बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

भारतको गोदावरी नदीमा ६१ जना सवार डुङ्गा डुब्यो, ११ को मृत्यु

सोमबार, ३० भदौ २०७६, ०८ : ०८
सोमबार, ३० भदौ २०७६

वी शंकर, बीबीसी तेलुगू

आन्ध्र प्रदेशको पूर्वी गोदावरी जिल्लामा भएको एक डुङ्गा दुर्घटनामा कम्तिमा ११ जनाको मृत्यु भएको छ ।

राज्यको प्रकोप व्यवस्थापन विभागले डुबेको डङ्गामा ६१ जना सवार भएको जसमध्ये धेरैजसो पर्यटक भएको जानकारी दिएको छ ।  

पूर्वी गोदावरी जिल्लाको देवीपट्टनम मण्डलको कच्चालुरु गाउँमा यो दुर्घटना आइतबार दिउँसो भएको हो । डुङ्गामा सवार ६१ मध्ये ५० पर्यटक थिए बाँकी कर्मचारी थिए ।

दुर्घटनाका बेला यी मानिसहरु गोदावरी नजिकै पापीकोंडालु पहाडमा घुम्नका लागि जाँदै थिए ।

डुङ्गामा सवार २० जना सुरक्षा ज्याकेट (लाइफ ज्याकेट) लगाएर स्थानीयको मद्दतमा किनारासम्म पुग्न सफल भए ।

पूर्वी गोदावरी जिल्लाका पुलिस सुप्रिटेन्डेन्ट नईम हाशमीले अहिलेसम्म तीनजनाको शव भेटिएको जानकारी दिएका छन् ।

नेशनल डिजास्टर रेस्पोन्स फोर्स (एनडीआरएफ) को ३०–३० सदस्य भएको दुई समूह राहत र उद्दारकार्यमा जुटेका छन् ।

आन्ध्र प्रदेशका मुख्यमन्त्री वाइएस जगन मोहन रेड्डीले प्रभावित परिवारलाई जनही १० लाख भारुको मद्दत दिने घोषणा गरेका छन् ।

उनले यसबाहेक अधिकारीलाई उद्दार कार्यमा नेवी र ओएनजीसीको हेलिकोप्टरको मद्दत लिनका लागि पनि भनेका छन् ।

तेलंगानाको वारंगल जिल्लाका एक युवकले उनीसँग गएको १४ जनाको समूहमा ९ जना अहिले पनि हराइरहेको जानकारी दिए ।

पूर्व मुख्यमन्त्री एन चन्द्रबाबू नायडूले उक्त घटनापछि आफू स्तब्ध भएको र प्रशासनलाई उद्दारकार्यमा तीब्र गती लिन अपिल गरेका छन् ।

जनसेना पार्टीका प्रमुख पवन कल्याणले आफ्नो पार्टीका कार्यकर्तासँग घटनास्थलमा चाँडै नै पुगेर पीडितको मद्दत गर्न भनेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप