केन्द्रीय संस्करण

साउदी अरबमा हमलाः अमेरिकाले आफ्नो तेलको भण्डार जमिन मुनी किन राखेको छ ?

person explore access_timeअसोज २, २०७६ chat_bubble_outline0
Photo: GETTY IMAGES

बीबीसी

अमेरिकाको टेक्सस र लुइजियानाको तटको सतहबाट करिब एक किलोमिटर मुनी नुनका गुफा छन् जसमा उसले आफ्नो आपत्कालीन  समयका लागि अत्यधिक खजाना राख्छ – अर्थात्, लाखौं ब्यारल तेल ।

कच्चा तेल यहाँ ल्याइन्छ र त्यसलाई वर्षौं वर्षसम्मका लागि सतर्कतापूर्वक संरक्षित गरेर राखिन्छ ।

यो अमेरिकाको रणनीतिक पेट्रोलियम रिजर्भ हो जसलाई आपत्कालीन स्थितीका लागि बनाइएको हो । संसारभरी योभन्दा ठूलो तेलको भण्डार अन्त कतै पनि छैन । यो भण्डारको महत्व आजकाल एक पटक पुनः देख्न पाइएको छ ।

गत आइतबार राष्ट्रपति डोनल्ड ट्रम्पले साउदी अरबको तेल संयन्त्रमाथि भएको हमलापछि पैदा भएको तेल संकटबाट जोगिनका लागि उक्त तेल भण्डारको प्रयोग गरिने बताएका थिए । यो इतिहासमा चौथो पटक होला जब अमेरिकाले यो तेल भण्डारको प्रयोग गर्न स्विकृती दिएको छ ।

उनले एक ट्वीटमा लेखे, ‘साउदी अरबमाथि भएको हमलापछि तेलको मूल्यमा जुन असर परिरहेको छ, त्यो हेर्दा मैले आवश्यकता पर्दा रणनीतिक भण्डारबाट तेल निकाल्ने आदेश दिएको छु । यहाँबाट त्यति तेल निकाल्न सकिन्छ जसले बजारको मागलाई सन्तुलन राख्न सकिन्छ ।’

गत शनिबार संसारको सबैभन्दा ठूलो तेल कम्पनी अरामकोको तेल संयन्त्रमा ड्रोन हमला गरिएको थियो । जसका कारण त्यहाँको उत्पादन आधा भन्दा बढी कम भएको छ ।

साउदी अरब एक्लैले विश्वको कुल तेल खपतको पाँच प्रतिशत निर्यात गर्छ । र यसको तेल उत्पादनमाथि परेको असरले संसारभरीको तेलको मूल्य १० प्रतिशत बढी बढेको छ ।

Photo: Getty images

यसबाट उब्जिएको अनिश्चितताका कारण डाउ जोन्स इन्डष्ट्रियल इन्डेक्समा १६५ अंकभन्दा बढी गिरावट दर्ता गरिएको छ । यसबाट यो डर बढेको छ कि ओपेक र रुसले उत्पादन बढाउने बचनका बाबजुद मूल्यमा कमी हुनेछैन ।

यस्तोमा मेक्सिकोको खाडीको तटमा जम्मा गरेर राखिएको तेल, आवश्यकता पर्दा प्रयोगमा ल्याउने ट्रम्पले निर्णय तेल संकटलाई कम गर्ने रणनीति मात्रै होइन यसमार्फत् उनी बजारमा स्थितरता ल्याउन चाहन्छन् ।

तर यो तेल भण्डार अमेरिकाका लागि यति महत्वपूर्ण किन छ ?

Photo: Getty images

एक देश र उसको तेलः

यो तेल भण्डार किन बनाइयो ? यसको जवाफ अर्को एउटा संकटमा लुकेको छ जसको सम्बन्ध अरबको खाडीसँग नै जोडिएको छ ।

यद्यपि, सन् १९७३ मा अमेरिकामा जुन तेल संकट आएको थियो त्यो कुनै हमलाका कारणले भने थिएन ।

 युनिभर्सिटी अफ टेक्ससमा ल्याटिन अमेरिकी र क्यारेबियाली एनर्जी प्रोग्रामका निर्देशक जर्ज पिननले बीबीसीसँगको कुराकानीमा भने, ‘खासमा के भएको थियो भने अरब देशले पश्चिममा तेल निर्यातमाथि प्रतिबन्ध लगाएको थियो । यस्तो यसकारण गरियो किनभने अमेरिका र अन्य देशले इजराइललाई समर्थन गरिरहेका थिए । यो तेल प्रतिबन्धले स्थिती निकै बिग्रिएको थियो । यसले अमेरिकामाथि पनि असर पुर्‍याएको थियो । ’

अक्टोबर सन् १९७३ मा सिरिया र इजिप्ट, इजराइलविरुद्ध एक परोक्ष युद्ध लडिरहेका थिए । जसमा इजराइलले अमेरिका र नेदरल्याण्डजस्ता अन्य देशको समर्थन पायो ।

अरब देशले यसको जवाफमा पश्चिममा तेल निर्यातमा कटौती गर्ने निर्णय गर्‍यो ।

यो युद्ध खासमा तीन हप्ता चल्यो तर प्रतिबन्ध सन् १९७४ को मार्चसम्म जारी रह्यो जसका कारण संसारभरी तेलको मूल्य चौगुणा भयो । मूल्य प्रति ब्यारल ३ अमेरिकी डलरबाट करिब १२ अमेरिकी डलरसम्म पुग्यो । इतिहासकारका अनुसार यो संसारको पहिलो तेल संकट थियो ।

अन्तर्राष्ट्रिय अर्थव्यवस्थामा यसले नराम्रोसँग धक्का पुर्‍यायो र अमेरिका पनि यसबाट अछुतो हुन सकेन ।

दोस्रो विश्वयुद्धपछि जुन शहर बनिरहेका थिए र विकासको पथमा अघि बढिरहेका थिए, त्यहाँको जनजीवन अस्तव्यस्त भएको थियो । लाखौं मानिस ग्यास स्टेशन बाहिर लाइन लागेको देखिएको थियो र अमेरिकाका धेरैजसो उद्योग जुुन सस्ता इन्धनमा निर्भर थिए, त्यो खतरामा पर्न थालेका थिए ।

पछिका थुप्रै वर्षसम्म पनि यसको असर देखिरह्यो र सन् १९७५ मा क्रिसमसको तीन दिन अघि, तत्कालीन राष्ट्रपति जेरल्ड फोर्डले एक कानूनमाथि हस्ताक्षर गरे जस अनुसार अमेरिकाको कच्चा तेलको संचयका लागि पहिलो संकटकालीन भण्डार बनाउने निर्णय लिइयो ।

त्यसपछि यो रणनीतिक भण्डार बनाइयो जसको महत्व यो हो कि अमेरिकाका राष्ट्रपतिलाई मात्रै यसमा जम्मा भएको तेलको प्रयोग गर्ने अनुमती दिने अधिकार छ ।

Photo: Getty images

मेक्सिकोको खाडीः

पिनन थप्छन्, ‘यो भण्डार मेक्सिकोको खाडीमा चार स्थानमा छ । हरेक भण्डार एक महत्वपूर्ण पेट्रोकेमिकल रिफाइनिंग र प्रोसेसिंग सेन्टरसँग छ ।’

टेक्ससमा यो फ्रिपोर्ट र विनी नजिकै छ भने लुइजियानामा बाहिरी लेक चार्ल्स र बेटन रुजमा छ ।

उनले भने, ‘यी कृत्रिम गुफा हुन् जसलाई सतहभन्दा मुनी बनाइन्छ ।’

गुफा भएका यी विशाल भण्डार समुद्री सतहभन्दा पाँच सयदेखि एक हजार मिटर तल छ । यहाँ तेल जम्मा गर्न सस्तो पर्छ र सुरक्षित पनि हुन्छ । नुन र प्रेशरको रासायनिक संरचनाले तेललाई लिक हुनबाट बचाउँछ ।

हरेक गुफाका चौडाई औसतमा ६० मिटर हुन्ट र हरेक गुफामा ६० लाखदेखि ३.७ करोड ब्यारल तेल जम्मा गर्न सकिन्छ ।

अमेरिकाको ऊर्जा विभागको तर्फबाट जारी डेटाका अनुसार यी भण्डारमा यतिबेला ६४.५ करोड ब्यारल तेल छ । यद्यपि, यी भण्डारको क्षमता यो भन्दा निकै बढी छ । यहाँ  ७१.३५ करोड ब्यारल तेल राख्न सकिन्छ ।

 आधिकारिक डेटाका अनुसार सन् २०१८ मा अमेरिकीले हरेक दिन औसतमा २.०५ करोड ब्यारल तेल प्रयोग गरे । यसको अर्थ यो हो कि यो भण्डारले देशलाई करिब ३१ दिनसम्म चलाउन सकिन्छ ।

यद्यपि, राष्ट्रपतिको अनुमती पछि यो तेल बजारसम्म पुग्न १३ हप्ता लाग्नेछ ।

अहिलेसम्म अमेरिकी राष्ट्रपतिहरुले केही विशेष मौकामा मात्रै यो सुरक्षित तेल भण्डारको प्रयोग गर्ने अनुमती दिएका छन् ।

Photo: Reuters

पछिल्लो पटक सन् २०११ मा यस्तो भएको थियो । जब अरब क्रान्तिका कारण अन्तर्राष्ट्रिय एनर्जी एजेन्सीका सदस्य देशले मिलेर संसारको तेल आपूर्ती कायम राख्नका लागि ६.० करोड ब्यारल तेल सप्लाई गर्ने निर्णय गरेको थियो ।

यसअघि सन् २००५ मा कटरिना आँधीका कारण अमेरिकी तेलका आधारभूत ढाँचामा क्षती पुगेको थियो । त्यतिबेला पनि सुरक्षित भण्डारको प्रयोगको आदेश दिइएको थियो ।

सबैभन्दा पहिले यसको प्रयोग सन् १९९१ मा गरिएको थियो जब अमेरिकाले अपरेशन डेसर्ट स्ट्रोमको रुपमा इराकमाथि हमला गरेको थियो ।

यद्यपि, अमेरिकाको ऊर्जा उत्पादन यति तीब्र रुपमा बढिरहेको छ कि यो समयमा यस्तो प्रकारको तेल भण्डार राख्ने यो रणनीतिमाथि प्रश्न उठ्ने गर्छ ।

पिनान भन्छन्, ‘अहिले अमेरिका संसारको कच्चा तेलको सबैभन्दा ठूलो उत्पादक हो । हामी प्रतिदिन १.२ करोड ब्यारल तेल उत्पादन गरिरहेका छौं । जबकी रुस १.१ करोड र साउदी १ करोड ब्यारल तेल उत्पादन गरिरहेको छ । यस्तोमा धेरै मानिसहरुले सुरक्षित भण्डार किन बनाइराख्नु पर्‍यो भनेर प्रश्न सोधिरहेका छन् ।’

सन् २०१४ मा एक सरकारी रिपोर्टमा तेलको मूल्य कम गर्नका लागि यो तेलको प्रयोग गर्नुपर्ने सुझाव दिएको थियो र सन् २०१७ मा ट्रम्प प्रशासनले संघीय घाटाबाट बच्नका लागि आधा तेल भण्डारदाई बेच्नेबारे सोचेको थियो ।

अमेरिका अहिले पनि कच्चा तेलको आयात गर्छ, त्यो पनि प्रतिदिन औसतमा ९० ललाख ब्यारल तेल ।

पिनन भन्छन्, ‘यहाँ याद गर्नुपर्ने कुरा के छ भने जुन देशले जति तेलको खपत गर्छ, त्योभन्दा ऊ आफैंले उत्पादन गर्छ, तरपछि त्यो कच्चा तेलको आयात गर्छ र उसमाथि खतराको बादल मडारिरहेको छ । र कसैले पनि सोच्न सक्दैनथ्यो कि तेल भण्डारमा अब ड्रोन हमला हुनेछन् । यो बिल्कुल नयाँ तरिकाको खतरा हो ।’

 

कमेन्ट

कमेन्ट गर्नेहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

Loading comments...