शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

पुल निर्माणको माग गर्दै १२ दिनदेखि अनशन

बिहीबार, ०२ असोज २०७६, २१ : ४६
बिहीबार, ०२ असोज २०७६

बैतडी - भारतसँग सीमा जोडिएको बैतडीको झुलाघाट नाकामा पक्की पुलको माग गर्दै सुरु भएको रिले अनशन १२ दिनसम्म पनि जारी रहेको छ । पुल निर्माणका लागि सरकारी पक्षबाट कुनै पहल नभएकाले अनशन जारी राख्न बाध्य भएका पुल निर्माण संघर्ष समितिका संयोजक नरबहादुर चन्दले जानकारी दिए । 

झुलाघाट नाकामा पक्की पुल निर्माणका लागि सबै दलका शीर्ष नेताले आश्वासन दिएको भए पनि कसैले पूरा नगरेकाले आफूहरु आन्दोलनमा उत्रिन बाध्य भएको उनले बताए । सीमानाकामा पक्की पुल नभएकै कारण सुदूरपश्चिमका पहाडी जिल्लाको आर्थिक समृद्धिमा बाधा पुगेको बैतडी उद्योग वाणिज्य संघका उपाध्यक्ष खिमानन्द भट्टले जानकारी दिए ।

पुल निर्माणका लागि ठोस पहल नभएसम्म अनशन जारी रहने संघर्ष समितिले जनाएको छ । अनशनमा बैतडीवासीले स्वस्फूर्त रुपमा सहभागिता एवं सहयोग गर्दै आएका छन् । दुई दशकदेखि पुल निर्माणका लागि विभिन्न माध्यमबाट दबाब दिए पनि कुनै सुनुवाइ नभएपछि झुलाघाट पक्की पुल निर्माण संघर्ष समितिको अगुवाइमा रिले अनशन बस्न बाध्य हुनुपरेको समितिले जनाएको छ ।

२०५९ सालमा १० हजार बैतडीवासीको हस्ताक्षर संकलन गरेर तत्कालीन सरकार र भारतीय राजदूतावासलाई ज्ञापनपत्र बुझाएको भए पनि अहिलेसम्म कुनै सुनुवाइ नभएको बताइएको छ । यसका साथै मोटरेबल पुल निर्माणको लागि २०७५ फागुनमा प्रधानमन्त्रीलाई ज्ञापनपत्रसमेत बुझाइएको थियो ।

अनशन जिल्ला प्रशासन कार्यालय अगाडि भदौ २२ गतेदेखि सुरु भएको हो । झुलाघाटमा मोटरेबल पुल नहुँदा हाल दशकौं पहिले बनेको जीर्ण झोलुंगे पुलबाट वारपार गर्नुपरेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप