शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

एनआरएनए युकेको निर्वाचन विवादमा, अनियमितता र धाँधलीको आरोप-प्रत्यारोप

आइतबार, २९ भदौ २०७६, १७ : २५
आइतबार, २९ भदौ २०७६

लण्डन– गैरआवासीय नेपाली संघ (एनआरएनए) युकेको शनिवार सम्पन्न निर्वाचनमा विवाद देखिएको छ । वर्तमान कार्यसमितिका दुइ उपाध्यक्ष्यहरु शेरबहादुर सुनार र पुनम गुरुङ दुबैले  छुट्टाछुट्टै प्यानल  बनाएर चुनाब मनोनयन गरे देखिनै विवाद सुरु भएको थियो । एनआरएनको विधानअनुसार प्यानल बनाएर चुनाव लड्न पाइँदैन ।

शनिबार बिहान ८ बजेदेखि बेलुकी ८ बजेसम्म भएको नयाँ कार्य समितिको मतदान पश्चात तीव्र विवाद उत्पन्न भएको छ। दुवै पक्षले एक अर्काविरुद्ध धाँधली गरेको आरोप लगाएपछि मतगणना कार्य अनिश्चित भएको छ। यो समाचार तयार पार्दासम्म मतगणना शुरु भएको छैन ।

एनआरएनए युकेको निर्वाचन समितिले आइतबार बिहान करिब  ३ बजे एक पत्रकार सम्मेलन गर्दै बेजिगंस्टक, ह्यारो र रेडिगंको मतदान केन्द्रमा भएको मतदान स्थगित गर्न माग गर्दै निवेदन आएकाले मतगणना स्थागित गरिएको जनाएको छ । पत्रकार सम्मेलनमा सबै निर्वाचन क्षेत्रमा मतदान शान्तिपूर्ण सम्पन्न भएपनि तीनवटा मतदान केन्द्रमा उजुरी परेको र त्यसमा सहमति भएपछि मात्र मतगणना गरिने जानकारी प्रमुख निर्वाचन आयुक्तले गराए । बेजिंगस्टोक मतदान केन्द्रमा एक पक्षीय रुपमा मतदान गरिएको भन्दै शेर सुनार समूहका मतदान प्रतिनिधि मुचुल्कामा हस्ताक्षर नगरिकनै बाहिरिएका थिए ।

शनिबार राति करिब १० बजेतिर मत गणना गरिने स्थान अल्डरशटस्थित एम्पायर हलमा बेजिंगस्टोकमा खटिएका निर्वाचन समितिका प्रतिनिधि नरेश खपांगीले  मतपेटिकाहरु बुझाउन ल्याउँदा शेर सुनार समूहले विरोध जनाएको थियो। त्यसपछि दुवै समूहबीच भिडन्तको स्थिति समेत देखिएको थियो ।अल्डरशटस्थित एम्पायर हलमा ब्रिटिश पुलिस र उम्मेदवार तथा समर्थकहरुबीच केहि समय घम्साघम्सी समेत परेको थियो । अहिले अल्डरशट तनाबग्रस्त रहेको र व्यापक रुपमा ब्रिटिश पुलिस परिचालीत भएको  बुझिएको छ ।

शनिबार रातिनै अध्यक्षका उम्मेदवार शेर सुनार स्वयं तथा एनआरएन युकेको उपाध्यक्षमा नर्दर्न  आयरल्यान्डबाट निर्विरोध निर्वाचित कानुनविद नारायण कँडेलले निर्वाचन समितिसँग वार्ता गरेका थिए । तर वार्ता बिना निश्कर्ष टुंगिएको बुझिएको छ । अध्यक्ष पदकि अर्की उम्मेदवार पुनम गुरुङको गृह क्षेत्र रहेको बेजिंगस्टोक मतदान केन्द्रमा बिहानैदेखि एकलौटी गर्ने प्रयास गरिएको शेर सुनार समूहले आरोप लगाएको छ।

यसअघि ११ वटा बुथ केन्द्रहरूमा  शनिबार राति ८ बजे मतदान सकिएको निर्वाचन समितिले जनाएको थियो । ढिलो गरी मतदान शुरु भएको स्कटल्याण्डका २ ओटा मतदान केन्द्रहरुमा भने राति अबेर सम्म मतदानको समय बढाइएको थियो  । झन्डै साढे १३ हजार मतदाता रहेको युकेमा निर्वाचन समितिले १३ ओटा मतदान केन्द्रहरु तोकेको थियो। कतिपय केन्द्रमा बिहान मतदान शुरु हुनासाथै पासपोर्टसँगै यूटीलिटि बिल पनि देखाउनुपर्ने भनेपछि कैयौं मतदाताहरु फर्किएका थिए । पछि निर्वाचन समितिले पासपोर्ट लगायतका फोटो आइडि हेरेर मतदान गर्न दिने नियम ल्याएको थियो।

त्यसैगरी पुनम गुरुङ समूहका प्रतिनिधिले साउथ ह्यारो मतदान केन्द्रमा चुनाव सकिएपछि मुचुल्कामा सही गर्न अस्वीकार गरेका थिए ।  शेर सुनार समूहको पकड रहेको ठानिने उक्त केन्द्रमा पुनम गुरुङ समूहका प्रतिनिधिले आफुहरुप्रति भेदभाव गरिएको भन्दै  मुचुल्कामा सही गर्न अस्वीकार गरेको निर्वाचन गराउन खटेका एक स्वयंसेवकले बताए । बेजिंगस्टोकको अनियमिततालाई ढाकछोप गर्न पूनम समूहले  साउथ ह्यारोमा मतदान पछि मुचुल्कामा सही गर्न अस्वीकार गरेको हुन सक्ने शेर सुनार पक्श्यको आरोप छ ।

त्यसो त कतिपय ठाउँ हरुमा मतदान  शान्त र सौहाद्रपूर्ण बाताबरणमा भएको थियो । वूल्विचको स्थानीय मल्ग्रुव स्कुलमा सम्पन्न निर्वाचनको अन्तमा दुवै पक्ष्यका प्रतिनिधि, पर्यबेक्षक र पत्रकारहरु समेतको रोहबरमा निर्वाचन आयुक्त कर्ण शाहीले मुचुल्का उठाएका थिए । साथै दुवै पक्ष्यका प्रतिनिधिहरु र निर्वाचन अधिकृत लाइ एउतै गाडीमा राखेर  शिलबन्दी गरिएका मतपत्र  बाकस सहित शान्तपूर्वक  अल्डरशट लागिएको थियो ।
पूर्व केन्द्रीय अध्यक्ष घले अझै लण्डनमा

यसैबीच एक सातादेखि आफ्नी श्रीमती जमुना घलेसहित  बेलायतमै रहेका संघका पूर्वअध्यक्ष  शेष घलेले शनिवार दुवै पक्ष्यका प्रतिनिधि मतदान केन्द्रमा गइ मतदान प्रक्रियाको अवलोकन गरेका थिए। घले दम्पति संगै एनआरएनएका केन्द्रिय उपाध्यक्ष कुल आचार्य र अमेरिकाज् क्षेत्रका क्षेत्रीय संयोजक गौरी जोशी पनि अल्डरशट पुगेका थिए।

निर्वाचन समितिका अनुसार  निर्वाचनका लागि करिब १ सय भन्दा बढी निर्वाचन अधिकृत, पर्यवेक्षक तथा स्वयंसेवक खटाइएको बताइएको छ । तर निर्वाचन समितिले कति मत खस्यो भन्ने समेत विवरण दिन सकेको छैन । एक सयभन्दा बढी उम्मेदवार मैदानमा छन् ।

विश्वको सबैभन्दा बढी सदस्य भएको एन आर एन युके प्रति अहिले विश्वभरकै एनआरएनहरुको चासो रहेको छ ।  बिगत केहि वर्षअघि पनि २ चिरामा विभाजित भएपछि आलोपालोको रुपमा १–१ वर्षा कार्यकाल चलाएका एनआरएन युके कार्यसमितिको सम्पन्न निर्वाचन विवादका कारण पुरानै परिपाटी दोहोरिने कतिपय अभियन्ता र विश्लेषकहरुको अनुमान छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप