बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

बालयोगेश्वर महाराजको ‘पाखण्डी’ रुप: नगदजति कुम्ल्याउने, बाँकी आयोजकलाई छोड्ने !

सोमबार, ३० भदौ २०७६, १५ : ०२
सोमबार, ३० भदौ २०७६

बुटवल– विष्णु प्रपन्नचार्य र बालयोगेश्वर महाराजका उपनामले महायज्ञ सञ्चालन गर्दै आएका गुल्मी बस्तुका विजय भण्डारीले त्यस्ता महायज्ञमा सङ्कलन भएको नगद आफैले बोकेर हिँड्ने गरेको र घोषणा भएको उधारो रकम भने आयोजकलाई छाडेर जाने गरेको पाइएको छ ।

भण्डारीलाई अदालतले ठगी मुद्वामा पक्राउ गर्ने आदेश दिएपनि खुलेयाम महायज्ञ गर्दै र रकम कु्म्ल्याउँदै हिँडेका छन् । अझ रोचक के छ भने मन्त्रीदेखि उच्च तहका कर्मचारीहरु समेत उनी सहभागी कार्यक्रममा कुम जोडेर मञ्चमा सँगै बस्ने गरेका छन् ।

गुल्मीको एक विद्यालयबाट मात्रै ४८ लाख रुपैयाँ कुम्ल्याएको खुलासा भएको छ । गुल्मीदरवार गाउँपालिका वडानम्वर–४ वीरवासस्थित रुन्खदह माध्यामिक विद्यालयमा २०७५ चैत्र २३ गतेदेखि ३० सम्म भण्डारी प्रमुख बाचक रहेर महायज्ञ सञ्चालन गरिएको थियो ।  सो महायज्ञमा दाताहरुले सवा करोडभन्दा बढि रकम  घोषणा गरे ।

सङ्कलन भएको नगद रकममध्ये उनले ४८ लाख रुपैयाँ लगेको विद्यालय ब्यवस्थापन समितिका  अध्यक्ष ठाकुरप्रसाद शर्माले बताए । ‘५० लाखसम्म मात्रै रकम उठे उनले नलैजाने सहमति भएको थियो’,उनले भने, ‘त्योभन्दा बढि उठे प्रतिशतको आधारमा लैजाने सहमति अनुसार उहाँलाई ४८ लाख रुपैयाँ दिइएको हो ।’


त्यस्तै, पलुखा माध्यामिक विद्यालयमा २०७५ असोज ३० सम्म सञ्चालन भएकोे महायज्ञमा उनले ल्याएको टेन्टको ५ लाख, कलाकारहरुका नाममा ९ लाख र उनी स्यवमका लागि २ लाख ७० हजार दिइएको  प्रधानाध्यापक बाबुराम कुँवरले बताए । 

त्यस्तै, गुल्मीकै मुसिकोट नगरपालिका १ अरेवास्थित जनज्योति माध्यामिक विद्यालयलयले  फागुन पहिलो साता आयोजना गरेको महायज्ञमा  योगेश्वर महाराजले नगद सङ्कलन भएको करिव २५ लाख मध्येबाट ११ लाख लगेको विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष भुपेन्द्र रायमाझीले जानकारी दिए ।

‘चन्दा रकम घोषणा १ करोड २० लाख जति भएको हो’, रायमाझीले भने, ‘त्यसमध्ये करिव २५ लाख नगदै सङकलन भएकोमध्ये ११ लाख रुपैयाँ गुरुले लैजानुभयो । घोषणा  भएकोमध्ये ४० प्रतिशत रकम अझै प्राप्त भएको छैन’ रायमाझीको भनाई छ । 

बुटवलमा पनि उस्तै पारा 

बुटवल उपमहानगरपालिका वडा नम्बर ११ प्रगतिनगरमा गत बैशाखमा श्रीमद् भागवत शैक्षिक तथा धार्मिक महामहोत्सव चल्यो ।  बैशाख २१ गतेदखि २९ गते सम्म चलेको महामहोत्सवमा प्रमुख बाचक बनेका भण्डारी त्यसवेला ९ दिन बुटवलमा बसे । बस्ने खाने राम्रो व्यावस्थासँगै जाने बेलामा ११ लाख रुपैयाँ पनि आयोजक संस्थाले हातमा राखिदियो ।

प्रगति निमाविको स्तरउन्नतीका लागि महायज्ञ आयोजना गरिएको थियो ।  महायज्ञ मुल समारोह समितिका संयोजक जितबहादुर मल्लका अनुसार घोषणा भएको १ करोड ९७ लाख रुपैयाँमध्ये ७३ लाख रुपैयाँ उठेको थियो । ‘त्यो ७३ लाख पनि चेक र नगद हो । जसमध्येबाट हामीले गूरुलाई झन्डै ११ लाख दिनु परेको थियो’ मल्लले भने । गुल्मी र बुटवलमा मात्रै होइन उनले स्याङ्गजाको पुतलीबजारको मनकामना माविमा पनि यस्तै गरेका थिए । 

भ्रम छरेर ब्रह्मलुटः सरोकारवाला
नेपाल पञ्चाङ्घ निर्णयक समितिले ‘भदौ २८ गतेदेखि असोज ११ गतेसम्म शुक्रअस्त भएकाले यस अवधिमा कुनै पनि देउकार्य चल्दैन र पितृमोक्ष पनि हुँदैन भ्रममा नपर्नुहोस्’  भनेर विज्ञप्ति निकाले पनि  काठमाडौंको गोकर्ण र रिडीको महायज्ञ सञ्चालन गरिएकोप्रति आपत्ति जनाएको छ । समितिका अध्यक्ष प्राध्यापक डाक्टर रामचन्द्र गौतमले यी दुईवटा धार्मिक कार्यलाई भ्रमको खेती गरेको तथा  ब्रह्मलुटको संज्ञा दिए ।

उनले भने, ‘भदौ २८ गतेदेखि असोज ११ गतेसम्म शुक्र अस्ताएका छन् । यो अवधिमा कुनै पनि पुजापाठ गर्नु राम्रो हुदैन ।  यो बेलामा पितृमोक्ष गरिदिन्छौं भनेर जनतामा भ्रम छरेर व्रम्हालुट गर्न खोजिँदैछ । तिनीहरु हाम्रो धर्म संस्कृति विरोधीहरु हुन् । यस्ता कार्य रोकिनुपर्दछ ।’ उनले यी दुवै स्थानका गुरुहरुलाई पाखण्डीको संज्ञा समेत दिए ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

तेजेन्द्र के.सी.
तेजेन्द्र के.सी.

केसी रातोपाटीका प्रदेश नम्बर ५ का संयोजक हुन् । 

लेखकबाट थप