शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

कर्मचारी सञ्चयकोष ३ अर्ब ९४ करोड नाफामा : २ अर्ब ७६ करोड सञ्चयकर्तालाई वितरण

मङ्गलबार, ३१ भदौ २०७६, १५ : ५३
मङ्गलबार, ३१ भदौ २०७६

काठमाडौं– कर्मचारी सञ्चयकोषले अघिल्लो बर्ष ३ अर्ब ९४ करोड नाफा गरेर २ अर्ब ७६ करोढ सञ्चयकर्तालाई वितरण गरेको छ । मंगलबार कोषको ५८ औं वार्षिकोत्सवको अवसरमा बोल्दै उच्च व्यवस्थापन समूहका प्रशासक तुलसीप्रसाद गौतमले सो जानकारी दिएका हुन् । 

उनले ६ लाख सञ्चयकर्ताबाट ३ खर्ब ४५ अर्ब, ६९ करोड रुपैयाँ वित्तीय स्रोत रहेको र  यो रकम अघिल्लो बर्षको भन्दा ११ प्रतिशत बढी रकम रहेको उनले बताए ।  सञ्चयकोषले कूल स्रोतमध्ये ३ खर्ब ३८ अर्ब ६ करोड अर्थात ९८ प्रतिशत रकम विभिन्न क्षेत्रमा प्रवाह गरेको र जसमध्ये सञ्चयकर्ता सापटीमा ५३ प्रतिशत, परियोजना कर्जामा १६ प्रतिशत, २३ प्रतिशत बैंक निक्षेपमा र अन्य क्षेत्रमा ८ प्रतिशत रकम प्रवाह गरिएको जानकारी दिए । 

कोषले आर्थिक वर्ष २०७५/०७६ मा ऋण तथा लगानीबाट कूल २९ अर्ब ५३ करोड आम्दानी गरेको छ । यसबाट सञ्चयकर्तालाई प्रदान गरिएको ब्याज तथा कोषको सञ्चालन खर्च कटाउँदा ३ अर्ब ७५ करोड खुद मुनाफा हुने देखिएको उनले बताए । मुनाफा रकमलाई सञ्चयकर्ताको सामाजिक सुरक्षा सुविधा तथा मुनाफा वितरणमा वितरण गरिने योजना रहेको छ । 

केवाईसि फारमको माध्यमबाट फोटो, दस्तखत र औंठाछाप सहितको विवरण बिद्युतीय माध्यमबाट संकलन गरी २ लाख ५० हजार भन्दा बढी सञ्चयकर्ताको विवरण अध्यावधी गरिसकिएको र यो अभियान चालू आर्थिक बर्षमा सम्पन्न गरिसक्ने लक्ष्य राखिएको छ । 

सञ्चयकर्तासँगको सवै प्रकारका कारोवारको जानकारी एसएमएसमार्फत प्रदान गर्न सुरु गरेको, नयाँ नियुक्त हुने कर्मचारीलाई राष्ट्रिय किताब खानाबाटै कोषको परिचयपत्र नम्बर प्रदान गर्ने प्रणालीको विकास गरिएको उनले बताए । 

लगानीलाई व्यवस्थित बनाउनका लागि कर्जा तथा लगानी नीति २०७५ कार्यान्वयनमा ल्याइएको र यसबाट लगानीको सुरक्षा तथा जोखिमको न्यूनीकरण, सञ्चयकर्तालाई उपयुक्त प्रतिफल, सामाजिक सुरक्षाको सुनिश्चतता, लगानीको विविधिकरण, राष्ट्रिय अर्थतन्त्रको विकासमा योगदान, पुँजीबजारको प्रवद्र्धन तथा वित्तीय बजारको स्थिरताको लागि योगदान पुग्ने गौतमले बताए । 

बैंकहरुको सहवित्तीयकरणमा सहभागी भई यो बर्ष दुईवटा ठूला परियोजनाहरुमा लगानी गर्ने निर्णय निर्णय गरेको लगानीका लागि केही परियोजनाहरु अध्ययनका क्रममा रहेको जानकारी दिए ।  पुँजीबजारका क्षेत्रमा कोषको लगानीलाई प्रवद्र्धन गर्न विगत एक वर्षको अवधिमा नेपाल बैंक लिमिटेड, धितोपत्र विनिमय बजार लिमिटेड लगायत ४ वटा कम्पनीको शेयरमा लगानी गरिएको र यसरी लगानी भएका कम्पनीको संख्या २० पुगेको छ । 

वित्तीय बजारमा तरलताको अभाव भइरहेको सन्र्दभमा कोषले विगतमा लगानी गरेको न्यून प्रतिफल र लामो अवधिको करिब १२ अर्ब ५० करोड रुपैयाँ बराबरको सरकारी ऋणपत्रहरुलाई दोश्रो बजारमार्फत बिक्री गरी सो रकमलाई लामो अवधिको मुद्धति निक्षेपमा लगानी गरिएको छ । यसबाट कोषको प्रतिफलमा बार्षिक ७५ करोड रुपैयाँ बृद्धि भएको गौतमले जानकारी दिए । 

यस्तै सञ्चयकोषले लगानीबाट प्राप्त कूल प्रतिफलमध्ये ९५ प्रतिशतभन्दा बढी रकम ब्याज, मुनाफा र सामाजिक सुरक्षा सुविधाको रुपमा सञ्चयकर्तालाई दिएको छ ।  आर्थिक वर्ष २०७४/७५ मा भएको ३ अर्ब ९४ करोड नाफामध्ये २ अर्ब ७६ करोड सञ्चयकर्तालाई वितरण गरेको छ । यस्तो मुनाफामध्ये आधा रकम सञ्चयकर्ताको  खातामा र बाँकी रकम बेतन कर्णाली हाइड्रो पावर कम्पनीमा सञ्चयकर्ताको नाममा शेयर लगानी गर्ने प्रयोजनका लागि अलग्गै कोषमा जम्मा गरिएको उनले बताए । 

यस्तै सामाजिक सुरक्षा कार्यक्रम अन्र्तगत कोषले नाफाबाट दायित्व व्यहोर्ने गरी चारवटा सामाजिक सुरक्षाका कार्यक्रमहरु सञ्चालन गर्दै आएको र ती कार्यक्रमहरु मार्फत आर्थिक वर्ष २०७५÷७६ मा २१ हजार सञ्चयकर्तालाई रु १९ करोड ९७ लाख सामाजिक सुरक्षा सुविधा वितरण गरिएको छ । 

सञ्चयकर्ता सामाजिक सुरक्षा कार्यक्रमलाई गत वर्ष पूनरावलोकन गरी काजक्रिया खर्चमा रु ३० हजारबाट बृद्धि गरी ४० हजार र दुर्घटना क्षतिपूर्तिको रकममा हालको १ लाख २५ हजार रुपैयाँबाट बृद्धि गरी २ लाख कायम गरिएको पनि प्रशासक तुलसी प्रसाद गौतमले जानकारी दिए । 

सञ्चयकर्ताको स्वास्थ्य सम्बन्धी समस्यालाई सम्बोधन गर्न कोषले नै बीमा प्रिमियम तिरिदिने गरी साधारण रोगको उपचारमा रु १ लाख र कडा रोगको उपचारमा रु १० विमाङ्क कायम गरी राष्ट्रिय बीमा कम्पनी लिमिटेडमार्फत बीमा गरिएको छ । 

सञ्चयकोषले भावी योजना अन्र्तगत सामाजिक सुरक्षा कोष अन्तर्गत सरकारी एवम् सार्वजनिक क्षेत्रको सञ्चय कोष, निवृत्तभरण कोष लगायत सबै प्रकारका सामाजिक सुरक्षाको व्यवस्थापन गर्दै जाने बताएको छ ।  कोषले सरकारी कर्मचारीलाई योगदानमा आधारित पेन्सन योजनाको औपचारिक रुपमा सुरुवात गरेको छ । अर्थमन्त्री युवराज खतिवडाले यो कार्यक्रमको औपचारिक रुपमा उद्घाटन गरेका छन् । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप