मङ्गलबार, ०४ वैशाख २०८१
ताजा लोकप्रिय

बेलायती प्रधानमन्त्री र युरोपियन युनियन प्रमुखबीच भेट हुँदै

सोमबार, ३० भदौ २०७६, १४ : १५
सोमबार, ३० भदौ २०७६

एजेन्सी– बेलायत युरोपियन युनियनबाट बाहिरिने विषयमा छलफल गर्न बेलायती प्रधानमन्त्री बोरिस जोनसनले सोमबार युरोपियन युनियनका अध्यक्षसँग भेटवार्ता गर्नुहुने बताइएको छ ।  ब्रेक्जिटका विषयमा आफू प्रधानमन्त्री भएपछि जारी राखेको अभियानको पछिल्लो प्रयासस्वरुप उनले सोमबार यो महत्वपूर्ण भेटवार्ता गर्न लाग्नुभएको बेलायती सञ्चारमाध्यमहरुले जनाएका छन् । 

उनले युरोपेली आयोगका अध्यक्ष जिन क्लाउड जंकरसँग सोमबार भेटगरी ब्रेक्जिटका विषयमा आवश्यक परामर्श गर्न लाग्नुभएको जानकारी समाचारमा दिइएको छ ।  सोमबारको दिवाभोजसँगै उनीहरु भेटघाट गर्ने कार्यक्रम रहेको बताइएको छ । त्यस भेटलाई बेलायतको पछिल्लो राजनीतिक एजेन्डाको लागि एक महत्वपूर्ण भेट भनिएको छ । 

उक्त भेटमा आफूहरुले के कसरी काम गरिरहेका छौँ र आगामी दिनमा त्यसले के कस्तो परिणाम दिन सक्छ भन्ने बारेमा बेलायतका प्रधानमन्त्री जोनसनले अध्यक्ष जंगरलाई जानकारी दिने प्रधानमन्त्री जोनसनले हालै बताएका थिए ।

प्रधानमन्त्री जोनसनले केही दिनअघि एक सार्वजनिक कार्यक्रमलाई सम्बोधन गर्दै भनेका थिए, ‘म यस काममा आशावादी छु, मलाई लाग्छ बेलायत युरोपियन युनियनबाट बाहिरिने छ, हामीले तय गरेको समय आगामी अक्टोबर ३१ सम्ममा हामी बाहिरिने नै छौँ ।’

सो सम्बोधनमा उनले भनेका थिए, ‘जेजस्तो भएपनि हामीले तय गरेको सन् २०१९ को अक्टोबर ३१ सम्ममा हामी युरोपियन युनियनबाट बाहिरिने नै छौँ ।’ उता युरोयिन युनियनको संसदले आगामी हप्ता यस विषयमा मतदान गर्ने भएको छ । संसदले बेलायती प्रधानमन्त्री जोनसनको मागको विपक्षमा अर्थात बेलायत युरोपियन युनियनबाट बाहिरिनु हुँदैन भन्ने पक्षमा मतदान गर्ने भएको बताइएको छ ।

उता प्रधानमन्त्री जोनसनले पनि हाउस अफ कमन्सबाट आफ्नो मतको पक्षमा जनमत लिन सक्नुपर्ने छ । जुन कुरा पनि प्रधानमन्त्रीलाई गाह्रो पर्नसक्ने देखिन्छ । किनभने बेलायतको संसदमा विपक्षी दल बे्रक्जिटको विपक्षमा रहेको छ ।
  
तर पछिल्लो समयका युरोपका सञ्चारमाध्यमहरुले प्रधानमन्त्री जोनसनलाई बेलायत युरोपियन युनियनबाट बाहिरिने काम पूरा गर्न निकै कठिन पर्ने सक्ने विश्लेषण गरिरहेका छन् । –सिन्ह्वा/photo: news.sky.com

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप