बुधबार, ०५ वैशाख २०८१
ताजा लोकप्रिय

मनमैंजु बलात्कार प्रकरण : कोठामा लगेर खाना खुवाएपछि बसभित्रै...

सोमबार, ३० भदौ २०७६, १८ : ०४
सोमबार, ३० भदौ २०७६

काठमाडौँ । सोमबार बिहान दुई बालिकामाथि यौनदुव्र्यवहार गरेको आरोपमा नेपालटार–रत्नपार्क चल्ने बसका एक सहचालक पक्राउ परेका छन् । 

पक्राउ पर्नेमा तारकेश्वर नगरपालिका–१० मनमैंजुस्थित शुभकामना चोक बस्ने भोजपुर हचुवागढी गाउँपालिका ३ का ३६ वर्षीय एल्जित राई रहेका छन् ।

बा४ख ८२ नम्बरको बसमा सहचालकको काम गर्दै आएका राईले बसभित्रै ११ वर्षीया बालिकालाई जबरजस्तीकरणी गर्नुका साथै १० वर्षीया बालिकालाई अनैतिक क्रियाकलाप गरेको अभियोगमा पक्राउ गरिएको महानगरीय प्रहरी वृत्त बालाजुका डीएसपी बालनर सिंह राणाले जानकारी दिए ।

राई २ बजे बिहान पक्राउ परेका हुन् । पक्राउ परेका राईमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

यस्तो थियो घटना ?

आइतबार साँझ ८ बजेतिर महानगरीय प्रहरी वृत्त महाराजगञ्जमा २ बालिका हराएको खबर आयो । लगत्तै महाराजगञ्ज वृत्तले सेटमार्फत ११ वर्षीया र १० वर्षीया बालिका हराएको खबर रिले गर्यो ।

ती बालिकाहरु टोखा बस्दै आएको प्रहरीले जनाएको छ । ती हराएका बालिकाहरुलाई खोज्न प्रहरी सक्रिय भएर लाग्यो ।

अन्ततः बालाजु वृत्तबाट खटिएका इन्सपेक्टर गम्भीरजंग थापाको टोलीले मनमैजुस्थित शुभकामना चोकबाट बिहान २ बजेतिर बालिकाको उद्धार गर्यो ।

बालिका फेला परेसँगै अनुसन्धानको क्रममा सहचालक राईले ११ वर्षीया बालिकालाई बसभित्र जबरजस्तीकरणी गरेको तथा उनकी साथी रामेछापकी अर्की १० वर्षीया बालिकालाई अनैतिक क्रियाकलाप गरेको खुल्न आएको छ ।

कोठामा लगेर खाना खुवाएपछि बसभित्रै जबरजस्तीकरणी

सहचालक राईले ११ वर्षीया बालिकालाई बसभित्रै जबरजस्तीकरणी गरेको प्रहरीले जनाएको छ । जबरजस्तीकरणीपछि सहचालक राईले ती दुई बालिकालाई कोठामा लगेर छाड्ने तयारी गर्दै थिए । सोही अवस्थामा उनलाई पक्राउ गरिएको इन्सपेक्टर थापाले बताए ।

बसका चालक हुन् मनिराम राई । मनिराम र एल्जित दाजुभाई रहेको प्रहरीको अनुसन्धानबाट खुल्न आएको छ । बालिकाहरु घुम्दै मनमैजुस्थित शुभकामना चोक पुगेको हुनसक्ने आशंका गरिएको प्रहरीले जनाएको छ ।

प्रहरीको अनुसन्धानमा ती २ बालिकालाई चालक मनिराम र सहचालक एल्जितले शुभकामना चोकमा करिब ९ बजेको समयमा देखेपछि बोलाएर ‘तिमीहरुको घर कता हो ?’ भनेर सोधेको पाइएको छ ।

११ वर्षीया बालिकाले ग्रिनल्यान्ड जानुपर्ने हो भनिन् । चालक मनिरामले राती भइसक्यो आज मेरै कोठातिर बस भोलि बिहानै पुर्याइदिन्छु भन्दै कोठामा लगेर खाना समेत खुवाएको प्रहरीको अनुसन्धानबाट खुल्न आएको छ । 

चारै जनाले खाना खाइसकेपछि सहचालक एल्जित बसमा सुत्न जान्छन् । एल्जित बसमा गएपछि ती दुई बालिका पनि बसमा नै सुत्न जान्छौं भन्दै गएको अनुसन्धानमा संलग्न एक प्रहरी अधिकृतले बताए ।

चालक मनिराम भने एक्लै कोठमा सुते ।

उनीहरु तीनजना बसमा पुग्दा रातीको १० बजेको थियो । बसभित्र गएर सहचालक एल्जित सुते भने ती बालिकाहरु एकछिन खेल्दै बसेको सहचालक एल्जितले प्रहरीसमक्ष बयान दिएका छन् ।

प्रहरी समक्ष एल्जितले उनीहरु पनि सुतिसकेपछि रातीको १ बजेतिर ११ वर्षीया बालिका सुतेको ठाउँमा गएर जबरजस्तीकरणी गरेको बताएका छन् । त्यसपछि १० वर्षीया बालिकालाई अनैतिक क्रियाकलाप गरेको बयान दिएका छन् ।

त्यसपछि राती नै उनीहरुलाई घरमा लगेर छाडिदिने तयारी गरिरहेको एल्जितले बताएका छन् ।

चालक मनिरामले घटनाबारे आफूलाई बिहान मात्र थाहा भएको बताएका छन् । प्रहरीले घटनाबारे भनेपछि थाहा पाएको उनको भनाई छ । यद्यपी मनिरामलाई भने प्रहरीले नियन्त्रणमा लिएको छैन ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

सुजन पन्त
सुजन पन्त

पन्त सुरक्षा/अपराध बिटमा रिपोर्टिङ गर्छन् ।

लेखकबाट थप