केन्द्रीय संस्करण

स्याउ उत्पादक कृषकलाई बजार अभाव

person explore access_timeभदौ २९, २०७६ chat_bubble_outline0
file photo

दार्चुला– अपी हिमाल गाउँपालिका–३ का कपुरसिंह धामीको बारीमा यति बेला लटरम्म स्याउ फलेका छन् । बारीभरि फलेका स्याउले जो कोहीलाई सजिलै लोभ्याउँछ पनि । लामो समयदेखि स्याउ खेतीमा लागेका धामीले गत वर्ष प्रधानमन्त्री आधुनिकीकरण परियोजना स्याउ ‘जोन’ कार्यक्रमअन्तर्गत थप स्याउ लगाए । अहिले उनको बारीमा झण्डै चार–पाँच सय बोट स्याउ छन् । 

सदरमुकाम खलङ्गाबाट दुई दिन लगाएर पुगिने पाथामा फलेको स्याउ बिक्री गर्न बजार अभाव छ । नजिकको बजार खण्डेश्वरी हो । अहिले गाउँपालिका केन्द्र रहेको खण्डेश्वरी बजारमा झण्डै दुई दर्जनभन्दा बढी पसल सञ्चालनमा छ । 

अपी हिमालसम्म सडक सञ्जाल पुगेको छैन । अस्थायी रुपमा गाउँपालिका–५ ओखल रेलासम्म सडक गुड्ने गरे पनि त्यहाँबाट आठदेखि १० घण्टा पैदल हिँडेपछि पाथा पुगिन्छ । गाउँबाट गाडीसम्म स्याउ ल्याउनका लागि प्रतिकिलो रु ४० भाडा पर्छ । सडक सञ्जाल नपुगेका कारण यहाँ उत्पादन भएको स्याउले बजार नपाएको अध्यक्ष धामी बतउँछन् ।

सडक नपुगेकै कारण किसानले उत्पादन गरेको स्याउले बजार पाएको छैन । अपी हिमाल गाउँपालिका–३ र ४ मा अहिले स्याउ उत्पादन भएको छ । यही क्षेत्रमा गत वर्षदेखि ग्रामीण जलस्रोत व्यवस्थापन परियोजनामार्फत समेत स्याउ खेती गरिएको छ । अहिले यस क्षेत्रमा उत्पादन हुने स्याउको बजार व्यवस्थापन समस्या भएको उनले बताए ।

स्याउ सुपर जोन कार्यक्रम सञ्चालक समितिका अध्यक्षसमेत रहेका धामीलाई यो वर्ष उत्पादन भएको स्याउ बिक्री गर्न धौधौ छ । स्याउ जोन बनाएर स्याउ खेतीतर्फ आकर्षण गराए पनि स्याउ बिक्री गर्ने भण्डार गर्ने तथा स्याउका परिकार बनाउने तालीम र उपकरण नहुँदा स्याउ उत्पादक कृषक समस्यामा परेका छन् । 

अपी हिमालमा उत्पादन भएको अर्गानिक स्याउ अहिले खण्डेश्वरी बजारमै प्रतिकिलो रु १५० मा बिक्री हुन्छ । सबै स्याउ त्यहीँ बिक्री हुने अवस्था छैन ।  मार्मा गाउँपालिका–५ का स्याउ उत्पादक कृषक इन्द्रसिंह महताको बारीमा ५०० ओटा स्याउका बोट छन् । दशौँ क्वीन्टल स्याउ उत्पादन हुन्छ । विसं २०६७ देखि स्याउ खेती शुरु गरेका महतालाई स्याउ गाउँमा जोगाउ नै मुस्किल भएको  छ । उत्पादन भएको स्याउसमेत असिना र जङ्गली जनावरले सखाप पार्दा उनी निराश छन् ।

स्याउ ‘सुपर जोन’ सञ्चालक समितिका अध्यक्ष धामी स्याउ उत्पादक किसानलाई स्याउको अचार बनाउने, स्याउका परिकार बनाउने र भण्डार गर्ने उपकरणसमेत सहयोग गर्नुपर्ने बताउँछन् ।

व्यासको छाङ्गरुमा स्याउ उत्पादन गर्दै आएका जीतसिंह बोहराले स्याउ प्रशोधनका लागि उद्योग सञ्चालन गर्नुपर्ने बताए । उनले एक हजारभन्दा बढी स्याउ व्यासमा फलाएका छन् । व्याससम्म नेपालतिर घोरेटो बाटोसमेत छैन् । 

मान्छे हिँड्नका लागि भारतीय बाटो प्रयोग गर्ने गरिए पनि त्यो बाटो भएर दार्चुलासम्म स्याउ ल्याउन निकै महँगो छ । उनले केही स्याउ भारतीय सुरक्षाकर्मीलाई रु ८० भारतीयमा बिक्री गर्ने गरे पनि बाँकी स्याउ फाल्ने गरेका छन् । स्याउबाट मदिरा तथा बाँकी स्याउ त्यतिकै सडाएर फाल्नुपर्ने अवस्था रहेको उनी गुनासो गर्छन् । 

गत वर्षदेखि दार्चुलामा प्रधानमन्त्री आधुनिकीकरण परियोजनाअन्तर्गत स्याउ जोन कार्यक्रम लागू भएको हो । गत वर्ष कार्यक्रमअन्तर्गत यहाँका अपी हिमाल, नौगाड, मार्मा, दुहुँ र व्यास गाउँपालिकामा स्याउ खेती गरिएको हो । 

गत वर्ष पाँच वटा स्थानीय तहका १६ वटा कृषक समूह र चार जना उद्यमीलाई जुम्लाबाट ल्याइएका १४ हजार २०० र इटालीबाट ल्याइएका गोल्डेन डेलिसियस जातका ७०० स्याउका बोट वितरण गरिएको स्याउ जोन एकाइ दार्चुलाका निमित्त प्रमुख विष्णुप्रसाद ओझाले जानकारी दिए । गत वर्षको कार्यक्रममार्फत जिल्लाका ४४० कृषक लाभान्वित भएको कार्यालयले जनाएको छ । 

चालू आवमा नौ वटै स्थानीय तहमा स्याउ र ओखर खेती विस्तारका लागि कूल रु एक करोड ५१ लाख ४० हजार खर्च गरिने कार्यालयले जनाएको छ । ‘स्याउका लागि बजार व्यवस्थापन चुनौती देखिएको छ’, कार्यालय प्रमुख ओझाले भने, ‘स्याउ प्याकेजिङ र परिकार निर्माणमा जोड दिनुपर्छ ।’ 
 

कमेन्ट

कमेन्ट गर्नेहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

Loading comments...