केन्द्रीय संस्करण
अन्तरवार्ता

अवसर नै नपाउने भए कुनै पार्टीमा किन जाने ?

मलाई कसैले टप्प टिपेर अवसर दिएको हैन : कोमल वली

person explore access_timeअसोज २, २०७६ chat_bubble_outline0
कुवेर गिरी

रातोपाटी

कलाकारिताबाट यात्रा थालेकी कोमल वली सञ्चारकर्मी हुँदै अहिले राजनीतिमा सक्रिय छिन् । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)बाट औपचारिक रूपमा उनी राजनीतिमा प्रवेश गरेकी हुन् । तर गत निर्वाचमा उनी राप्रपा छोडेर नेकपा एमाले प्रवेश गरिन् । यतिबेला उनी सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)की राष्ट्रियसभा सदस्य समेत रहेकी छन् ।

सांसदसँगै उनी नेकपाको आन्तरिक राजनीतिमा पनि सक्रिय छिन् । नेकपा प्रदेश ५ सदस्यसमेत रहेकी वलीलाई यतिबेला पार्टीले आगामी मङ्सिर १४ गते हुने उपनिर्वाचनका लागि दाङको निर्वाचन क्षेत्र ३ को (ख) संयोजकको जिम्मेवारी दिएको छ । उनै वलीसँग रातापाटीले कलाकारिता, राजनीतिक यात्रा र उपनिर्वाचन तयारीमा केन्द्रित रहेर गरेको छोटो कुराकानी :

नेकपाले उपनिर्वाचनका लागि तपाईंलाई दाङ क्षेत्र नं ३ (ख) कोे संयोजक बनाएको छ । त्यो स्थानमा नेकपाले चुनाव जित्छ त ?

– यस अगाडि चुनावमा सो स्थानमा हामीले धेरै मतको अन्तरले चुनाव जितेका थियौँ । अहिले दुई पार्टी मिलेर नेकपा भएपछि झन् भोट राम्रो छ ।

अर्काे कुरो हामीले त्यो क्षेत्रमा प्रदेशबाट पनि राम्रा योजनाहरू पारेर विकासका कार्य धेरै गरेका छौँ र जारी पनि छ । त्यहाँका धेरै स्थानीय तह पनि हाम्रो पार्टीका व्यक्तिले लिड गरेका छन् । प्रदेश सदस्य उत्तरकुमार वली जसलाई हामीले दुर्घटनाका कारण गुमायौँ । उहाँको पनि राम्रो मत आएको थियो । अहिले हाम्रो सङ्गठन झन् राम्रो भएको छ । पार्टी एकता गाउँ स्तरसम्म पुगेकाले पनि परिणाम सकारात्मक हुने विश्वास छ ।

 चुनावका लागि तपाईंका योजना केकस्ता छन् ?

–नेकपा एउटा सङ्गठन मात्र होइन, यो अहिले अभियानको रूपमा अगाडि आएको छ । अभियानमा सबैलाई समेट्न, पार्टीलाई बृहत् बनाउन र जनताको प्रिय पार्टी बनाउन हामी प्रशिक्षणसमेत गर्नेछौँ । भन्न त मानिसहरूले हाम्रो एकतालाई ज्यान मिलेको हो, मन मिलेको छैन भन्ने गरेका छन् । त्यो हो भने पनि मनै मिलाउनका लागि प्रशिक्षण गर्ने योजना मेरो छ । पार्टीका हरेक कार्यकर्तालाई पार्टी, देश र जनताप्रति जिम्मेवार, बफादार र जवाफदेही बनाउन मेरो पहल रहन्छ ।

अर्काे कुरा नीति र नेतृत्वले अगाडि सारेको विचारको आधारमा रहेर पार्टीको वैचारिक र सैद्धान्तिक व्याख्या गर्दै  पार्टी सशक्त बनाउन मेरो अहम् भूमिका रहन्छ । यसका लागि म सक्षम भएकाले पार्टीले जिम्मेवारी दिएको हो ।

कलाकारिता र राजनीतिमा के भिन्नता पाउनु भयो ?

समाजप्रतिको दायित्व सबैको एउटै हो । कलाकारिता राष्ट्रको सम्पत्ति हो । यो जीवनको कला हो । राजनीति त्योभन्दा माथि र धेरै जिम्मेवारीले भरिएको हुँदो रहेछ । अहिले राजनीतिमार्फत् नीति निर्माण गर्ने तहमा छु । यो हिसाबले मेरो दायित्व देश र जनताप्रति धेरै बढेको छ । संसदमा राष्ट्रियसभा भनेको एउटा गरिमाया सदन हो । त्यसको महत्त्व फरक छ । अहिले देशको अवस्था मात्र होइन, राज्य व्यवस्थासमेत फेरिएको छ । मुलुक गणतन्त्र र सङ्घीयतामा गएकाले संविधानले सङ्घ, प्रदेश र स्थानीय तहमा आआफ्नै व्यवस्था गरेको छ ।

कुन क्षेत्रमा बढी रमाइलो महसुस भयो ?

– कलाकारितामा अहिलेको जस्तो धेरै जिम्मेवारी थिएन । गीत रेकर्ड गर्यो । ठाउँ ठाउँमा गएर मानिसलाई मनोरञ्जन गरायो, सामाजिक सन्देश दियो, दिदीबहिनीलाई राम्रोसँग पढ, कम उमेरमा विवाह नगर भनेर सन्देश दिन सकिन्थ्यो । यी सबै क्रियाकलापमा रमाइलो हुन्थ्यो । धेरै इन्जोय गर्थें । कलाकारिता एकदमै सुन्दर क्षेत्र हो । यो क्षेत्रमा कुनै प्रेसर हुँदैन ।

तर राजनीतिमा धेरै च्यालेन्ज रहेछ, अवसर छन् । चुनौती पनि धेरै । अवसर र चुनौतीभित्र रहेर आफूलाई सकारात्मक रूपमा कसरी प्रस्तुत गर्ने भन्ने कुरामा ध्यान दिन सकियो भने राजनीतिमा पनि इन्जोय गर्न सकिन्छ । म भने इन्जोय गरिरहेको छु । अहिले जनताको आवाज विधायिकासम्म पुर्याउन सक्ने मेरो पहुँच छ ।

चुनावको मुखैमा तत्कालीन एमालेमा प्रवेश गर्नुभयो । लगत्तै राष्ट्रिय सभाको टिकट पाउनुभयो । दुई पार्टी एकीकरणपछि बनेको प्रदेश कमिटीमा सदस्य पनि हुनुभयो । पार्टीमा लामो समय योगदान गरेका नेता कार्यकर्तालाई बाइपास गरेर तपाईंलाई अवसर दिइयो भनेर चर्को आलोचना पनि भयो । यहाँ त्यस्तो कुन सूत्रले काम गर्यो ?

–म जुन काममा लाग्छु । पूरै समर्पित भएर लाग्छु । दायाँबायाँ, लप्पनछप्पन केही गर्दिनँ । राजनीतिमा लाग्छु भनेपछि राप्रपाले पहिलो अवसर दियो । राप्रपाको केन्द्रीय सदस्यमा खुल्लाबाट उठेर पनि अत्यधिक मतले विजयी भए ।

त्यसपछि जनतामा गएर जनताको ब्यालेटबाट चुनिने मन थियो । उनीहरूको सेवा गर्ने इच्छा थियो । त्यसैले दाङलगायत धेरै ठाउँ पुगेर माहोल बुझ्ने काम गरिरहेको थिए ।

म एमालेमा असोज ९ गते प्रवेश गरेकी हुँ । त्योभन्दा पहिले केपी ओलीजीसँग सिमरा एयरपोटमा भेट भएको थियो । त्यसपछि उहाँले भट्न बोलाउनुभयो । त्यो समय उहाँ एमालेको अध्यक्ष हुनुहुन्थ्यो । भेटमा उहाँले एमालेमा आउन अफर गर्नुभयो ।

उहाँसँग भेट्न जानुको मेरो अर्काे कारण पनि थियो । मेरो राप्रपाको दाङबाट उम्मेदवार बन्ने योजना थियो । तर त्यहाँ राप्रपाले जित्न सक्ने अवस्था थिएन । राप्रपाबाट उठ्छु एमालेले सपोर्ट गर्नुपर्यो भन्न गएकी थिए । किनभने त्यहाँको पाँचै क्षेत्रमा काँग्रेसले जितिरहेको थियो । एमाले काँग्रेसभन्दा केही पछि थियो ।

यति बेला एमाले र माओवादी एकीकरणको कुरा भित्रभित्र छलफलको विषय भए पनि निष्कर्षमा पुगेको थिएन । फेरि एक पटक नेपालगञ्जमा शङ्कर पोखरेलसँग भेट भयो । उहाँ मेरै ठाउँको भएकाले पहिले रेडियोमा काम गर्दादेखिकै राम्रो चिनजान थियो । शङ्कर दाइको परिवारसँग पनि नजिक थिएँ । उहाँले राप्रपामा प्रशिक्षण पुग्यो । बसेर छलफल गरौँ । तपार्इं जस्तो राजनीति बुझेको मानिस एमाले आउनुपर्यो भन्नुभयो । मैले काठमाडौँ गएपछि कुरा गरौँला भने ।

म काठमाडौँ फर्किएपछि फोन आयो । यो बीचमा दाङका अहिलेका नेकपाका अध्यक्ष टीकारामा खड्काले मेरो घरमा गएर दाइसँग मलाई एमाले भित्र्याउने कुरा गर्नु भएको रहेछ । शङ्कर दाइ र अध्यक्ष ओलीज्यूसँग फेरि भेट भयो ।

त्यो क्रममा अध्यक्षले तिमी राप्रपाबाट चुनाव जित्न सक्दैनौँ । एमालेमा प्रवेश गर, म टिकट दिन्छु भन्नुभयो । एमालेसँग केही कमिटमेन्ट भयो । म प्रवेश गरेँ ।

मलाई काठमाडाँैमा एमाले प्रवेश गराउने अध्यक्ष ओलीको इच्छा थियो । दाङमा रहेका एमालेका सबै कार्यकर्ता र नेताहरूको इच्छा कोमल वली दाङबाट एमाले प्रवेश गरोस् भन्ने थियो । त्यही भएर मैले दाङबाटै प्रवेश गरेँ । मलाई कसैले टप्प टिपेर अवसर दिएको हैन । सबैले यो बुझ्दा हुन्छ ।

पार्टी प्रवेश गर्ने बित्तिकै अवसर मिल्यो भनेर बेलाबेलामा नेताहरू व्याङ्ग्य गर्ने गरेका छन् नि ?

– लिने भन्दा मानिस खुसी हुन्छन् । दिने भन्दा विभिन्न कुरा आउँछन् । मेरो सबैलाई एउटै प्रश्न छ, ‘बाहिरबाट आएकाले अवसर नपाउने भए । त्यो पार्टीमा किन जाने ?  केही न केही अवसरका लागि पुरानो पार्टी छोडेर जाने हो । राजनीतिमा अवसर पनि महत्त्वपूर्ण हुन्छ । यो मेरो बुझाइ हो । मलाई पार्टीले राष्ट्रिय सभा दिएपछि केहीले असन्तुष्टि पनि व्यक्त गरे ।

यो असन्तुष्टिमा मैले दुई कुरामा हेरेँ । एक अवसरका रूपमा लिएँ अर्काे जिम्मेवारीको परीक्षाका रूपमा । यो असन्तुष्टिलाई मैले कहिल्यै नकारात्मक लिइन । सकारात्मक लिएको थिए । जवाफ पनि त्यसरी नै दिएँ । यसमा केही गुनासो पनि छैन ।

सत्तारुढ दलकै सांसद हुनुहुन्छ । सरकारको कामकारबाहीप्रति तपाईं आफै कति सन्तुष्ट हुनुहुन्छ ?

–जनताले जे कुराको अपेक्षा गरेको थिए त्यो पूरा भएको छैन । काम नै नभएको पनि होइन । धेरै काम भएका छन् ।

पहिले देश अस्थिरतामा थियो । जनता दिक्क थिए । त्यही भएर उनीहरूले नेकपालाई बहुमत दिएर देश जिम्मा लगाए । देशमा स्थिरता आयो । हामीले बहुमत पायाँै ।

नेकपा सङ्घमा मात्र होइन, प्रदेश र स्थानीयमा पनि छ । तर जनअपेक्षा अनुसार भने काम हुन सकेको छैन भन्ने जनातको कुरा आयो । असन्तुष्टि आयो ।

अहिले सरकार सङ्घ र प्रदेशमा छ । हिजोको राजनीतिक अस्थिरतालाई स्थिरतता बनाउने काम सरकारले गर्यो । अहिले हाम्रो देशको अस्तित्व कुनै पनि विकसित राष्ट्रभन्दा कम छैन । यो अहिलेको सरकारले महसुस गराएको हो ।

अर्काे कुरा कानुन नभएर काम गर्न समस्या थियो । कर्मचारीले काम गर्ने वातावरण थिएन । कानुन बनाउने काम हामी लाग्यौँ । कानुनी अप्ठ्यारा फुकाउनतिर लाग्यौँ ।

विकास निर्माणको काममा ७, ८ वर्षदेखि जसरी चलेका थिए । त्यो जस्ताका तस्तै छन् । कानुको कारण हुन नसको भनेर मन्त्रालयले भनिरहेको छ । म त एउटा सांसद मात्र हुँ ।

मलाई लाग्छ मन्त्रीहरूको कामकारबाही जनअपेक्षा अनुसार सशक्त र परिणाम मुखी हुन सकेको छैन । त्यसैले रिजल्ट आउन सकेन । कामै भएको छैन भनेर निरास हुनुपर्ने अवस्था भने छैन ।

हिजो राजसंस्था र हिन्दु राज्य बोकेको पार्टीमा हुनुहुन्थ्यो । यतिबेला राजसंस्था र हिन्दु राज्यबारे तपाईंको धारणा के हो ?

– जनचाहना अनुसार भनेर राजा आफैले सत्ता छोड्नु भएको हो । हामी अर्काे फेजमा गइसक्यौँ । त्यसैले यो विषयमा कुरा नगरौँ । हिन्दु राज्यको विषयमा हाम्रै संविधानमा हिन्दु राज्य भनेर लेखेको त छैन । तर धार्मिक स्वतन्त्रताको कुरा गर्दा हाम्रो सनातन धर्मको संरक्षण गर्दै भनेको छ । त्यो भनेको जे चलिआएको छ । यसलाई नै प्रवद्र्धन गर्ने भनेको हो । त्यस कारण हामी आफै आफ्नो धर्मको बारेमा सकारात्मक कुरा प्रचार गरेर नहिँड्ने । आफू सुपेरियल हुन धर्मलाई कन्जरभेटिभ बनाउने । वेदले विश्व डोर्याउन थालिसकेको छ । हामी वेदको सिर्जनाकार, उत्पत्तिकर्ता अलमलमा छौँ ।

धर्म परिवर्तनको पक्षमा सरकार कडा रूपमा उत्रिएको छ । पैसा र विभिन्न लोभमा धर्म परिवर्तन गराउन पाइँदैन । यो हिन्दुधर्मालम्बी भएको मुलुक हो । सबै राजनीतिक दल यो कुरामा सचेत छ ।

गाँजामाथि लगाइएको प्रतिबन्द हटाउनुपर्ने तर्क राख्दै आउनुभएको छ किन ?

¬शिवरात्रिको दिनमा पनि पशुपति मन्दिरमा गाँजा प्रतिबन्ध सुने । त्यो सुन्दा आश्चार्य लाग्यो । किनभने शिवरात्रिको दिनको महिमा भनेको गाँजा, भाङ, धतुरो खाने पनि हो । यो हाम्रो धेरै अगाडिदेखि चलिआएको परम्परा हो । विकसित देशका कैयौँ ठाउँमा पनि यति ग्रामसँग गाँजा खान पाउने भनेर छुट दिएको पाइन्छ ।

मेरो शुद्ध मन छ । त्यसमा कसैले शङ्का नगर्दा हुन्छ । जे परम्पराबाट चल्दै आएको छ त्यसमा केही छुट दिनुपर्छ कि भनेर मैले भनेकी हुँ । ड्रग प्रमोट गर्नुपर्छ भनेकी होइन ।

 

 

कमेन्ट

कमेन्ट गर्नेहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

Loading comments...