बिहीबार, ०६ वैशाख २०८१
ताजा लोकप्रिय

रुपन्देही गोलीकाण्ड: श्रीमतीसहित हिँडिरहेका कुर्मीको यसरी भएको थियो हत्या (अपडेट)

आइतबार, २९ भदौ २०७६, १९ : ४२
आइतबार, २९ भदौ २०७६

बुटवल– रुपन्देहीस्थित रोहिणी गाउँपालिका ३ बैकुण्ठपुरमा दिनदहाडै गोली चलेको  बिषयलाई लिएर  प्रहरीले ठाउँ–ठाउँमा चेकजाँच सुरु गरेको छ । आज दिउँसो बजारमै अज्ञात समूहले गोली प्रहार गरी ओमसतिया ५ पट्खौलीका करिब ३५ वर्षीय महेन्द्र कुर्मीको हत्या गरेपछि प्रहरीले सुरक्षा कडाई गरेको हो ।

कुर्मी भैरहवाको हिमालय बैंकबाट रकम निकालेर घर फर्किँदै गरेका थिए ।  हिमालय बैंकबाट ५ लाख रुपैयाँ झिकेर घरतर्फ जाँदै गर्दा  बीच बाटोमा नचिनेका दुई जनाको समूहले गोली प्रहार गरि उनको हत्या गरेका थिए । श्रीमतीसहित मोटरसाईलमा हिँडेका उनको दिउँसै गोली हानी हत्या भएपनि प्रहरीले अहिलेसम्म कसैलाई  नियन्त्राणमा लिएको छैन् । शान्ति सुरक्षा कमजोर भएको भन्दै स्थानीयवासीहरुले नाराबाजी समेत गरेका छन् । स्थानीय राजनीतिक दलहरुले पनि हत्यारा पत्ता लगाउन माग गरेका छन् । 

यसरी हुँदैछ गोलीकाण्डको अनुसन्धान 

रुपन्देहीका प्रहरी प्रवक्ता डिएसपी वीरेन्द्रबहादुर शाहीका अनुसार मोटरसाईकलमा आएका हत्याराहरु गोली प्रहार गरि भागेका हुन् । जिल्लाका विभिन्न स्थान र भारतीय सीमामा पनि गहन चेकजाँच गरि उनीहरुको खोजी कार्य तिव्र पारिएको छ । प्रहरी निरीक्षकको  नेतृत्वमा  अनुसन्धान टोली गठन गरेर त्यो क्षेत्रको सिसीटिभी फुटेज समेत हेर्ने काम भइसकेको छ ।   

रुपन्देहीमा मानिसहरुको हुलिया प्रायः तराई मुलको जस्तो देखिने भएकोले अझै भारतीय तथा नेपाली कताको समूहले गोली प्रहार गरेको पत्ता लगाउन सकिएको छैन । हत्यारा पत्ता लगाउन प्रहरी निरीक्षकको नेतृत्वमा टोली गठन गरेपनि प्रहरी प्रमुख हृदय थापा, डिएसपी शाही  लगायत जिल्लाको सम्पूर्ण प्रहरी टोली खटिरहेको छ ।

यसरी भएको थियो हत्या  

दिउँसो हिमालय बैंकबाट ५ लाख रुपैयाँ निकालेर कुर्मी दम्पती रोहणी ३ स्थित आफ्नो घर जान भनी लु९प ८२३५ नम्बरको मोटरसाईकलमा जाँदै थिए । फर्किँदै गर्दा दुई जनाले श्रीमानको कमिज समाएर तानेर लडाएको मृतककी श्रीमती विजयलक्ष्मी कुर्मीले बताइन् । उनले मुखमा कपडा बेरेर आएका २ जनाले गोली प्रहार गरेको बताइन् । उनीहरुले बैंकबाट निकालेको पाँच लाख रुपैयाँ पनि लुटेर हिँडे । उनीहरु चढेर आएको मोटरसाइकलको नम्बर भने खुलेको छैन् ।   

विजयलक्ष्मीले यसअघि बालापुर बस्ने पप्पु भन्नेले श्रीमानलाई मार्ने धम्की दिने गरेको बताइन् । उनले हत्याको आरोप पप्पुलाई लगाएकी छिन् । यद्यपि, यसबारे प्रहरीले अहिले नै केही बताएको छैन ।  दिन दहाडै भएको हत्याले रुपन्देही प्रहरीको सुरक्षा स्थितिको पोल खोलेको स्थानीय अगुवाहरुको भनाई छ ।

आक्रोशित स्थानीय तथा मृतकका आफन्तले शव उठाउन नदिँदा केहीबेर स्थिति तनावग्रस्त समेत बनेको थियो । स्थानीय राजनैतिक दलले अहिलेको सुरक्षा व्यवस्थामाथि प्रश्न उठाउँदै तत्काल हत्यारा पक्राउ गर्न माग गरेका छन् । राजपा, समाजवादी पार्टी लगायतले प्रेस विज्ञप्ति जारी गर्दै २४ घण्टाभित्र हत्यारा नसमातिए आन्दोलनको चेतावनी समेत दिएका छन् । प्रहरीले भने अनुसन्धान भइरहेको र छिट्टै हत्यारा पक्राउ पर्ने दावी गरेको छ  ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप