer_public_thumbnails

आत्मघाती समाजवादी भएको हुनाले,मुख्य सत्रुलाई नचिनिकन नै एकअर्कासँग हानाथाप गरेर हिँड्ने,अर्कासँग काटाकाट गरेर हिँड्ने । त्यो स्थितिमा हिटलरको उदय भयो । यो इतिहाससिद्ध कुरा हो । त्यो  जर्मनीमा भयो,केको यहाँ आउँछ भन्नु त भएन नि  ।  त्यस्तै परिदृश्य नेपालमा देखिरहेको छु ।

*******

यसरी चिन्ता नगर्नुस्, समाजवाद छोडिँदैन । राष्ट्रवादी समाजवादी हुन्छ । यिनीहरू रुस, चाइना, भारतबाट प्रेरित छन्, यी केका  समाजवादी हुन्छन्, म पो राष्ट्रिय समाजवादी । अब केही लाग्यो ? जुन बाटोमा जर्मनी जाँदै थियो र  गयो,  समाजवादी नभएर होइन, धेरै समाजवादी भएर तर तिनीहरू निरिह, नपुंसक, पङ्गु, आत्मघाती समाजवादी भएर हो । आत्मघाती समाजवादी भएको हुनाले, मुख्य सत्रुलाई नचिनिकन नै एकअर्कासँग हानाथाप गरेर हिँड्ने, अर्कासँग काटाकाट गरेर हिँड्ने । त्यो स्थितिमा हिटलरको उदय भयो । यो इतिहाससिद्ध कुरा हो । त्यो  जर्मनीमा भयो, केको यहाँ आउँछ भन्नु त भएन नि  । 

त्यस्तै परिदृश्य नेपालमा देखिरहेको छु । नाम समाजवादको रहन्छ । संविधान मोटामोटी दुई चारवटा धारा बदलिन्छ । संविधान बदल्ने अभ्यास हामीले प्रशस्त गरिराखेका छौँ । राजा ज्ञानेन्द्रले मात्र होइन, हामीले पनि गरेका छौँ । बहुदलको शासनमा खिलराज रेग्मीलाई ल्याउन  २० हो कि २२ धारा बदलियो । यस्तै २०, २२ धारा बदलेर के भनिन्छ भने ‘समाजवाद कहाँबाट आयो ?  गल्ती भएछ, यो  विदेशी समाजवाद रहेछ । अब राष्ट्रिय समाजवाद ल्याइन्छ ।’ अब केही लाग्यो ? राष्ट्रवादी पनि, समाजवादी पनि सन्तुष्ट । त्यो खतरा मैले देखिरहेको छु । समाजवाद हट्ने खतरा देखेको छैन मैले ।  समाजवादको नयाँ भाष्य निकाल्ने छन् ।

अघि राम कार्कीले भन्नुभयो, लेनिन त साधारण जीवन बिताउँथे । एमदम सत्य हो । हामीसँग लेनिनका खानपिनको पनि रेकर्ड छ । आम जनताले जो रासन पाउँथ्यो, युद्धको दौरान रुसमा बाध्यता थियो, घोडाको मासु खानुपर्थ्यो । उनको जीवनीकारले लेखेका छन्–  आम नागरिकले भन्दा बढ्ता रासन उनले लिँदै लिएनन् । उनको कोठाको वर्णन, उनले खाएको वर्णन, उनको लुगाफाटोको वर्णन छ । लेनिनले सादा खान्थे भन्दा चाउचेस्कु को थियो ? तेरो बाउ थियो भन्दा के गर्ने ?  नराम्रो नराम्रो कुरा छानेर चाउचेस्कीको जस्तो विलासिता, अर्को नर्थ कोरियाको जस्तो शासन, पोलपोटको जस्तो जातीय उन्माद गरेपछाडि के भन्ने ?

यही हो असली समाजवाद, यो चाहिँ राष्ट्रिय समाजवाद हो बुझिस् भनेपछि के लाग्यो ? त्यसैले, जर्मनीको शिक्षाबाट आजका नेपालले ठूलो शिक्षा लिनुपर्छ । जर्मनीको मात्रै होइन, सोभियत युनियनको पतन/विघटन पछाडि खण्डीकरण भएको इतिहासबाट पनि शिक्षा लिनुपर्छ । तपाईंहरूको धाराको र हामीले प्रतिनिधित्व गरेको धाराको समाजवादको सार्थक सन्देश बताउन मलाई उत्साह आएको छ । सोभियत सङ्घले अत्यन्त राम्रो काम गरेको थियो । सारा संसारमा बेरोजगारीको आतङ्क हुँदा पनि सोभियत युनियनमा बेरोजगार थिएन । आम मान्छेको शिक्षा, र  स्वास्थ्य, जसलाई लाई कल्याणकारी व्यवस्था भनिन्छ, दालभात तरकारीको व्यवस्था सोभियत सङ्घले गरेको थियो । अझ पछि माओत्से तुङको पालामा त चीनमा झन्डैझन्डै एक अर्ब पुग्न आटेको जनसङ्ख्या पनि थाम्यो, भोकै मरेको रेकर्ड छैन ।

*******

एक अर्ब मानिसलाई साक्षर बनाउने,स्वास्थ दिने,शिक्षा दिने,रोजगार दिने चाहिँ तानाशाही अनि मनपरी बोल्न दिने,लेख्न दिने,खान नदिने,रोजगार नदिने,व्यवस्था चाहिँ प्रजातन्त्र?

*******

एक अर्ब मानिसलाई साक्षर बनाउने, स्वास्थ दिने, शिक्षा दिने, रोजगार दिने चाहिँ तानाशाही अनि मनपरी बोल्न दिने, लेख्न दिने, खान नदिने, रोजगार नदिने, व्यवस्था चाहिँ प्रजातन्त्र ? म राजनीतिक जीवनको प्रारम्भदेखि के भन्दै छु भने आफूलाई कम्युनिस्ट आधारित भन्नेहरु पनि एक किसिमका जनवादी नै हुन् ।   प्रजातन्त्रवादी नै हुन् । उनीहरूले मनुष्यका आधारभूत आवश्यकता पूरा गरेका छन् । तर त्यहाँ लेख्ने, बोल्ने र पार्टी खोल्ने, सङ्गठन बनाउने स्वतन्त्रता छैन । त्यो पुरानो समाजवादको कमजोरी हो । जुन फ्रान्सेली राजनीतिक क्रान्तिले राइट्स अफ म्यान भनेर घोषणा गरिदियो । नागरिक अधिकारका लागि अब जेसुकै भए पनि  लेख्ने, बोल्ने र  सङ्गठन बनाउने स्वतन्त्रता अनि  समय समयमा जनताको राय बुझ्न जाँदा जनताका पछाडि जाने स्वतन्त्रता र  भएर समाजवादको समन्वय भएको  छ । रुसमा क्रान्ति भएको १ सय वर्ष भइसक्यो । समाजवादका थुप्रै परिभाषा हुन सक्छन् । धेरै लेखकहरूको नाम लिन सकिन्छ ।

लेनिनका विरुद्धमा सारा दुनियामा मानिस खनिएका थिए । मार्क्सका समकक्षीहरू, लेनिनका गुरु भन्न मिल्नेहरू सबैले ‘लेनिन यस्तो हो उस्तो हो, अपराधी हो, लुटेरा हो, बर्बर  हो’ आदि भनेर आलोचना गर्दा रोजा लक्जेम्बर्गले भनिन्– ‘तर क्रान्ति त गर्यो नि !’

*******

एउटा परिभाषामा प्रत्येक व्यक्तिले सहमत हुनुपर्नेछ । त्यो परिभाषा हो– समाजवाद भनेको ठोस परिस्थितिको ठोस विश्लेषण हो । समाजवादको अर्को नाम हो– ऐतिहासिक भौतिकवाद । समाजवादको नाममा विश्वमा १ सय वर्षमा केके भयो ? त्यसको अध्ययन त्यसबाट आउने निष्कर्ष के हो भने समाजवादका नाममा प्रयोग हुने कुनै पनि व्यवस्थाले नागरिक अधिकारमाथि हमला गर्न पाउँदैन, हुँदैन । गर्यो भने त्यो गलत दिशामा जान्छ । यही विन्दुमा अमर सहिद रोजा लक्जेम्बर्गले पनि लेनिनका विरुद्धमा लेखेकी छिन् । लेनिनका विरुद्धमा सारा दुनियामा मानिस खनिएका थिए । मार्क्सका समकक्षीहरू, लेनिनका गुरु भन्न मिल्नेहरूले पनि आलोचना गरेका छन् । प्लेखानोभलाई लेनिनले गुरुको स्थानमा राख्नुहुन्थ्यो कार्ल ट्रटस्कीलाई लेनिनले गुरुको स्थानमा राख्नुहुन्थ्यो । लेनिनका कतिपय कृति ट्रटस्कीका उद्धरणबाट सुरु भएका छन् । ती सबैले ‘लेनिन यस्तो हो उस्तो हो, अपराधी हो, लुटेरा हो, बर्बर  हो’ आदि भनेर आलोचना गर्दा रोजा लक्जेम्बर्गले भनिन्– ‘तर क्रान्ति त गर्यो नि !’

*******

लेनिन गरेका ती कामसँग तत्कालीन वातावरण र स्प्रिट अनुसार त्यतिबेलाको मान्यता थियो कि नेताहरूको आलोचना प्रतिआलोचना गर्न पाइन्छ । नेताले कुनै धारणा लिए पछाडि त्यस धारणाका विपरीत धारणा,समाधानको धारणा राख्न पाइन्छ । रोजा र लेनिनले गरेको प्राक्टिस हो  ।

*******

लेनिन गरेका ती कामसँग तत्कालीन वातावरण र स्प्रिट अनुसार त्यतिबेलाको मान्यता थियो कि नेताहरूको आलोचना प्रतिआलोचना गर्न पाइन्छ । नेताले कुनै धारणा लिए पछाडि त्यस धारणाका विपरीत धारणा, समाधानको धारणा राख्न पाइन्छ । रोजा र लेनिनले गरेको प्राक्टिस हो  । संविधानसभाको विघटन, नागरिक अधिकारको अपहरण, राष्ट्रियताको प्रश्न आदिमा पनि रोजाको बेग्लै धारणा थियो । दुईवटा आधारभूत कुरा, जसलाई हामी नगारिक अधिकार भन्छौँ– यथार्थमा त्यसको प्रत्याभूति, त्यसको ग्यारेन्टी प्रत्येक समाजवादी समाजमा हुनुपर्छ ।

यी भन्ने बित्तिकै समाजवादको निर्माणका समस्या हल हुँदैनन्, मलाई थाहा छ । समाजवाद निर्माणको समस्या योभन्दा जटिल छ । नेपालमा समाजवादको निर्माण विषयमा उठेका सबै प्रश्नहरूको उत्तर घनश्यामजीले दिन सक्नुहुन्न, राम कार्कीले दिन सक्नुहुन्न । त्यतिबेला के हुन्छ  ?  त्यसको उत्तर त तत्कालीन परिस्थितिले  दिन सक्छ ।

*******

अब भिडियो कन्फरेन्स गर्न भनेर मार्क्सले लेख्नुभएको छैन भन्ने खालका तर्क गर्न थाल्नुभयो भने हुँदैन ! धेरै यस्ता कुरा थिए,जो  मार्क्सलाई थाहा थिएन । मार्क्सको कुरा छाडौँ;लेनिन,बीपी कोइराला,पुष्पलाललाई पनि थाहा थिएन  । अरू त अरू स्वर्गीय मदन भण्डारीलाई थाहा थिएन ।

*******

यसरी सञ्चार क्रान्ति होला, सिङ्गापुरमा बसीबसी प्रधानमन्त्री कमरेड ओलीले भिडियो कन्फरेन्स गर्नुहोला भन्ने थाहा थियो त मार्क्सलाई ? थाहा थिएन नि त । अब भिडियो कन्फरेन्स गर्न भनेर मार्क्सले लेख्नुभएको छैन भन्ने खालका तर्क गर्न थाल्नुभयो भने हुँदैन ! धेरै यस्ता कुरा थिए, जो  मार्क्सलाई थाहा थिएन । मार्क्सको कुरा छाडौँ; लेनिन, बीपी कोइराला, पुष्पलाललाई पनि थाहा थिएन  । अरू त अरू स्वर्गीय मदन भण्डारीलाई थाहा थिएन । यसको उत्तर त आफूले सोध्नुपर्यो, आफूले बताउनुपर्यो । सोच्नु पर्यो र बताउनु पर्यो भन्ने त्यही कुरालाई नेपालका ती सबैभन्दा अग्ला सपुत गौतम बुद्धले मर्ने बेलामा जवाफ दिएका थिए  ।

‘गुरु तपाईं मर्न आँट्नु भयो । हामी कसलाई हेर्ने ?’ भन्दा बुद्धको अन्तिम जवाफ थियो – अप्प दीप भवः  अर्थात् आफैंले आफैभित्र जानकारी खोज्नू ।  गौतम बुद्धले अर्को कुरा भन्नुभएको थियो– सबै समस्याका कारण हुन्छन् । समस्या छन्, सबै दुःखका कारण छन् । दुःख छ, अर्थात् यसरी भनौँ  भोकमरी, गरिबी, अशिक्षा बेरोजगारी छन् र तिनका कारण छन् । घनश्यामजीले भन्नुभो, दलाल पुँजीवादी छ । हाम्रो राम कार्कीले भन्नुभयो यसका केही कारण केही नेताहरूको क्रियाकलाप  र व्यवहार छन्, प्रश्नै गर्न दिँदैनन् । अब अरू नेताले भन्लान्, गरिबीका कारण म प्रधानमन्त्री नबनेर हो । मैले प्रधानमन्त्री बन्न पाएँ देखाइदिइन्थेँ । यस्तो भन्ने कति होलान् ! मेरो विचारमा नेतृत्व मण्डलमा १० जना जति छन् । हरेक पार्टीका २, ४ जना प्रधानमन्त्री बन्ने इच्छुक छन् ।

होइन, त्यस्ता आत्मगत कारण छैनन्, वस्तुगत कारण छन् ।  हाम्रो उत्पादनको प्रणाली, उत्पादनको सम्बन्ध नै सबैथोक होइन ।  यस मुलुकको विद्यमान सांस्कृतिक बौद्धिक र भावनात्मक अवस्था, जसलाई मार्क्सवादको भाषामा वस्तुगत र आत्मगत शक्ति भनिन्छ ।

समाजवादको इतिहासमा पहिले एउटा तर्कपूर्ण बौद्धिक र सिद्धान्तगत आन्दोलनका रूपमा यो थालियो र मानिसहरूले लेख लेख्न थाले । पुँजीवादले अचाक्ली गर्यो, यसले खालि म म मात्रै भन्न सिकायो, हामी  भनेन । व्यक्ति धनी भए, व्यक्ति अगाडि बढे । समाज त झन झन बिग्रिँदै गयो भनेर १८ शताब्दीको मध्यतिर अलि पहिलेदेखि नै बेलायत, जर्मनीमा भएको कारखाना शोषणका बारेमा संवेदनशील बुद्धिजीवी मान्छेहरूले लेखे । बुद्धको पनि हामी कथा पढ्छौँ– उनले गरिबी, बिरामी, मृत्यु देखेर चिन्तित भए भन्छौँ । त्यहीँ सिलसिलामा उनले भने दुःखको कारण छ र कारणको निवारण छ भने, जसलाई चार आर्यसत्य भनिन्छ ।

*******

मार्क्सको विचारधारामा अरू कुनै चिन्तनभन्दा पनि बढी हेगेलको दर्शन र सेन्ट साइमनको राजनीतिक विश्लेषण र वर्गीय दृष्टिकोणको महत्त्वपूर्ण छाप देखिन्छ । मार्क्सको प्रादुर्भाव भएपछि सामाजवादी चिन्तनको इतिहासमा सूर्यको उदयभएपछि सारा ग्रह,तारा,चन्द्रमाहरू नदेखिएजस्तै भयो ।

*******

त्यसरी नै समाजवादी विचारहरू देखिन थाले । अहिले हामीले उनीहरूको त्यति धेरै सम्झाना गर्दैनौँ । समाजवादी आन्दोलनको इतिहास पढ्दा हामी सबैलाई थाहा छ : चार्ल्स फुरियर, रोबर्ट ओबेन, प्रुदो, ब्लान्की, सेन्ट ससाइमन आदि थिए । कार्ल मार्क्स युवा अवस्था हुँदा उनको घरकै छेउमा एउटा विद्वान मानिसको घर थियो । तिनका पुस्तकालयमा पाइएका किताबहरू, खासगरी सेन्ट साइमनले लेखेका समाज व्यवस्था र अरू अरू धेरै कुरा उनले पढे । मार्क्सको विचारधारामा अरू कुनै चिन्तनभन्दा पनि बढी हेगेलको दर्शन र सेन्ट साइमनको राजनीतिक विश्लेषण र वर्गीय दृष्टिकोणको महत्त्वपूर्ण छाप देखिन्छ । मार्क्सको प्रादुर्भाव भएपछि सामाजवादी चिन्तनको इतिहासमा सूर्यको उदयभएपछि सारा ग्रह, तारा, चन्द्रमाहरू नदेखिएजस्तै भयो । मार्क्सपछि ती उनीभन्दा अघिका समाजवादी विचारधारा भएकालाई बिर्सियौँ, तिनको चर्चा भएन ।

भनियो कि मार्क्सले उनीहरूलाई काल्पनिक समाजवादी भने । कम्युनिस्ट मेनिफेस्टो भन्ने किताब छ । समाजवादमा रुचि राख्ने र अलिकति पनि पढ्ने चासो राख्ने युवा विद्यार्थीले त्यो कम्युनिस्ट मेनिफेस्टो पढ्नै पर्छ । अघि राम कार्कीले नाम लिनु भएको सीके प्रसाईंले त्यसको बारेमा लामो भूमिका लेख्नुभएको छ ।

कम्युनिस्ट मेनिफेस्टोमा अहिले युरोपमा विद्यमान विभिन्नथरीका समाजवाद भनेर सबैको चर्चा गरिएको छ । त्यही सिलसिलामा मार्क्स–एंगेल्सले काल्पनिक समाजवादको कुरा गर्नुभएको छ ।  एक प्रकारले त्यो धेरै सकारात्मक प्रस्तुति छैन । उनीहरू भन्दा हामी अगाडि छौँ भन्ने उहाँहरूको भावना देखिन्छ । तर लगत्तैपछाडि मार्क्सकै जीवनकालमा फ्रेडरिक एङ्गेल्सले मोटो किताब लेखे, जुन ‘एन्टी ड्युरिङगन’को नामले प्रसिद्ध छ । त्यसको एउटा अंश समाजवाद : काल्पनिक र वैज्ञानिक (सोसोलिजम  : युटोपियन एन्ड साइन्टिफिक) भन्ने छ ।हाम्रो पुस्तामा पढ्दै थियौँ, अचेल त पढ्नै पाइँदैन होला । अचेल पुँजीवादीले छाप्दैनन्, हामीले पढ्न पनि छाडिदियौँ ।

त्यसमा एङ्गेल्सले काल्पनिक समाजवादीहरूको मुरी मुरी प्रशंसा  गर्नुभएको  छ । भन्नुको अर्थ तिनकै काँधमा चढेर, तिनले देखाएको बाटोमा हिँडेर मार्क्स एङ्गेल्स धेरै अगाडि बढे । एङ्गेल्सले त ओवेनसँग क्लास नै लिएका कुराहरूको  हामीसँग प्रमाण छ । मार्क्स पुग्नुभयो वा भएन थाहा छैन ।

*******

रुसी क्रान्तिपछि दुनियाँमा भएका घट्नाक्रमहरु,सोभियत युनियनको विगठन,भूमण्डलीकरणका नाम आएको त्रास र सन्त्रासको अध्ययन गरेका छौँ?

*******

कम्युनिस्ट मेनिफेस्टो छापिएको पनि झन्डैझन्डै २ सय वर्ष हुन आट्यो । ढेड सय वर्ष हामीले मनायौँ । रुसी क्रान्ति भएको पनि  झन्डै झन्डै १ सय वर्ष भयो । इतिहास त्यहाँ रोकिएको छैन । अघि कमरेड राम कार्कीले बारम्बर भन्नुभयो, ‘हामी इतिहासको बन्दी नबनौँ ।’ के हामीले रुसी क्रान्तिपछि दुनियाँमा भएका घट्नाक्रमहरु, सोभियत युनियनको विगठन,भूमण्डलीकरणका नाम आएको त्रास र सन्त्रासको अध्ययन गरेका छौँ ?

अनि अर्को मार्मिक कुरा घनश्यामजीले भन्नुभयो– ‘अमेरिकामा  एक प्रतिशत अमिरिकन पुँजीपतिको हातमा त्यस देशको ९९ प्रतिशत सम्पत्ति केन्द्रित भइसकेको छ ।’ लगभग होला त्यस्तै छ । तर प्रत्येक वर्ष त्यो केन्द्रीकरण झनझन तीव्र भएको छ ।  यो हाम्रो डाटा होइन । मैले कुनै अन्तर्राष्ट्रिय मान्यता प्राप्त पुँजीवादी डाटा हेरेको छु, त्यो विश्व बैङ्कको डाटा हेरेको छु । त्यो मात्रै होइन । देश र देशका बीचमा, राष्ट्रिय राज्य र राष्ट्र राज्यका बीचमा पनि गरिबीको, विपन्नताको, ठूलो र सानोको खाडल झन झन बढेर गएको  छ ।

 देश र देशका बीचमा एकातिर गरिबी, भोकमरी थुप्रिरहेको छ । अर्कोतिर सम्पन्नताको  विलासिता भोक, असन्तोष, तनाव रआत्महत्या पनि बढिरहेको छ । जीवनबाट माया, प्रेम, सद्भाव समाप्त भएको छ । दुवै पक्षका मानिसहरू व्याकुल छन् । एउटा भोकमरी कसरी अन्त्य होला भनेर अर्को मानसिक शान्ति कसरी पाइएला भनेर ।

आज समाजवादको कार्यक्रम मनाउँदा इतिहासको बोझ  नबोक्ने भन्ने राम कार्कीको भनाइलाई हामीले राम्ररी बुझ्नुपर्छ । स्वयम राजनीतिज्ञहरूले बुझ्नुपर्छ । विगत १ सय वर्षको समाजवादी प्रयोगको शिक्षा के हो ? रुसको शिक्षा के हो ? चीनको शिक्षा के हो ? बेलायतमा पनि समाजवाद विश्वास गर्ने पार्टी रहेको छ । जर्मनीमा पनि थियो । भारतमा पनि इन्दिरा गान्धीले समाजवाद भनेर धेरै हल्ला गरिन् । त्यो निष्कर्षका आधारमा भन्दा, मार्क्सले भनेजस्तै ‘ठोस परिस्थितिको ठोस विश्लेषण’ गर्नुपर्छ । जुनसुकै पार्टीमा रहेको भए पनि, जुनसुकै आन्दोलनबाट आएको भए पनि कतिपय निश्चित सवालमा सबैभन्दा अग्रपंक्तिमा– महिलाको अधिकार र स्वतन्त्रता, दलितको अधिकार, दलितको सशक्तीकरण, पर्यावरणको रक्षाको सवाल आदि सवालहरु छन् । यी अहिलेका २१ औँ शताब्दीमा समाजवादी एजेन्डाहरू हुन् ।  त्यस्तै राष्ट्रिय अर्थतन्त्र र आत्मनिर्भरताको सवालमा हरेक पार्टीबाट हामीले आवाज उठाउनुपर्छ र आवाज उठाउन प्रेरित गर्नुपर्छ ।

*******

अब अहिले पार्टीबाट उठ,सङ्गठनबाट उठ,समूहबाट उठ,ग्याङबाट उठ,गिरोहबाट उठ भन्नुपर्छ ।  केका लागि उठ भन्दा   नेपाललाई चाहिने कार्यक्रमका लागि उठ ।

*******

एक जमानाका कम्युनिस्ट क्रान्तिकारीहरूको नारा थियो– गाउँघरबाट उठ, खेतबाट उठ, स्कुलबाट उठ, कलेजबाट उठ सबैतिरबाट उठ । अब अहिले पार्टीबाट उठ, सङ्गठनबाट उठ, समूहबाट उठ, ग्याङबाट उठ, गिरोहबाट उठ भन्नुपर्छ ।  केका लागि उठ भन्दा   नेपाललाई चाहिने कार्यक्रमका लागि उठ । त्यसका लागि आदरणीय कमरेडहरूले हामी जस्ता मान्छेलाई लिएर यस्ता गोष्ठी गरिराख्नुपर्छ जस्तो लाग्छ मलाई । गोष्ठीबाट नै कुरा अगाडि बढ्छ ।

*******

जुन दिन यस किसिमका गोष्ठीलाई प्रतिबन्ध लगाउने प्रयास सरकारले गर्ला,त्यही दिन यहाँ आन्दोलनको सुरुवात हुन्छ,क्रान्तिको सुरुवात हुन्छ । यस्तो गोष्ठी गर्नुहोस्,यस्तो तेज बोल्नुहोस्,सरकार त्यसमाथि प्रतिबन्ध लगाउन लाचार होस् ।

*******

जुन दिन यस किसिमका गोष्ठीलाई प्रतिबन्ध लगाउने प्रयास सरकारले गर्ला, त्यही दिन यहाँ आन्दोलनको सुरुवात हुन्छ, क्रान्तिको सुरुवात हुन्छ । यस्तो गोष्ठी गर्नुहोस्, यस्तो तेज बोल्नुहोस्, सरकार त्यसमाथि प्रतिबन्ध लगाउन लाचार होस् । रुसी क्रान्ति सुरु हुँदा बोल्सेभिक पार्टीको क्याम्पमा भन्ने तत्कालीन केरेन्स्कीको  आदेशमा पुलिसले  ताला लगायो । ट्रटस्कीले ताला तोड भने । सरकार जोसुकैको होस्, शेरबहादुरको होस, बाघबहादुरको होस्, ओलीको होस्, प्रचण्डको होस्, मतलब छैन ।  त्यो चाहिँ यस्तै गोष्ठीबाट हुन्छ ।

एजेन्डामा हामीले सबैभन्दा पहिला महिलालाई राख्नुपर्छ । महिलाभन्दा बढी दलितलाई दिनुपर्छ । जनजातिको, मधेसी अधिकार छ । महिला नै एक प्रकारका दलित हुन् । त्यसपछि नागरिक अधिकार रक्षा गदै, सामाजिक हितमा, म होइन कि हामीको हितमा स्वास्थ्य नीति शिक्षा नीति, गाँस, बास, कपासको समस्या हल गर्छौं भन्नुपर्छ ।

*******

रुसको विघटन भएपछि सोसल डेमोक्रेसी र कम्युनिस्ट पार्टीको झगडा सिद्धियो । अब मिलेर काम गर्नुपर्छ ।

*******

रुसको विघटन भएपछि सोसल डेमोक्रेसी र कम्युनिस्ट पार्टीको झगडा सिद्धियो । अब मिलेर काम गर्नुपर्छ । तपाईंले पनि जहाँसम्म हुन्छ, कमभन्दा कम काँग्रेसलाई आक्षेप गर्नुहोस् विचारमा बाहेक । म पनि कमभन्दा कम तपाईंहरूको पार्टी गर्छु । आक्षेप चाहिँ गर्दै जाऊँ अनि हामीलाई मिल्न सजिलो हुन्छ । दुवै पक्षका मान्छे हुन्छन् । दुवै पक्षको कुरा सुन्छन् । कोही केही त फेरिएलान् नि ।  

नेपालले अर्को एउटा संयुक्त जनआन्दोलनको प्रतीक्षा गर्दैछ । यो सम्झिराख्नुहोस् र यो खेर जाँदैन । यस पल्टको आन्दोलन । यस पल्टको आन्दोलन चरितार्थ हुन्छ ।  साँच्चै नै तपार्इंले सोचेको समाजवाद आउँछ । यो समाजवाद नेपालका लागि मात्रै सीमित हुँदैन, यस समाजवादले दुनियाँलाई बाटो देखाउँछ । जुन काम रुस, चीन, उत्तर कोरियाले गर्न सकेन, हामी गर्छौं । त्यही आशा र अभिलाशा राखेर कुशुम सहिद हुनुभएको हो, राम लक्ष्मण सहिद हुनुभएको हो ।

अब तपाईंहरूलाई शङ्का लाग्ला, कसरी सकिन्छ ? सकिने पहिलो सूत्र के हो भने ‘म’को सट्टा हामी भएर सोच्नुपर्यो ।

मको पनि एउटा अदभुत तागत छ । सानो कथा सुनाएर म त्यो तागतको व्याख्या गरिदिन्छु  । कथा सुनाउनु राम्रो हुन्छ । महाभारतको लडाइँ भयो । तपाईंलाई थाहा छ महाभारतको लडाइँमा दुर्योधन र युधिष्ठिर एकातिर कौरव र अर्कातिर पाण्डवहरू लडे । अब त्यतिबेला तपाईंहरूलाई पूरा प्रसङ्ग थाहा छ कि छैन । धेरै बामपन्थीहरूले महाभारत पढ्छन् जस्तो मलाई लाग्दैन ।

महाभारतको युद्धमा दु्रपदको सहयाताले, थोरै सेना भए पनि जित्नेबेलामा युधिष्ठिरले जिते । अन्तिम दिनमा दुर्योधनलाई अचाक्ली भएछ  । मरिसकेका थिएनन् । राजा छँदै थियो । राज्य ऊसँगै थियो । ज्योतिषलाई बोलाएर ‘ए साइत तैँले हेरेको होइनस् ? तँैले भनेको क्षणमा शङ्ख फुकेको होइन ? भीष्मलाई बनाएको सेनापति बनाएको तर कसरी हारें ? भन् होइन भने भने तँलाई जानेको छ  ।

ज्योतिषले चारैतिर हेर्यो । तरबार र खुँडा छ आजको दिन भन्ने हो भने संगीन, राइफल, पेस्तोल छ । अनि  एउटा जान्ने ज्योतिषले भनेछ– ‘होइन, हजुरको ग्रह नक्षेत्र हेरेकै हो । हजुरको ग्रह नक्षेत्र त युधिष्ठिर, भीमको भन्दा कति राम्रो कति राम्रो हो । हजुरले नै जित्न पर्ने !’

‘किन हारें त ?’ भनेर दुर्योधनको प्रश्नमा ज्योतिषीले भनेछ– ‘अरू सबैको गणना गरियो । हजुर, युधिष्ठिर, कर्ण, दुशासन, भीम, अर्जुनको पनि गरियो तर  कृष्णको गणना गर्न बिर्सिएछ । त्यसलाई त हामीले बाहिरिया मान्छे, त्योसँग लड्ने कल्पना गरेकै थिएनौँ ।’

के भन्न खोजेको भनेर दुर्योधनको प्रश्नमा गम्भीर भएर त्यो गुरुले भने छ– ‘प्रश्न कृष्णको होइन । ग्रह नक्षेत्रको मात्रै पनि होइन । यस लडाइमा एउटै व्यक्तिले पनि आफ्नो स्वार्थ छोडेर मलाई यो राज्य चाहिन्न भनेन । केही पनि नचाहिने स्वार्थहीन मान्छेले आँट गर्दा ग्रह नक्षेत्रको दिशा बदलिन्छ । '

*******

हामीकहाँ पनि मलाई पार्टीको सभापति चाहिन्न,मलाई पैसा कमाउने मन्त्रालय चाहिन्न भनेर ग्रह नक्षेत्रलाई चुनौती दिने हो भने,एउटा स्वार्थ त्याग्ने व्यक्तिले ग्रह नक्षेत्रको दिशा बदलिदिन सकिन्छ ।

*******

वास्तवमा, हामीकहाँ पनि मलाई पार्टीको सभापति चाहिन्न, मलाई पैसा कमाउने मन्त्रालय चाहिन्न भनेर ग्रह नक्षेत्रलाई चुनौती दिने हो भने, एउटा स्वार्थ त्याग्ने व्यक्तिले ग्रह नक्षेत्रको दिशा बदलिदिन सकिन्छ । कृष्ण भन्ने व्यक्ति उनी को थिए, कसका छोरा थिए भन्ने महत्त्वपूर्ण होइन । उनी त्यस युद्धमा यस्ता व्यक्तिका रूपमा भाग लिँदै थिए, जसलाई केही पनि चाहिँदैनथ्यो । यति उनको महत्त्व हो ।

त्यसैले तपाईं युवापिढीलाई के भन्न चाहान्छु भने अघि सीके प्रसाईंको उदाहरण दिए जस्तै तपाईंहरूलाई नाङ्गो भोको बन्नुहोला आशीष त  दिन्न म । नाङ्गो भोको जीवन धेरै बिताइसक्नु भएको छ । एउटा आशिष के दिन्छु भने स्वार्थ त्याग गरेर, आफ्नो खुट्टामा एक्लै बसेर तपाईंले इतिहासलाई चुनौती दिनुभयो भने इतिहासको धारा बदलिन्छ ।

कमेन्ट

कमेन्ट गर्नेहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

Loading comments...