शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

मन्त्रीलाई अधिवक्ताले भने- शासकहरुलाई मान्छे बेच्ने कूलत लागेको छ

मङ्गलबार, ३१ भदौ २०७६, २३ : २२
मङ्गलबार, ३१ भदौ २०७६

पोखरा- ‘हेर्दा खाँचोले गएको जस्तो देखिन्छ । तर, खाँचोले होइन युवाहरु राज्यले लखेटेर विदेश गएका हुन्,’ अधिवक्ता दीपक पराजुलीले गुनासो पोखे, ‘किनकी शासकहरुलाई मान्छे बेच्ने कुलत लागेको छ । यिनीहरुले युवाहरुलाई विदेश पठाएका होइनन् बेचेका हुन् ।’

मञ्चमा अन्तरक्रिया चल्दै थियो । र, अन्तरक्रियाको शिर्षक थियो, ‘वैदेशिक रोजगारीका समस्या र प्रदेश सरकारको भूमिका’ । अन्तरक्रियामा गण्डकी प्रदेश सरकारका भूमि, व्यवस्था तथा कृषिमन्त्री लेखबहादुर थापामगर पनि सरिक थिए । 

समता नेपाल फाउन्डेसन नेपालले देशव्यापी रुपमा आयोजना गरेको सरकारवालासँगको अन्र्तक्रिया मंगलबार पोखरामा चल्दै थियो । अन्र्तक्रियामा १ सय बढी सरकारी तथा गैरसरकारी सस्थाका प्रतिनिधि उपस्थित थिए । उपस्थित सबैले वैदेशिक रोजगारीको समस्याबारे मज्जैले बहस गरे । सहभागीहरुले युवाहरुलाई स्वदेशमै स्वरोजगारी सिर्जना गर्न सरोकारवालालाई सझाए पनि । यसअघि ६ प्रदेशमा फाउन्डेसनले सरकारवाला अन्तरक्रिया गरिसकेको छ । 

‘देशमा केही गर्न सक्ने मान्छे त सरकारले बेचिसक्यो,’ अधिवक्ता पराजुलीले अघि थपे । सरकारले विदेशमा युवाहरु रोजगारीका लागि पठाएको होइन बेचेको उनको आरोप छ ।  यस्तै, इन्सेकका गण्डकी प्रदेश कार्यालय प्रमुख शिव खकुरेलले नेपाली अर्थतन्त्रको ठुलो हिस्सा वैदेशिक रोजगारीमा जानुले ठुलो प्रश्न चिह्न खडा गरेको मत राखे ।

‘रोजगारीको लागि देशको ठुलो हिस्सा विदेशमा छन् । यस्ले सिंगो मुलुक र समाजलाई नै समस्यामा पार्छ,’ उनले भने । देश आत्मनिर्भर बन्न पहिले प्रदेश आत्मनिर्भर बन्नुपर्ने उनले सुझाए । ‘दैनिक उपभोग्य बस्तु प्रदेशमै उत्पादन गरौं, सिप मुलक तालिमको व्यवस्था गरौं, कृषिमा युवाहरुलाई आर्कषित गरौं । तब पो प्रदेश समृद्ध बन्छ,’ उनले भने । प्रदेश सरकारले खालि डोजर लगाएर डाँडा मात्रै खन्न अभ्यस्त रहेकोमा उनले गुनासो पोखे । ‘ठोस नीति ल्याउनुपर्यो खालि डोजर लगाएर डाँडा भत्काएर मात्र त भएन नि,’ उनले भने ।

 सुरक्षित आप्रवासन परियोजना कास्कीकी संयोजक माया गुरुङले वैदेशिक रोजगारीको विषयमा धेरै कुरा आए पनि सम्बोधन नभएको भन्दै गुनासो पोखिन् । ‘प्रत्येक वर्ष रेमिट्यान्सले कुल ग्राहस्थ उत्पादनमा यति सहयोग पुुग्छ भनेर रिपोर्ट निकालिन्छ । तर, कुल ग्राहस्थ उत्पादन बढाउँन विदेश जाने युवालाई स्वदेशमै रोक्ने उपाय निकालेको खै ?’ मन्त्रीतर्फ इंगित गर्दै उनले प्रश्न राखिन् । 

समाजले पनि स्वदेशमै केही गर्न चाहने भन्दा विदेश जानेलाई सहयोग गर्ने गरेकोमा उनले जोड दिइन । वैदेशिक रोजगारीमा जाने युवालाई स्वदेशमै रोक्न सरकारवाला निकाय कत्ति पनि जागरुक नभएको भन्दै उनले गुनासो पोखिन् । विदेशै पठाए पनि सिप सिकाएर पठाउन उनले सुझाइन । 

विदेशबाट फर्केर यही केही गर्नुपर्छ भन्ने र यही केही गराउनु पर्छ भनेर सोच राख्नेको संस्था हेरालो प्रतिष्ठानका एसियन फोरमका पूर्व अध्यक्ष नीरज थापाले विदशबाट फर्केर यही केही गर्नुुपर्छ भन्नेलाई सरकारले सहयोग नगरेकोमा गुनसो पोखे । ‘एक जना भाई हुनुहुन्छ । उहाँले विदेशमा कमाएको पैसा सबै लगानी गरेर बंगुर फार्म खोल्नु भयो,’ उनले भने, ‘राष्ट्रपतिको हातबाट पनि सम्मानित हुनु भएको थियो ।

अहिले बंगुर सबै रोग लागेर स्वाहा भए, करौडौंको लगानी सकियो । अहिले ऋणमा हुनुहुनछ । सरकारले एक रुपैयाँ पनि सहयोग गरेन ।’ कल्याणकारी कोषमा अबौं रुपैयाँ थन्केर बस्दा पनि सहयोग गर्न राज्य तत्पर नभएकोमा उनको दुखेसो छ । उनी आफैं पनि यही केही गर्न विदेशबाट फर्किएका हुन् । निजामति कर्मचारी पनि विदेश जाने मानसिकतामा पुगेको उदाहरण उनले दिए । सरकारले व्यवहारिक शिक्षामा जोड दिनुपर्नेमा उनको जोड छ ।

 अन्तरक्रियामा सरिक कास्की प्रहरी प्रमुख दानबहादुर कार्कीले स्वदेशमा काम गर्न लाज मान्ने प्रवृतिले पनि विदेशीनेको संख्या बढ्दै गएको मत राखे । ‘विदेशमा भेडै चराउन गए पनि प्लेन चढेर गयो भनेर राम्रो मान्छ समाज, त्यही काम यहाँ गर्न लाज मान्छ,’ उनले अघि थपे, ‘यसरी कामलाई क्याटागोराइजेसन गरियो ।’ विदेश पठाउने कुरालाई समाजले भयंकर रुपमा लिने गरेको उनले सुनाए । विदेश जाने व्यवहारिक ज्ञान र समस्या परे गुहार्ने ठाउँबारे पहिले नै जानकारी नपाउँदा कतिपय युवाहरु मृत्युको सिकार बन्न पुगेको यथार्थ उनले बताए ।

गण्डकी प्रदेशकाम भुमि, व्यवस्था तथा कृषिमन्त्री लेखबहादुर थापाले सबैको सुझाब मनन योग्य भए पनि तत्काल वैदेशिक रोजगारीमा जाने युवालाई रोक्न सक्ने अवस्था नरहेको प्रस्ट्याए । ‘सबै युवा विदेश पठाएर राज्यलाई खोक्रो बनाउँने नियत राज्यको होइन,’ उनले भने, ‘तर, यहाँ रोजगारी दिन सक्ने अवस्था छैन ।’ 
उत्पादन मैत्री उद्योग, कृषि मैत्री उत्पादन बढाउने नीति सरकारले लिएको उनले सुनाए । कृषि उत्पादनमा जोड दिदै रोजगारीको सिर्जना गर्ने प्रदेशको योजना रहेको उनले प्रस्ट्याए । ‘सुखी जनता, समृद्ध प्रदेश’ भन्ने प्रदेश सरकारको योजनालाई ५ वर्ष भित्रमा पुरा गर्ने समेत उनले प्रतिबद्धता उनले व्यक्त गरे ।

गण्डकीमा १३ प्रतिशत रेमिट्यान्स

गण्डकी प्रदेशमा प्रतिवर्ष १३ प्रतिशत रेमिट्यान्स भित्रिने तथ्यांकले देखाएको छ । अन्र्तक्रियामा फाउन्डेनका अध्यक्ष प्रदीप परियारले वैदेशिक रोजगारीको तथ्यांक प्रस्तुत गरेका थिए । यसरी, ०७४/७५ मात्रै ७ खर्ब ५५ अर्ब ५६ लाख रेमिट्यान्स वैदेशिक रोजगारीबाट भित्रिने गरेको छ । यो आर्थिक वर्षमा मात्रै कुल ग्राहस्थ उत्पादनको २५ दशमलव १० प्रतिशत हिस्सा रेमिट्यान्सले ओगटेको छ । 
नेपालीहरु वैदेशिक रोजगारीका लागि संस्थागत रुपमा १ सय १० र व्यक्तिगत श्रम स्वीकृतिमा १ सय ७२ देश पुगेका छन् । पछिल्लो जनगणना अनुसार भारतमा मात्रै ५ लाख ८९ हजार रोजगारीका लागि गएको देखिएको छ ।
वैदेशिक रोजगार विभागको ०७४/७५ को तथ्याँकअनुसार ३ लाख ५४ हजार ५२ जनाले वैदेशिक रोजगारीमा जान स्वीकृती लिएका छन् । जसअनुसार दैनिक औसतमा ९ सय ७० जना वैदेशिक रोजगारीका लागि जाने गरेको देखिन्छ । 

वैेदेशिक रोजगार प्रबद्र्धन बोर्डको अनुसार वैदेशि रोजगारीमा जानेमध्ये प्रदेश नम्बर १ र २ मा अत्यधिक करिब ५० प्रतिशत रहेको छ । प्रदेश ३ र ५ को १६÷१६ पतिशत छ । प्रदेश ४ मा १३ प्रदेश ६ मा ३ प्रतिशत र सातमा २ प्रतिशत रहेको छ ।  नेपालका ५६ प्रतिशत परिवारले वार्षिक औसत ८९ हजा का दरले रेमिट्यान्स थाप्ने गर्छन् । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

श्याम राना मगर
श्याम राना मगर

राना गण्डकी प्रदेशका विशेष प्रतिनिधि हुन् । 

लेखकबाट थप