शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

संसदीय समितिलाई सभामुखको निर्देशन : सरकारका काम नियन्त्रण हुनेगरी कुनै गतिविधि नगर्नु

सोमबार, ३० भदौ २०७६, १४ : १२
सोमबार, ३० भदौ २०७६

काठमाडौँ । प्रतिनिधिसभाका सभामुख कृष्णबहादुर महराले सरकारको कामलाई नियन्त्रण हुनेगरी कुनै पनि गतिविधि नगर्न संसदीय समितिहरुलाई सचेत गराएका छन् ।

सभामुख महराले संसदीय समितिले सरकारको कामको नियन्त्रण नभइ निगरानी मात्रै राख्ने भएको पनि स्पष्ट पारे ।

संघीय संसद सचिवालयले सोमबार संसद भवन, नयाँबानेश्वरमा आयोजना गरेको संसदीय अभ्याससम्बन्धि अन्तरक्रियामा उनले संसदीय समितिहरुले अप्ठयारोमा पार्ने गर्ने गरेको गुनासो प्रधानमन्त्री केपी शर्मा ओलीले आफूलाई भनेको स्मरण गराउँदै त्यसो नगर्न सांसद र संसदीय समितिहरुको गम्भीर ध्यानाकर्षण गराएका हुन् ।

‘मलाई प्रधानमन्त्री आफैले संसदीय समितिहरुले अप्ठयारोमा पार्न थाले भनेर भनिरहनुभएको छ,’ सभामुख महराले प्रधानमन्त्रीसँग भएको कुराबारे स्पष्ट पार्दै भने, ‘तर आफूले समितिका सभापतिहरुसँग बसेर कुरा गरौँ न भन्दा तपाईं आफैले कुरा गर्नुस् भन्नुभयो ।’

सभामुख महराले संसदीय समितिहरुले सरकारलाई  नियन्त्रण गर्ने नभइ निगरानी राख्ने मुख्य दायित्व भएको उल्लेख गर्दै सरकारलाई ठीक ट्रयाकमा लैजान संविधान, नियम र कानुन अनुसार आवश्यक सुझाव र सल्लाह दिने काम गर्नुपर्ने स्पष्ट पारे ।

सभामुख महराले मन्त्रीहरुसँगको प्रश्नोत्तर कार्यक्रमलाई निरन्तरता दिइएको भएपनि प्रधानमन्त्रीको स्वास्थ्यका कारण उनीसँगको प्रश्नोत्तर कार्यक्रमलाई भने निरन्तरता दिन नसकिएको पनि स्पष्टिकरण दिए ।

उनले संविधानको अध्ययन गरेर सो अनुसार कानुन, ऐन, निर्देशिका निर्माण भए/नभएको कडा निगरानी राख्न पनि सांसदहरुलाई कडा निर्देशन दिए ।

कार्यक्रममा बोल्दै प्रतिनिधिसभाकी उपसभामुख डा. शिवमाया तुम्बाहाङ्फे र राष्ट्रियसभाकी उपाध्यक्ष शशीकला दाहालले संसदलाई प्रभावकारी ढंगले अघि बढाउने गरी संसदमा प्रस्तुत हुन सांसदहरुको ध्यानाकर्षण गराएका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप