शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

काठमाडौंलाई केन्द्रबिन्दु बनाएर यसरी हुन्छ लागुऔषध कारोबार

बिहीबार, ०२ असोज २०७६, २० : ०१
बिहीबार, ०२ असोज २०७६

काठमाडौँ– भदौ २७ गते नियन्त्रित मनोद्धिपक पर्दाथसहित ४ जना काठमाडौंको गोकर्णेश्वर नगरपालिका–५ जम्बु डाँडाबाट पक्राउ परे । पक्राउ परेका चारै जनालाई बिहीबार लागू औषध नियन्त्रण, ब्यूरो (एनसीबी) ले पत्रकार सम्मेलनमार्फत सार्वजनिक गर्यो । 

पक्राउ पर्नेहरुमा सिरहा गोलबजार नगरपालिका–४ बस्ने ४२ वर्षीय उतिमलाल साह, उदयपुर त्रियुगा नगरपालिका–१३ का ३४ वर्षीय सुजेन्द्र लोहनी, काभ्रे रोशी गाउँपालिका–७ का २८ वर्षीय पेमा लामा र सिरहा गोलबजार–३ का २३ वर्षीय अशोक तामाङ रहेका छन् । 

पक्राउ परेका ४ जनाको साथबाट ब्यूरोबाट खटिएको टोलीले नियन्त्रति मनोद्धिपक पदार्थ डाईजेपाम ४१० एम्पुल, फेनारगन ३७५ र नुर्फिन ४१५ एम्पुल गरी १ हजार २ सय एम्पुल बरामद गरेको छ । 

जबकी यी चारै जना विभिन्न अभियोगमा पक्राउ परेर दोषी ठहर भएपछि कारागारमा कैद भुक्तान गरेर निस्केको प्रहरीको अनुसन्धानबाट खुल्न आएको ब्यूरोका एसएसपी वसन्तकुमार लामाले पत्रकार सम्मेलनमा जानकारी दिए । 

उतिमलाल साह कर्तव्य ज्यान मुद्दामा २ वर्ष ९ महिना सिरहा कारागारबाट, सुजेन्द्र लोहनी लागूऔषध मुद्दामा २ वर्ष सिरहा कारागारबाट, पेमा लामा डाँका चोरी मुद्दामा ३ वर्ष ४ महिना काभ्रे तथा सिरहा कारागारबाट र अशोक तामाङ जबरजस्ती करणी मुद्दामा २ वर्ष ६ महिना सिराहा कारागारबाट कैद भुक्तान गरिसकेका व्यक्ति हुन् । 

प्रहरीका अनुसार उतिमलाल, सुजेन्द्र, अशोक र पेमा एउटै समूहका हुन् । पेमा बाहेक तीनजना एकै समयमा सँगै सिराहा कारागारमा बसेको प्रहरीको अनुसन्धानबाट खुल्न आएको छ । लागूऔषध कारोबार गर्ने योजना उनीहरुले कारागारमै बनाएको हुनसक्ने एसएसपी लामा बताउँछन् । 

यता पेमा लागूऔषध मुद्धामा सिराहा कारागारबाट कैद भुक्तान गरेर निस्केलगत्तै काभ्रेमा चोरी तथा डाँका गरेको अभियोगमा प्रहरीले पक्राउ गर्यो । अदालतले डाँका चोरी मुद्दामा दोषी ठहर गरेपछि पेमा १ वर्ष काभ्रे कारागारमा बसेका हुन् । 

प्रहरीका अनुसार पेमा सबैभन्दा पछाडि कारागार कैद भुक्तान गरेर निस्केका हुन्  । कारागारबाट निस्केपछि उनीहरु चारैजना लागूऔषध कारोबारमा सक्रिय भएको एसएसपी लामाले बताए । 

भारतबाट लागूऔषध ल्याएर उनीहरुले उपत्यकाको विभिन्न ठाउँमा पुगेर बेच्ने गरेको खुल्न आएको छ । चारै जनामाथि लागू औषध नियन्त्रण ऐन, २०३३ बमोजिम मुद्दा दर्ता गरी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । 

थप तीन भारतीय नागरिक पक्राउ
पत्रकार सम्मेलनमा एसएसपी लामाले थप तीन जना असोज १ गते काठमाडौं महानगरपालिका–३१ स्थित शान्तिनगरबाट लागूऔषधसहित पक्राउ परेको बताए । पक्राउ परेका तीनै जना भारतीय नागरिक हुन् । 

पक्राउ पर्नेहरुमा भारत, ग्रीन पेलेस, डुमरवाना–२० बिहार बस्ने ३७ वर्षीय राजा कुणाल, सोही ठाउँका ३२ वर्षीय राजेशकुमार जयसवाल र सोही ठाउँका ३७ वर्षीय अभिषेककुमार जयसवाल रहेका छन् । 

उनीहरुको साथबाट डाईजेपाम १०४७ एम्पुल, नुर्फिन १०३७ र फेनारगन १०४२ गरी तीन हजार १२६ एम्पुल बरामद भएको छ । अभिषेक कुमार विगत २ वर्षदेखि नेपालमा इलेक्ट्रिक सामानको व्यापार गर्दै आएको प्रहरीको अनुसन्धानबाट खुल्न आएको छ । 

विशेष सूचनाको आधारमा ब्यूरोबाट खटिएको टोलीले शान्तिनगरबाट भारतीय नम्बर प्लेटको बीआर ३० पी ८६०७ नम्बरको सेतो रङ्गको स्कार्पियो गाडीलाई शंका लागि चेकजाँच गर्दा गाडीमा प्लास्टिकको २ वटा बकेटभित्र चामल तथा पिठोमा लुकाएर राखेको अवस्थामा लागूऔषधसहित पक्राउ गरिएको एसएसपी लामाले जानकारी दिए । 

२ वर्षअघि इलेक्ट्रिक सामान बेच्थे अभिषेक

२ वर्षअघि अभिषेक कुमार हनुमानढोका, रत्नपार्क, भोटाहिटी र पशुपति जस्ता क्षेत्रहरुमा इलेक्ट्रिक सामानको व्यापार गर्ने गरेको पाइएको छ । सोही सयमा उनले लागूऔषधको कारोबार पनि गर्ने गरेको प्रहरीको अनुसन्धानबाट खुल्न आएको छ । 

पछि अभिषेक कुमारले राजा कुणाल र राजेश कुमारलाई पनि लागूऔषध कारोबारमा ल्याएको पाइएको छ । इलेक्ट्रिक सामानको व्यापारबाट लागूऔषधको कारोबार गर्न थालेका उनीहरुले पछिल्लो समय उपत्यकाको सबै ठाउँमा पुगेर लागूऔषध बेच्ने गर्थे । 

उनीहरुले मुख्यतः हनुमानढोका, रत्नपार्क, भोटाहिटी र पशुपति जस्ता क्षेत्रमा सम्पर्क बढाएर लागूऔषध बेच्ने गरेको प्रहरीको अनुसन्धानबाट खुल्न आएको छ । यिनीहरुले लागूऔषध भारतको पटनाबाट ल्याउने गर्थे ।

तीनै जनामाथि लागू औषध नियन्त्रण ऐन, २०३३ बमोजिम मुद्दा दर्ता गरी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । 

पछिल्लो समय लागूऔषध कारोबार बढ्दो

आर्थिक वर्ष २०७३/०७४ को तुलनामा पछिल्लो आर्थिक वर्षमा लागूऔषध कारोबारीको संख्या दोब्बरले बढ्दो रहेको नेपाल प्रहरीको तथ्याङ्कमा उल्लेख छ । २०७३/०७४ मा ट्याब्लेट प्रयोग गर्नेको संख्या १ लाख २५ हजार ५१७ जना थिए भने पछिल्लो आर्थिक वर्षमा बढेर २ लाख ३७ हजार ५५४ जना पुगेको छ । 

यस्तै २०७४/०७५ मा १ लाख ९४ हजार ६४२ जनाले ट्याब्लेट प्रयोग गरेको उल्लेख छ । २०७३/०७४ मा ९३ हजार ५४७ जनाले एम्पुल प्रयोग गरेका छन् भने २०७४/०७५ मा १ लाख ९७ हजार ०२६ जनाले प्रयोग गरेका छन् । यस्तै २०७५/०७६ मा २ लाख ८ हजार ६११ जनाले एम्पुल प्रयोग गरेका छन् । 

केन्द्रीय तथ्याङ्क विभागका अनुसार पछिल्लो समय ११.३६ को दरले लागूऔषध प्रयोग गर्नेहरुको संख्या बढिरहेको छ । जबकि २० वर्षदेखि २४ वर्ष उमेर समूहका युवायुवतीले धेरै प्रयोग गर्ने गरेको पाइएको छ । 

यस्तै नेपालभर सम्रग मुद्धामध्ये ७ प्रतिशत लागूऔषध कारोबारीहरु प्रहरी कारागारमा रहेको उल्लेख छ । 

५ पटकसम्म इन्जेक्सन

३ वर्षअघि लागूऔषध सेवन गरिरहेको बेला काभ्रेका (नाम परिवर्तन) राम लागूऔषध ब्यूरोको फन्दामा परे । अनुसन्धानको क्रममा सेवन मात्र गर्ने नभएर राम लागूऔषध कारोबारी रहेको अनुसन्धानमा खुल्न आयो । 

प्रहरीको अनुसन्धानकै क्रममा रामले १ दिनमा ५ पटकसम्म इन्जेक्सन लगाउने गरेको खुल्यो । १००, २०० मा लागूऔषध किनेर अरुलाई १ हजारसम्म बेच्ने गर्थे राम । 

भारतमा ५०/५५ भारुमा पाइने इन्जेक्सन नेपालमा १ हजारसम्म पर्ने गर्छ । रामको कुरा गर्ने हो भने इन्जेक्सन किन्न एक दिनमा ५ हजार रुपैयाँ पथ्र्यो । 

इन्जेक्सन किन्न चोरी गर्नुपर्ने बाध्यता

नेपालमा लागूऔषध सेवनकर्ता सम्पन्न परिवारदेखि गरिब परिवारका पनि छन् । सम्पन्न परिवारका व्यक्तिभन्दा बढी गरिब परिवारका व्यक्ति यस्ता कार्यमा संलग्न छन् । 

गरिब परिवारका व्यक्ति अशिक्षाको कारण यस्ता कूलतमा लागेका छन् भने धनी परिवारका व्यक्ति सौखिनका रुपमा यस्ता कूलतमा लागेका छन् । 

सानैदेखि लागेको बानी छुटाउन धेरै गाह्रो पर्छ । त्यसैले लागूऔषध सेवनकर्तासँग सधैं गोजीमा पैसा हुन्छ भन्ने पनि छैन । अन्ततः चोरी तथा लुटपाट गर्न बाध्य हुन्छ । 

प्रहरीका अनुसार यस्ता कूलतमा फसेका व्यक्तिले मध्यरातमा चोरी तथा लुटपाट गर्ने गर्छन् । 

१ किलो कोकिनसहित विदेशी नागरिक पक्राउ

भदौ ४ गते त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट १ किलो ६०० ग्राम कोकिनसहित एक विदेशी नागरिक पक्राउ परेका छन् । पक्राउ पर्नेमा मासेल हुइया रहेका छन् ।  आइबेरी कोष्टाका मासेललाई लागूऔषध नियन्त्रण ब्यूरो (एनसीबी) को टोलीले आफ्नो देश जान लाग्दा अध्यागमनबाट पक्राउ गरेको हो । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

सुजन पन्त
सुजन पन्त

पन्त सुरक्षा/अपराध बिटमा रिपोर्टिङ गर्छन् ।

लेखकबाट थप