२७ दिनपछि प्रधानमन्त्री सार्वजनिक कार्यक्रममा सहभागी
काठमाडौँ– प्रधानमन्त्री केपी शर्मा ओली २७ दिनपछि बुधबार पहिलोपटक बालुवाटार बाहिरको सार्वजनिक कार्यक्रममा सहभागी बनेका छन् ।
२७ दिनपछि असोज १ गते ओली एकै दिन दुईवटा कार्यक्रममा सहभागी बन्दैछन् ।
ओलीले बुधबार सातौँ राष्ट्रिय विज्ञान दिवसका अवसरमा राष्ट्रिय सभागृहमा हुने कार्यक्रम र सिंहदरवारको पुतली बगैँचामा संघीय संसदको भवन शिलान्यास गर्ने कार्यक्रम रहेको प्रधानमन्त्रीका प्रेस संयोजक चेतन अधिकारीले जानकारी दिए ।
उनका अनुसार दुवै कार्यक्रम सकेर ओली पुनः बालुवाटार नै फर्कने छन् ।
यसअघि प्रधानमन्त्री ओली भदौ ४ गते संविधान दिवस मूल समारोह समितिको कार्यक्रममा सहभागी हुन सिंहदरवार पुगेका थिए ।
तर, प्रधानमन्त्रीले भदौ ४ पछि बालुवाटार छोडेको भने यो तेस्रो पटक हो । उनी यसअघि भदौ २५ गते त्रिवि शिक्षण अस्पताल पुगेका थिए भने भदौ २४ गते सिंहदरवारमा नेपाल भारत पेट्रोलियम पाइपलाइनको उद्घाटन गरेका थिए ।
भदौ २० गते सिंगापुरबाट उपचार गरेर फर्केपछि चिकित्सकको सुझावअनुसार बालुवाटारबाटै कार्यसम्पादन गर्दै आएका प्रधानमन्त्री ओलीले सिंहदरवारमै नेपाल भारत पेट्रोलियम पाइपलाईनको उद्घाटन गरेका थिए । तर, त्यो कार्यक्रम भिडियोमार्फत गरिएको थियो ।
त्यस्तै उनी सिंगापुरमा गरिएको प्लाज्मा फेरेसिसको नसामा राखिएको ट्युव निकाल्न र इसिजी गर्न त्रिवि शिक्षण अस्पताल पुगेका थिए । त्यसबाहेक उनी अन्य सार्वजनिक कार्यक्रममा सहभागि भएका थिएनन् ।
यसैबीच, यसअघि सामान्य कार्यक्रममा समेत पुग्ने गरेका प्रधानमन्त्री ओलीले अबदेखि महत्त्वपूर्ण कार्यक्रममा मात्रै सहभागीता जनाउने छन् । ‘प्रधानमन्त्रीज्यूले कार्यक्रमको महत्त्व हेरेरमात्रै सहभागीता जनाउने कि भन्ने विषयमा कुराकानी भइरहेको छ,’ बालुवाटार स्रोतले भन्यो, ‘स्वास्थ्यका कारण पनि सबै कार्यक्रममा सहभागिता जनाउन समस्या हुने भएकाले प्राथमिकताका आधारमा निर्णय गरिनेछ ।’