शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

उत्तरी गोरखाबाट उडेको हेलिकप्टर सिउरेनीटारमा आकस्मिक अवतरण

बुधबार, ०१ असोज २०७६, २२ : ०२
बुधबार, ०१ असोज २०७६

गोरखा- मनास्लु क्षेत्रबाट काठमाडौँका लागि उडेको हेलिकप्टर गोरखाको सिउरेनीटारमा आकस्मिक अवतरण गराइएको छ । खराब मौसमका कारण हेलिकप्टरले उडान गर्न नसकेपछि गण्डकी गाउँपालिका– ८ सिउरेनिटारमा आकस्मिक अवतरण गराइएको हो । 

हेलिकप्टरमा तीन जना यात्रु सवार रहेको गण्डकी गाउँपालिका–८ का अध्यक्ष रामप्रसाद रेग्मीले जानकारी दिनुभयो । लगातार परेको झरीका मौसम खराब भएकाले दुई दिनदेखि उक्त हेलिकप्टर सामागाउँमै रोकिएको थियो ।

खराब मौसमका कारण आज बिहान मात्र काठमाडौँका लागि उडेको हेलिकप्टर १० बजेतिर आकस्मिक अवतरण गरिएको गोरखाका प्रहरी प्रमुख प्रहरी ओम अधिकारीले जानकारी दिए । सामागाउँबाट गोरखाको केरौँजा, धादिङ हुँदै काठमाडौँका लागि उडेको हेलिकप्टर खराब मौसमका कारण सिउरेनीटारतिर पुगेको प्रहरीले जनाएको छ । 

नेपालगञ्ज उडेको विमान धनगढीमा अवतरण

काठमाडौँबाट नेपालगञ्ज आउँदै गरेको बुद्ध एयरको जहान खराब मौसमका कारण नेपालगञ्ज विमानस्थलमा अवतरण हुन नसकेपछि धनगढी पुगेको छ । काठमाडौँबाट ६४ जना यात्रु लिएर बुधबार साँझ ६ बजेर १५ मिनेटमा उडेको बुद्धको फ्लाइट नं ४०५ विमान निर्धारित समयमै नेपालगञ्ज पुगे पनि तीव्र हावासहितको वर्षाका कारण अवतरण हुन नसकेपछि धनगढी विमानस्थलमा अवतरण गर्नुपरेको बुद्ध एयर नेपालगञ्जका स्टेशन प्रमुख विनित शाहले जानकारी दिए ।

उनका अनुसार, केहीबेर आकाशमै उडेर अवतरणको प्रतीक्षा गरिए पनि मौसममा सुधार आउने सङ्केत नदेखिएपछि नेपालगञ्जदेखि करीब २०० किलोमिटर टाढा सुदूरपश्चिम प्रदेशको राजधानी धनगढी विमानस्थलमा पुगेर विमान अवतरण भएको छ । उक्त विमान अब बिहीबार बिहान ७ बजे धनगढीबाट यात्रु लिएर नेपालगञ्ज आउने शाहले जानकारी दिए । 

नेपालगञ्जमा बिहानैदेखि अविरल वर्षा भए पनि नेपालगञ्ज विमानस्थलबाट हुने अन्य नियमित उडान भने नरोकिएको नेपालगञ्ज नागरिक उड्डयन कार्यालयले जनाएको छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप