बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

पर्यटक बसपार्कमा लफडा :  बाटो छेकेर निर्माण थालिएको भन्दै स्थानीयको अवरोध !

आइतबार, २९ भदौ २०७६, १० : ५३
आइतबार, २९ भदौ २०७६

पोखरा । गत वैशाख अन्तिममा पर्यटन मन्त्रालय अन्तर्गतको पर्यटन विभागले पोखरामा पर्यटक बसपार्कको काम अघि बढायो ।  करिब १८ रोपनी जग्गामा बन्न लागेको बसपार्क बनाउने जिम्मा आशिष/सीएम/मिसन जेभी कम्पनीले पाएको थियो ।

तर पोखरामा बन्न लागेको यो पर्यटक बसपार्क बन्न नपाउँदै विवादमा तानिएको छ । स्थानीय ८ घरको आउजाउ गर्ने बाटो नै बसपार्कले छेकिदिएपछि स्थानीय र निर्माण पक्षबीच विवाद बढेको हो ।

‘बसपार्क बन्नुभन्दा अघिदेखि नै हामी यही बाटो हिँड्थ्यौँ । यो बाटो पल्लो सडकमा पनि मिसिएको छ । तल्लो सडकमा पनि मिसिएको छ,’ स्थानीय भूपनिधि पन्तले भने, ‘न त यहाँका स्थानीयसँग सल्लाह गरियो । न सूचना नै टाँसियो । एकाएक मजदुर र इन्जिनियर पठाएर काम हुन थाल्यो ।’

स्थानीयलाई जानकारीबिना नै काम अघि बढाइएको भन्दै उनले आक्रोश पोखे । कुनै पनि सरकारी काम सुरु गर्दा कसरी गरिँदैछ र यसले स्थानीयलाई के फाइदा हुन्छ ? पहिले नै जानकारी हुनुपर्ने उनको भनाइ छ । पन्त पूर्वसरकारी वकिल पनि हुन् ।

*****

नयाँ नक्साअनुसार काम गर्दा ७ घरमा छिर्ने बाटो छेकिने निर्माण कम्पनीका प्रोजेक्ट इन्जिनियर असिम बराल बताउँछन् ।

*****

मूलद्वार नै छेकेर बसपार्क बनाउन लागिएकोमा उनको असन्तुष्टि छ । ‘मानिस बस्दाबस्दै अटेर गरेर काम गरिन्छ । बार लगाइन्छ भने यो त मानवीयताको दृष्टिकोणले पनि ठीक भएन,’ उनले भने, ‘अर्को लोकतान्त्रिक व्यवस्थामा जनतालाई थाहै नदिई काम गर्नु भनेको नालायक काम हो ।’ बिरामी भए एम्बुलेन्स छिर्ने ठाउँ पनि नराखिदिएको भन्दै उनले आक्रोश पोखे ।

पोखरा उपत्यका नगर विकास समितिको नाममा रहेको जग्गामा बन्न लागेको बसपार्कमा २१ वर्षअघिदेखि पर्यटक बसपार्क बन्ने चर्चा भएको थियो ।

नगर विकास समितिले २०३२ मा सरकारी अड्डा बनाउन उक्त जग्गा अधिग्रहण गरेको पन्तले जानकारी दिए ।

त्यतिबेला नगर विकास समितिले त्यहाँका स्थानीयका लागि नक्सामै बाटो छुट्याइदिएको उनले सुनाए । पन्तको कुरामा सही थप्दै स्थानीय नारायण पोखरेल सरकारले आफूहरूलाई बेवास्ता गरेको बताउँछन् । ‘नगर विकास समितिले नै नक्सामा स्थानीयका लागि भनेर बाटो छुट्याएको छ,’ उनले भने, ‘यदि स्थानीयको सहमतिबिना नै सरकारले बसपार्क निर्माणको काम अघि बढाउँछ भने लोकतान्त्रिक सरकारको त्योभन्दा नराम्रो, अलोकतान्त्रिक काम केही हुने छैन ।’

पूर्वतर्फ शक्तिको आडमा एउटा व्यक्तिका लागि मात्रै बाटो दिएको उनले बताए । ‘कसैलाई बाटो दिने, कसैलाई बार लगाउने ?’ उनले प्रश्न गरे । कम्तीमा पनि ५ मिटरसम्मको बाटो पाउनुपर्ने स्थानीयको भनाइ छ । मन्त्रालयले बसपार्कको दुईवटा नक्सा बनाइसकेको छ । नयाँ नक्साअनुसार काम गर्दा ७ घरमा छिर्ने बाटो छेकिने निर्माण कम्पनीका प्रोजेक्ट इन्जिनियर असिम बराल बताउँछन् ।

बसपार्क बनेपछि बाटो छेकिने ८ घरमध्येमा नेपाल निर्माण व्यवसायी सङ्घ कास्कीको भवन पनि पर्छ । इन्जिनियर बरालका अनुसार नयाँ नक्सामा काम गर्दा पश्चिमतर्फका ८ घरको प्रवेशद्वार अघिबाट पर्खाल उठाउनुपर्ने हुन्छ ।

यसरी पर्खाल उठाउँदा स्थानीयलाई आवतजावतमा समस्या पर्ने देखिन्छ । बसपार्कको पहिलो डिजाइनअनुसार काम गर्दा ३८ देखि ४० को हाराहारीमा बस अट्थे भने अहिलेको नयाँ नक्साअनुसार काम गर्दा १५ देखि १६ को हाराहारीमा मात्रै गाडी अट्छन् । स्थानीयले अवरोध गरेको भन्दै निर्माण पक्षले हाल काम रोकेको छ । बसपार्कको पूर्वतर्फ आइल्यान्ड र स्ल्याब बनाउने काम अन्तिम चरणमा पुगेको छ ।

स्थानीयको मागअनुसार काम गर्दा बसपार्कको डिजाइन नै फेर्नुपर्ने उनले बताए । ‘उहाँहरूको मागअनुसार काम गर्दा बसपार्कको डिजाइन नै परिवर्तन गर्नुपर्छ,’ उनले भने, ‘यतिका काम पनि भइसकेका छन् । हामीले त लगाएको काम गर्ने हो । नक्सामा त्यही छ, हामी त्यहीअनुसार काम गरी रहेका छौँ ।’

*****

डिजाइन तयार भएर निर्माण सुरु भइसक्यो । यो कुरा पहिले नै किन उठाउनु भएन ? भन्ने प्रश्नमा उनले भने, ‘यो ठाउँमा पहिला नेपाल सरकारको हाइप्रोफाइल व्यक्ति बस्ने भनिएको थियो । त्यस्तै किसिमको हलहरू बनाउने भनिएको थियो । पछि पर्यटन मन्त्रालयले ‘अस्थायी बसपार्क’ भनेर राख्यो । पहिला त हामीलाई नै थाहा भएन ।’

*****

निर्माण कम्पनीले आफूलाई काम गर्न असुरक्षा भएको जनाएको छ । ‘विरोध हुँदाहुँदै पनि काम गर्दा भोलि केही भइहाल्यो भने यसको हर्जाना कसले तिर्छ ?’ उनले भने, ‘त्यसैले काम रोकिएको छ ।’  निर्माण व्यवसायी सङ्घले समेत यसरी काम गर्दा पछि गाह्रो हुनसक्ने सुनाएको उनले बताए । ‘उहाँहरूले गाह्रो होला है ! भनेर सुनाउनुहुन्थ्यो,’ उनले भने, ‘त्यो भनेको के हो ? अवरोध नै त हो ।’

नक्सामा स्थानीयका लागि बीचमा गेट राखेर बसपार्कभित्रैबाट दिउँसोमा आउजाउ गर्न मिल्ने खालको बाटो बनाउने भनेर समेटिएको पनि उनले उल्लेख गरे ।

तर निर्माण व्यवसायी सङ्घका कार्यकारी अध्यक्ष रामराज अधिकारीले भने, ‘हामी पनि विकासप्रेमी  निमार्ण व्यवसायी हौँ । विनास होइन विकास गर्नुपर्छ भन्ने धारणा राख्छौँ ।’

नक्साकाट हुँदा १८ रोपनी जग्गामा पूर्वपश्चिम नै गोरेटो बाटो रहेको उनले सुनाए । नगरपालिकासँग साबिककै पुरानै बाटो दिन माग गरिएको उनले सुनाए ।

पूर्वतर्फ शक्तिको आडमा एकजना व्यक्तिलाई मात्रै जग्गा दिइएको उनले गुनासो पनि गरे । नगरपालिकामा ‘डेलिगेसन’ जाँदा मेयर सकारात्मक रहेको उनले सुनाए ।

‘हामीले रोकेर रोकिने होइन,’ उनले भने, ‘यत्रो १८ रोपनीमा बन्न लागेको बसपार्क यता २० मिटर रोकिए पनि अरू ठाउँमा गर्न पनि सक्नुहुन्छ । स्टेपवाइज काम गर्दा उहाँहरू पनि सम्बन्धित निकायमा कुरा राख्न जान सक्नुहुन्छ । हामी पनि जान्छौँ ।’ आफूहरू विकास विरोधी नभएको उनले प्रष्ट पारे ।

डिजाइन तयार भएर निर्माण सुरु भइसक्यो । यो कुरा पहिले नै किन उठाउनु भएन ? भन्ने प्रश्नमा उनले भने, ‘यो ठाउँमा पहिला नेपाल सरकारको हाइप्रोफाइल व्यक्ति बस्ने भनिएको थियो । त्यस्तै किसिमको हलहरू बनाउने भनिएको थियो । पछि पर्यटन मन्त्रालयले ‘अस्थायी बसपार्क’ भनेर राख्यो । पहिला त हामीलाई नै थाहा भएन ।’

महानगरले एकजना व्यक्तिका लागि मात्रै बाटो दिएको उल्लेख गर्दै उनले बाटोका लागि आफूहरूले अवरोध नगरेको दोहोर्याए । ‘कसैलाई दिने कसैलाई नदिने भन्ने हुन्छ ?’, उनले भने ।

१८ रोपनी जग्गा बसपार्कका लागि महानगरपालिकाले छुट्याएर कसैका लागि बाटो छोडिदिने र कसैका लागि नदिएको भन्दै उनले कडा आलोचना गरे । स्थानीयको बाटो छेकेर कुनै पनि हालतमा पर्खाल लगाउन नहुने उनको भनाइ छ ।

पोखरा महानगरपालिकाका मेयर मानबहादुर जीसी बाटो छेक्न नमिल्ने बताउँछन् । ‘पहिले पनि निकास दिने कुरा भएको हो,’ उनले भने, ‘बसपार्कको छेउबाट अथवा बसपार्कबाटै पनि छिर्न मिल्ने निकास हामी दिन्छौँ ।’ बसपार्कको डिजाइन नै परिवर्तन गर्न नसकिने, बसपार्ककै छेउबाट मिलाएर निकास दिन सकिने उनले बताए ।

गएको फागनु २८ गते पर्यटन विभाग र निर्माण कम्पनीबीच बसपार्क निर्माणको सम्झौता भएको थियो । २०७७ असोज २ सम्ममा निर्माण सक्नुपर्ने सम्झौतामा उल्लेख छ ।

काम सुरु गरेको ८ महिनाभित्रमा बस सञ्चालनका लागि योग्य बनाउने लक्ष निर्माण पक्षले लिएको छ ।

७ हजार ९ सय वर्गमिटर क्षेत्रफलमा बसपार्क बन्ने छ । बसपार्कको लागत ७ करोड ५० लाख रहने निर्माण पक्षले जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

श्याम राना मगर
श्याम राना मगर

राना गण्डकी प्रदेशका विशेष प्रतिनिधि हुन् । 

लेखकबाट थप