शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

राष्ट्रिय बाल दिवस : बालबालिकामाथि बलात्कार र यौन दुर्व्यवहारका घटनामा वृद्धि

२०७५\७६ मा २३४ जना बालिका बलात्कृत, अधिकांश आफन्तबाटै
आइतबार, २९ भदौ २०७६, १७ : ३९
आइतबार, २९ भदौ २०७६

काठमाडौँ । आज राष्ट्रिय बाल दिवस । सरकारले विभिन्न कार्यक्रम गरि यो दिवस मनाउँदै छ । यस बर्ष ‘सुनिश्चित बाल अधिकार—समृृद्ध नेपालको आधार’ भन्ने नाराका साथ बाल दिवस मनाइँदैछ ।

बालबालिकाको क्षेत्रमा काम गर्ने सरकारी तथा गैरसरकारी संस्थालाई दिवसका दिन भ्याइ–नभ्याई नै हुने गरेको छ । तर बालबालिकामाथि हुने विभिन्न घटना तथा हिंसामा भने कुनै कमी आउन सकेको छैन । सरकारले अहिलेसम्म बालबालिकाको क्षेत्रम कुनै पनि खास अध्ययन अनुसन्धान गरेको पाईदैन । बरु उसले प्रत्येक वर्ष सार्वजनिक सञ्चार माध्ययममा आएका घटना समेटेर सार्वजनिक गर्दै आइरहेको छ । सरकारी तथ्याङ्कभन्दा धेरै घटना भने अझै समाजबाट बाहिर आउन सकेका छैनन् । तर पनि सार्वजनिक भएका तथ्याङ्कलाई हेर्दा चिन्ताजनक अवस्था रहेको पाइन्छ ।

राष्ट्रिय बालअधिकार परिषद्ले सार्वजनिक गरेको २०७५\७६ को हिंसामा परेका बालबालिकाको तथ्याङकमा ६५४ वटा विभिन्न घटनामा एकहजार ८० जना बालबालिका प्रभावित भएका छन् । परिषद्को रिपोर्टमा विभिन्न सञ्चारमाध्यमबाट प्रकाशित बालबालिकासम्बन्धी घटनाहरुलाई आधार मानिएको छ । जसमा बालश्रम, बलात्कार, मृत्यु, बाल विवाह, हत्या, बेचविखन तथा ओसारप्रसार, कुपोषण, गर्भपतन, आत्महत्या, अपहरण र शारीरिक सजायका घटना उल्लेख छन् ।

यौन दुर्व्यहारका घटना धेरै

२०७५\७६ मा बालबालिकामाथि सबैभन्दा धेरै यौन दुर्व्यवहार तथा बलात्कारका घटना भएका छन् ।

जसमध्ये २५२ जना बालबालिकामा यौन दुर्व्यवहार भएको छ । त्यसमध्ये २३४ अर्थात् ९३ प्रतिशत बालिकामाथि बलात्कार भएको तथ्याङ्कमा छ । १८ जना बालकमाथि यौन दुर्व्यवहार भएको छ । बलात्कारको घटनामा पर्ने बालिकाको उमेर समूह हेर्दा ९ महिनाका पनि परेका छन् । ११ वर्ष देखि १८ वर्ष उमेरका १६१ जना (६९ प्रतिशत), ६ देखि १० वर्ष उमेरका ४८ जना (२० प्रतिशत) तथा ५ वर्षभन्दा मुनिका २५ जना (११ प्रतिशत) बालिका बलात्कृत भएका छन् । यी घट्ना ४२ जिल्लामा भएका हुन् ।

यस्तै २०७५\७६ मा २४१ (२२ प्रतिशत) मृत्यू, १९६ बालविवाह (१८ प्रतिशत), बाल श्रम ११२ (१० प्रतिशत) बेचविखन तथा ओसार पसार ९६ जना (९ प्रतिशत ), हत्या ६५ जना (६ प्रतिशत), कुपोषण ३८ जना (४ प्रतिशत), शारीरिक सजाय ३७ जना (४ प्रतिशत) अपहरण १२ जना (२ प्रतिशत) र गर्भपतन ४ जना (१ प्रतिशत) रहेका छन् ।

१२ जनाको अपहरण, ५ को हत्या  

यस अवधिमा १२ वर्ष जना बालबालिका अपहरण परेका छन् । अपहरण गरिएका १२ मध्ये ५ जनाको अपहरणपछि हत्या र ५ जनाको अपहरणपछि उद्धार गरिएको छ ।

अन्य २ जना बालबालिकाको अवस्थाबारे अहिलेसम्म कुनै जानकारी छैन । ६ जना फिरौती, ४ जना पारिवारिक रिसिबीको बदला र अन्य २ जना बालिकाले कानमा लगाएको सुनको मुन्द्रा लिन अपहरण गरिएको पाइएको छ । अपहरणमा पर्नेमध्ये २ जना बालिका र १० जना बालक छन् ।

यस्तै आर्थिक वर्ष ०७५,०७६ मा २१ जना बालिका र ६ जना बालक गरी २७ जनाले आत्महत्या गरेका छन् । आत्महत्या गर्नेमा १० देखि १८ वर्ष उमेर समुहका छन् । यिमध्ये १६ जनाले घरायसी झगडा ,५ जनाले विषादी सेवन र ६ जनाले प्रेम सम्बन्धका कारण आत्महत्या गरेको राष्ट्रिय बालअधिकार परिषद्को रिर्पाेटमा उल्लेख छ । परिषद्का अनुसार यो वर्ष बालबालिकामाथि ३७ वटा शारीरिक सजायका घटना बाहिरिएका छन् ।

२४१ को मृत्यु

आ .व २०७५\७६ मा  विभिन्न कारणले २४१ जना बालबालिकाको मृत्यू भएको छ । विषालु च्याउ,निगुरो खाएर, आगलागी, चट्याङ, अस्पतालको लापरवाही, दूर्घटना ,नदि,पोखरीमा डुबेर वा बगेर, बाढीपहिरो खाल्डोमा परेर, करेन्ट र सर्पको टोकाईबाट यि बालबालिकाको निधन भएको छ ।

सरकारले बालविवाह अन्त्यका लागि राष्ट्रिय रणनीति २०७२ लागू गरेपनि बालविवाह कम भएको देखिँदैन ।  २०७५\७६ मा १९६ जना बालबालिकाले १८ वर्ष भन्दा कम उमेरमै विवाह गरेको देखिन्छ ।

त्यस्तै बाल श्रम ऐन २०५६ ले बालबालिकालाई जोखिमपूर्ण काममा लगाउने निषेध अर्थात १४ वर्ष उमेर नपुगेका बालबालिकालाई कुनै पनि काममा लगाउन नहुने व्यवस्था गरेपनि ११२ जना बालबालिकालाई यस्तो काममा लगाएको पाइएको छ ।

खासै प्रगति गर्न सकेनौँ

राष्ट्रिय बाल अधिकार परिषद्का प्रवक्ता रामबहादुर चन्दले बालबालिकामा माथि हुने विभिन्न घटनामा कमि आउन नसकेको स्वीकारे । उनले अघिल्लो १०, १५ वटा घटना तलमाथि भएपनि त्यसैलाई कमी  भन्न नमिल्ने भन्दै सरकारले बालबालिकाको क्षेत्रमा उल्लेख्य प्रगती गर्न नसकेको बताए ।

‘बालबालिकाको स्वास्थ्य शिक्षा ,जस्ता विषयमा सफलता प्राप्त गरेपनि बालविवाह, बलात्कारजस्ता घटनामा कमि आएको छैन’प्रवक्ता चन्दले रातोपाटीलाई बताए । अचम्मको कुरा त के छ भने सरकारले अहिलेसम्म नेपालका बालबालिकाको अवस्था के छ ? भनेर कुनै पनि अध्ययन र अनुसन्धान गरेको पाईदैन । जसले गर्दा संचारमाध्ययममा आएका घटना र प्रहरीमा दर्ता भएका केसका आधारमा बालबालिकाको अवस्था सार्वजनिक गर्दै आएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

अञ्जु तामाङ
अञ्जु तामाङ

 तामाङ रातोपाटीका लागि स्वास्थ्यसँग सम्बन्धित समाचार लेख्छिन् ।

लेखकबाट थप