केन्द्रीय संस्करण
प्रेरणा

८२ वर्षीया ‘जवान’ इन्दिरा : काम गरिनँ भने त म मरिहाल्छु नि

person explore access_timeभदौ २९, २०७६ chat_bubble_outline0
टुना भट्ट

रातोपाटी

काठमाडौँको डिल्लीबजार पिपलबोटबाट घट्टेकुलोतिर लाग्दा ४–५ घर अगाडि छ ‘आड नेपाल तयारी पोसाक’ । जहाँ आड ब्रान्डका नानी बाबुका कपडाहरू बिक्री वितरण हुन्छन् ।

घट्टेकुलोमै छ आड नेपालका लागि तयारी पोसाक निर्माण गर्ने संस्था ‘भोटु : इन्दिरा समाज कल्याण संस्था’ ।

संस्थाभित्र हामी छिर्दा ६ जना महिला सिलाइमा व्यस्त थिए । सँगै थिइन् ८२ वर्षीया उद्यमी इन्दिरा सापकोटा । जो ‘भोटु : इन्दिरा समाज कल्याण संस्था’ की संस्थापक हुन्, जहाँबाट हजारौँ नेपाली महिलाहरूले सीप सिक्ने अवसर पाएका छन् । ६ जना महिला ‘आड ब्रान्ड’को नाना तयार पार्दै छन् । सुतीका चोलो, भोटो, जामा, सुरुवाल, बच्चाका लागि ओड्ने ओछ्याउनेदेखि ब्ल्याङ्केट सबै बन्छन् भोटु : इन्दिरा समाज कल्याण संस्थामा ।

८२ वर्षीय उमेर, हसिलो अनुहारसँगै उनको जाँगर युवा अवस्थाको भन्दा कम छैन । यो उमेरमा आइपुग्दा पनि उनको फूर्तिफार्ती र सक्रियता देख्दा उपमा दिन मन लाग्छ– जवान इन्दिरा भनेर ।

वि.सं. २०३२ सालबाट उद्यमशीलतामा सक्रिय सापकोटाले नेपालका १०औँ हजार महिलालाई उद्यममा लाग्न प्रेरित गरेकी छिन् । नवजात शिशु र सुत्केरी आमाका लागि परम्परागत नेपाली लुगा मात्रै होइन तितौरा, अचार, मस्यौरा, गुन्द्रुक बनाउने सीप पनि सिकाएकी छिन् धेरैलाई ।

वि.सं. १९९४ सालमा काठमाडौँकै महाबौद्धमा जन्मिएकी इन्दिरा पिता गोपालप्रसाद उपाध्याय र आमा योगकुमारी उपाध्यायका १० मध्येकी जेठी सन्तान हुन् ।

सरकारी नोकरी गर्ने पिताको महोत्तरीमा सरुवा भयो । उतै उनले कक्षा ९ सम्म पढिन् । २००७ सालको क्रान्तिपछि पिताको काठमाडौँ सरुवा भयो । १३ वर्षकी नातिनीलाई सहरमा देख्दा हजुरआमालाई विवाहको हतारो भयो र तुरुन्तै घट्टेकुलोका भोटुराज सापकोटासँग विवाह गरिदिइन् ।

दुई भाइ र सात बहिनीहरूले उच्च शिक्षा हासिल गरी उच्च पदमा पुगेको सम्झिन्छिन् इन्दिरा । आफूले पढ्न नपाए पनि सीप सिकेर धेरैलाई त्यही सीप बाढ्न पाएकोमा गर्व महसुस हुन्छ उनलाई ।

उद्यमी इन्दिरा

श्रीमान बाँसबारी छालाजुत्ता कारखानामा कार्यरत थिए । तीन छोराहरू एसएलसी पास गरिसकेका । उच्च शिक्षाका लागि एक जनाको कमाइले धान्न नसक्ने देखेर इन्दिराले आफूले पनि श्रीमानलाई सहयोग गर्ने विचार सुनाइन् ।

इन्दिरासँग सिलाइ बुनाइको सीप थियो । यही सीपको प्रयोग गरेर आफ्ना छोराहरूका लागि आफैले कपडा सिलाउने गर्थिन् । घरमै बसीबसी मस्यौरा, तितौरा, अचार बनाएर बेच्ने अनि घर खर्च चलाउने पनि गर्थिन् उनी ।

यतिले मात्र नपुग्ने भन्दै उनले बजारमा गएर भोटोको कपडा किनेर ल्याइन् र आफैले सिलाएर बजारमा बेच्न लगिन्ब तब पो थाहा भयो कि सिलाएर बेच्दा डबल फाइदा हुने रहेछ ।

सिलाइ गरेर पनि राम्रो नाफा कमाउन सकिने रहेछ भनेर उनले आफ्ना गहना बेचबिखन गरी ५० हजार जम्मा गरिन् । त्यही पैसाले ‘भोटु : इन्दिरा समाज कल्याण संस्था’ दर्ता गरी सञ्चालनमा ल्याइन् र सुरु भयो उनको उद्यमी जीवन ।

आड नेपाल

इन्दिराले सञ्चालन गरेको भोटु इन्दिरा समाज कल्याण संस्थाबाट आड ब्रान्डका कपडा निर्माण हुन्छ । कति चेलीहरू सीप सिकेर स्वरोजगार भएका छन् भने कति उनको संस्थामै काम गर्छन् । हरेक दिनजसो आउने कपडाको अर्डर पूरा गर्न भ्याई नभ्याई हुन्छ उनलाई ।

विदेशी कपडाले नेपालको बजार ओगटेको बेला नेपाली मौलिक पहिचानका कपडाहरू बनाउन उनलाई भ्याई नभ्याई छ । कारण हो गुणस्तर ।

उनले बनाएका नेपाली कपडा गरिबका झुप्रादेखि राजदरबारसम्म पुगेका छन् । नवजात शिशुदेखि सुत्केरी आमाका लागि बच्चालाई दूध चुसाउन सहज हुने गाउन बन्छन् भोटुमा । योसँगै विदेशबाट थुप्रै अर्डर पनि आउने गर्छ ।

कतिले सुतीका कपडाको त कतिले शिशुका लागि बब्ल्याङ्केट, डसना पनि अर्डर गर्छन् ।

भोटुमा अपरेसन गाउन पनि बन्छ जुन हस्पिटलहरूले खरिद गर्ने गरेको छ ।

हुन त २०४४ सालतिर नै उनले थापाथलीस्थित प्रसूति गृहमा आफ्ना उत्पादनको स्टल नै राखिन् । ९ वर्षसम्म सञ्चालन गरिन् । इन्दिरा अलि विद्रोही स्वभावकी । कसैले अन्याय गरेको देख्न नसक्ने । प्रसूति गृहमा कर्मचारी, डाक्टर, नर्सहरूले बिरामीलाई गरेको व्यवहार उनले प्रत्यक्ष देखेकी थिइन् । उनी हरेक दिन त्यही कपडा बिक्रीका लागि पुग्थिन् । बिरामीमाथिको अपमान देख्न नसकेर आवाज उठाउँदा उक्त ठाउँ नै छाड्नु परेको तीतो यथार्थ सुनाउँछिन् इन्दिरा ।

राष्ट्रका लागि सीप

‘स्वदेशमै सीप सिकाउनु भनेको राष्ट्रियता सिकाउनु हो । सीप भनेको राष्ट्रलाई दिने हो, यी नानीहरू यही राष्ट्रका हुन् नि त त्यही भएर सकुन्जेल सीप सिकाउँछु ।’ ८२ वर्षीया हजुरआमाको बोल्ड अवतार हो यो ।

कति नेपाली चेलीहरूको दुःख देख्दा उनको मुटु पोल्छ । उनीहरूले केही सिके भने जीविकोपार्जन गर्न सक्छन् भनेर नै आफू यो उमेरमा पनि उत्तिकै सक्रिय भएको बताउँछिन् इन्दिरा ।

आफ्ना सन्ताहरूबाट कहिल्यै साथ र माया नपाएकी इन्दिरालाई आफूले सीप सिकाएका सबै नानीहरू आफ्नै सन्तान जस्तो लाग्छ रे ।

हालसम्म १० हजारभन्दा धेरैलाई सीप सिकाएकी छिन् उनले । सीप सिकेर जानेहरू कतिले आफ्नै पौरखले घर ठड्याएका छन् त कतिले व्यवसाय गरेर मनग्य आर्जन गरेका छन् ।

कोही आएर सीप सिकेर जान्छन् र आत्मनिर्भर बन्छन् भने त्योभन्दा अरू खुसी के हुनु र नानी । इन्दिराको सन्तोषी मन झल्कियो ।

उनी आफै भन्छिन् म सार्है अफ्ठेरी मान्छे । सिक्न आउनेसँग पैसा लिने गर्दिन थिएँ । सिक यहीँ काम गर कि आफ्नै काम गर भन्छु । त्यही भएर लामो समय तालिम सञ्चालन गर्न पनि सकिनँ ।

२०४५ सालदेखि २०५४ सालसम्म इन्दिराले सुइटर बुनेर निर्यात पनि गरिन् । त्यो समयमा उनको संस्थामा २५० जना महिला थिए सुइटर बुन्ने । महिनाको ५ सय थान सुइटर तयार हुन्थ्यो ।

त्यो बेला छोरीले एसएलसी दिनु निकै ठूलो कुरा थियो । त्यसपछि पढ्न पाइँदैन थियो । पढ्न चाहनेहरूलाई उनले ६ वटा सुइटर बुनेबापत १ सय ५० दिने गरिन् । त्यसबाट कमाइ गर्दै कति चेलीले डिग्रीसम्मको पढाइ गरे ।

उनी भन्छिन्, ‘कतिले आमा तपाईंले गर्दा हाम्रो भाग्य खुल्यो भन्छन्, त्यस्तोभन्दा गर्वले छाती फुल्छ रे उनको ।

उनी अहिले पनि दुःखमा परेका महिलाहरूलाई सीप सिकाएर आत्मनिर्भर बनाउन चाहन्छिन् । भन्छिन्, ‘अलि स्वार्थी पनि छु म आफ्नो टाइम पासका लागि पनि काम गरेकी छु । यतिकै बसे भने त म मरिहाल्छु नि ।’ 

कारागारभित्र पनि इन्दिराको सीप

८२ वर्षीय इन्दिराको सीप भोटुमा मात्रै सीमित छैन । उनले १५, १६ वटा कारागारका महिलाहरूलाई पनि सीप सिकाउन भ्याएकी छिन् ।

२०५९ सालदेखि नेपालका मुख्य मुख्य कारागारका बन्दी महिलाहरूलाई तालिम दिएकी छिन् उनले । उनीहरूले बुनेका स्वेटरहरू इन्दिरा आफै खरिद गरी बिक्री गरिदिन्छिन् ।

अझै पनि समाजमा व्याप्त गरिबी, बेरोजगारी, अशिक्षा, असमानता अनि विभेद देख्दा केही गर्नुपर्छ भन्ने लाग्छ उनलाई । समाजमा अन्यायमा परेका अनि बेरोजगारीले विदेशिन बाध्य ती युवाको दुःख देख्दा अझै धेरै महिलाहरूलाई स्वरोजगार बन्न सीप सिकाउनु छ रे इन्दिरालाई । भन्छिन्, ‘नानी मलाई त शताब्दी पार गर्नु छ र हजारौँ नेपाली चेलीहरूलाई विदेशीनबाट रोक्नुछ ।’

१० देखि ६ को ड्युटी

हिम्मत र जाँगरलाई उमेरले छेक्दैन भन्ने तथ्य पुष्टि गरेकी छिन् इन्दिरा सापकोटाले । उनको साहस उही छ जुन सुरुवाती दिनमा थिए ।

उमेर त बारदलीमा घाम तापेर अनि ओछ्यानमा आराम गरेर बस्ने होइन र ? हाम्रो प्रश्नमा उनको जवाफ थियो, ‘हा बा काँ त्यसरी बस्नु, काम गरिन भने त म मरिहाल्छु नि ।’

उनी बिहान १० बजे भोटु इन्दिरा समाज कल्याण संस्थामा आउँछिन् । घट्टेकुलोमै छ घर । घर र संस्था नजिकै छ । डिल्लीबजार निस्किने मूल बाटोमै छ आड बिक्री वितरण केन्द्र पनि । पसल र संस्थाको व्यवस्थापन गर्न दुई जना कर्मचारी राखेकी छिन् ।

दिउँसो ४ बजेसम्म भोटुमा काम गरेर उनी आड तयारी पोसाक केन्द्र (पसल) जान्छिन् । कहिले बाहिरी काम पनि भ्याउनु पर्यो । कपडा लिन असन इन्द्रचोकका गल्ली गल्ली आफै जाने गर्छिन् । अरूलाई पठायो गुणस्तरीय कपडा छान्न जान्दैनन् त्यही भएर आफै दौडिने बताउँछिन् । यी बाहेक विभिन्न सङ्घसंस्थाहरूले कार्यक्रमहरूमा बोलाउँछन् त्यहाँ पनि पुग्छिन् ।

एक्लो बास

सम्पन्न परिवारकी महिला हुन् इन्दिरा सापकोटा, एक्लै बस्छिन् भन्दा अनौठो लाग्छ । सम्पन्न परिवारमा जन्मे हुर्केकी इन्दिराले आफ्नै पौरखको कमाइले आजसम्म धानेको छ । कसैसँग एक पैसाका लागि हात फैलाउन परेको छैन । बरु आफूले नै दिने बताउँछिन् ।

बिहान आफै खाना पकाएर खान्छिन् इन्दिरा । दिनभरी काम गर्छिन् साँझ खुत्रुखुत्रु घर जान्छिन् र फेरि आफ्ना लागि रोटी पकाउँछिन् र खान्छिन् । मधुमेहको समस्याबाहेक अरू कुनै समस्या छैन ।

हुन त उनका तीन छोरा र एक छोरी छन् । सन्तान आधुनिक भए । उनीसँग बस्न रुचाएनन् । सबै आआफ्नो संसारमा रमाए । एक छोरी अस्ट्रेलियामा छिन् । कहिलेकाहीँ छोरीले बोलाउने गरेको र अस्ट्रेलिया भने जाने गरेकी छिन् ।

उनको भगवानसँग दुईवटा माग छ रे, ‘एक बिरामी परेको कसैले थाहा नपाओस् र अर्को कसैको एक पैसा पनि खान नपरोस् ।’

२०४२ सालमा श्रीमान गुमाउनु पर्यो । तीन भाइ छोरा र एक छोरीको विवाह पनि आफै गरिदिएकी इन्दिरा छोराछोरीको विवाहपश्चात एक्लिइन् । त्यसपछि आजसम्म एक्लै छिन् ।

इन्दिराका सन्तानहरूले उनको हेरविचार गरेनन् । कहिल्यै आमा बाबु भनेनन् । किन यस्तो गरे होलान्भन्दा इन्दिरा भन्छिन्, ‘खै बा किन हो, त्यो त उनीहरूलाई नै थाहा होला । आफ्नो सन्तानको कुभलो कुन आमा बाले सोच्छ होला र ?’

एक वृद्धाले आफ्ना सन्तानको छत्रछायामा नै बस्नुपर्ने हो नि तर सन्तानले छाडेर गएपछि कसको के लाग्ने रहेछ र । तर उनलाई कुनै पीर छैन भन्छिन्, आज म एक्लो छैन नि बा मेरा वरिपरि हजारौँ सन्तान छन् ।’

दुःखले गाँजिएका, घर परिवार समाजले अपहेलनामा परेका अनि रोजगारीको खोजीमा विदेश हानिन लागेका थुप्रै नेपाली चेलीहरूलाई सीप सिकाएर आत्मनिर्भर बनाइदिएकी छिन् इन्दिराले । ८२ वर्षको उमेरमा पनि यो ऊर्जा आउनुका पछाडि तिनै नानीहरू हुन् इन्दिरा भन्छिन् । उनीहरूको जीवनमा आएको परिवर्तन अनि उनीहरूको प्रगतिले गद्गद् इन्दिरा आफ्ना नानीहरूको खुसी देखेरै आफ्नो आयु लम्बिएको बताउँछिन् ।

उनको एक मात्र चिन्ता आफूले सिर्जना गरेको संस्था र सीपलाई कसले व्यवस्थापन गर्देला भन्ने मात्रै हो । शेषपछि आफूले विश्वास गरेको मान्छेलाई यो संस्था जिम्मा लगाउन चाहना भए पनि कानुनले नदिएकोमा भने उनको ठूलो चिन्ता छ ।

ज्येष्ठ नागरिककी प्रतिनिधि

इन्दिरा ज्येष्ठ नागरिकहरूको प्रतिनिधि पात्र पनि हुन् । ज्येष्ठ नागरिक समाजमा पनि अबद्ध भएर केही समय काम गरिन् । 

जता जाँदा पनि उनी सार्वजनिक यातायात चड्छिन् । ज्येष्ठ नागरिकले पाएको अधिकारहरूको उपयोग गर्छिन् र अरूलाई पनि आफ्नो अधिकारको उपयोग गर्न सिकाउँछिन् ।

आजको शिक्षित समाजले वृद्धवृद्धाहरूलाई गर्ने व्यवहार त दुर्व्यवहारमा परिणत भएको जस्तो लाग्छ उनलाई । उनलाई लाग्छ आफ्नै परिवारलाई संरक्षण दिन नसक्नेलाई के परिवार भन्नु । आजको समाज आधुनिक त भयो तर मानवता भने हराएको पाउँछिन् ।

सरकारको काम कार्वाही अनि नयाँ कानुन पनि उनलाई चित्त बुझेको छैन । ‘कति कर बढाएको बा । यता पनि कर उता पनि कर । दुःख गर्नेहरूलाई धेरै गार्हो भयो ।’ इन्दिराको असन्तोष हो यो ।

उनी काठमाडौँ क्षेत्र नं. १ बाट गत प्रतिनिधिसभा निर्वाचनमा लड्ने ज्येष्ठ नागरिक पनि हुन् । ‘देशभक्त पर्यावरणीय सामाजिक मोर्चा’का लागि उनी मैदानमा थिइन् ।

नेपाली काँग्रेसका प्रतिनिधिसभाका सांसद प्रकाशमान सिंहसँग प्रतिस्पर्धामा उत्रिएकी इन्दिराले कुल ४५ सय मत पाएको बताउँछिन् । उलाई चुनाव जित्न नसके पनि यति भोट पाउनु नै ठूलो लाग्यो ।

इन्दिरालाई चुनावमा उठ्दा रमाइलो लागेको पक्ष पुलिसले दिने सुरक्षा रहेछ । ‘उम्मेदवारी दिएपछि सुरक्षाका लागि पुलिस हिँड्ने रहेछ मैले त म बुढीलाई केको सुरक्षा बाबु, पर्दैन भने ।’

वि.सं. २००८ सालदेखि नै नेपालको राजनीति हेरेकी इन्दिराले आजसम्मको राजनीतिक अवस्थालाई राम्रै नियाल्ने अवसर पाइन् । पहिलेका नेता देशको चिन्ता गर्थे तर अहिले त खै केही छैन । अहिलेका नेता मन पर्दैन रे उनलाई ।

काँग्रेसका नेता तथा पूर्वभारतीय राजदूत दीपकुमार उपाध्याय इन्दिराका आफ्नै भाइ हुन् । उनी भाइसँग भेट्ने वित्तिकै राजनीतिका कुरामा गफिने गर्छिन् । देशको परिस्थिति र विगँ्रदो राजनीतिप्रतिको असन्तोष भाइसँग पोख्ने गर्छिन् ।

नानी बाबुको पढाइ पनि

इन्दिराले लुगा सिलाउने मात्र कहाँ हो र साना साना नानी बाबु पढ्ने स्कुलको व्यवस्थापनमा रहेर काम पनि गर्दै आएकी छिन् ।

२०५९ सालदेखि नै गोकणेश्वर वडा नं. ३ मा रहेको ‘ग्राम सुधार आधारभूत विद्यालय’ उकास्न तल्लित भइन् इन्दिरा ।

२०७ जना विद्यार्थी छन् तर सरकारले शिक्षक दिँदैन । सरकारी कोटामा ५ जना छन् । तर पढाउन सक्ने जम्मा २ जना । राजधानीबाट यति नजिकको क्षेत्रमा शिक्षाको अवस्था देख्दा निकै दुःखी छिन् इन्दिरा ।

२०५८ सालतिरकै कुरा हो, इन्दिरा कुल देवताको पूजा गर्न गोकर्णेश्वर गएकी थिइन् । आफ्नो संस्थालाई अलि व्यवस्थित र ठूलो बनाउन ठाउँ खोज्दै गरेकी उनलाई त्यहीका एक स्थानीयले स्कुल भएको ठाउँ देखाए ।

स्कुल चल्न नसकेर बन्द गर्ने सूचना टाँस भएको रहेछ । इन्दिरालाई आफूले पढ्न नपाएको कुण्ठाले सधैँ घोचि नै रहन्थ्यो । यति राम्रो जग्गा जमिन भएको ठाउँमा स्कुलनै किन सञ्चालन नगर्ने भन्ने सोच उनमा आयो । स्कुलको बारेमा थप बुझ्दा त १०७ घरका बालबच्चा पढ्न जाने थलो रहेछ त्यो ।

त्यो समाजमा बुझ्दै जाँदा बच्चालाई पढ्न नपठाउनुको कारण शुल्क तिन नसकेर पो रहेछ । निःशुल्क पढाउन पाए बच्चा पढ्न पठाउने गाउँलेको कुरा सुनेपछि कक्षा ३ सम्म पढाइदिने जिम्मा लिँदै स्कुल पुन सञ्चालन गरिन् उनले ।

विभिन्न सरकारी तथा अन्य क्षेत्रसँग सरसहयोग मागिन् । जिल्ला शिक्षामा गएर हारगुहार गरी शिक्षकको माग पनि गरिन् ।

२०६३ सालमा भारतीय राजदूतावासले उक्त स्कुलका लागि भवन निर्माण गरी सहयोग गरिदियो । भारतीय राजदूतावासले फेरि पनि अर्को भवन बनाइदिने भने पनि गोकर्णेश्वर नगरपालिकाले नदिएको दुखेसो पोख्छिन् इन्दिरा । ‘ग्राम सुधार आधारभूत विद्यालय’मा हाल ८ कक्षासम्मको पढाइ हुन थालेको छ । इन्दिरा भन्छिन्, ‘उक्त स्कुलमा कक्षा १२ सम्म पढाउन पाएँ भने बल्ल म ढुक्क हुने थिए बा ।’

कमेन्ट

कमेन्ट गर्नेहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

Loading comments...