मङ्गलबार, ११ वैशाख २०८१
ताजा लोकप्रिय

नेकपा प्रदेश-२ सपथ ग्रहण प्रकरण: माधव नेपालदेखि मात्रिका यादवसम्मलाई कार्वाहीको माग

शनिबार, २८ भदौ २०७६, २२ : ४४
शनिबार, २८ भदौ २०७६

जनकपुर- नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रदेश २ कमिटीले पार्टीका दुई वरिष्ठ नेतालाई कारवाहीका लागि सिफारिस गरेको छ । नेकपाका वरिष्ठ नेता एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल र स्थायी कमिटी सदस्य समेत रहेका उद्योगमन्त्री मातृकाप्रसाद यादव लगायत करिब एक दर्जन नेतालाई अनुशासनको कारवाही गर्न सिफारिस गर्ने निर्णय गरेको हो ।

बर्दिवासस्थित एक सभाहलमा आयोजित जिल्ला कमिटी पदाधिकारी तथा सदस्यहरुको सपथ ग्रहण कार्यक्रममा तोडफोड गराउन भूमिका खेलेको भन्दै नेकपा प्रदेश कार्यालयले वरिष्ठ नेता नेपाल र यादव सहितका नेताहरुलाई कारवाहीको माग गरेको जनाइएको छ। सो कार्यक्रममा प्रदेश नम्बर २ का प्रदेश अध्यक्ष प्रभु साह र सचिव सुमन प्याकुरेलमाथि हातपात समेत भएको थियो । प्रदेश कार्यालयको बैठकले उक्त घटना नेता नेपाल र स्थायी कमिटी सदस्य यादवको निर्देशनमा भएको निश्कर्ष निकाल्दै नेताद्वयमाथि छानबिन गरी आवश्यक कारबाहीको माग गर्ने निर्णय भएको प्रदेश कार्यालयका एक नेताले नाम नबताउने सर्तमा बताए । 

एक प्रदेश पदाधिकारीले भने, ‘पार्टीको केन्द्रीय नेतृत्वको निर्देशनमा सपथ ग्रहण कार्यक्रम राखिएको थियो ।  विवाद केही होइन, केन्द्रमा भएको असन्तुष्टि तल्लो तहमा पोख्न उहाँहरुले सपथ ग्रहण नै भाँड्न खोज्नुभो। तर पनि पार्टीका इमान्दार कमरेडहरुले संयमता देखाउनुभयो र सिरहा तथा सप्तरी जिल्लाको सपथ ग्रहण पनि भयो ।’

‘नाराबाजी भईरहँदा प्रदेश अध्यक्ष प्रभु साहले वार्ता गरौं आवश्यक परे रोक्न पनि सकिन्छ भनिरहँदा पनि आपराधिक रुपमा जुन व्यवहार देखियो त्यो निन्दनीय छ ।’ उनले भने , ‘पछि घटनाबारे सूक्ष्म रुपमा बुझ्दा पार्टी वरिष्ठ नेता माधव नेपाल तथा मातृका यादवको निर्देशनमा उक्त कार्य भएको हुनाले पार्टी नेतृत्वसँग दुबै नेतामाथि छानबिन गरि आवश्यक कारवाहीको माग गर्दै लिखित निर्णय नै गरेका हौँ ।’

सपथ ग्रहण कार्यक्रममा तोडफोडको नेतृत्व भने पदभार ग्रहणसमेत गरिसकेका नवनियुक्त प्रदेश सहइन्चार्ज महेन्द्र पासवानले गरेको भन्दै उनलाई केन्द्रीय कमिटीबाट निष्कासन गर्न समेत प्रदेश कार्यालयले माग गरेको छ । पासवान प्रदेश कार्यालयले बैठक बोलाउँदा समेत नआएको, कुनै जानकारी नगराएको र पार्टी बिरुद्धको गतिविधि गरेको निष्कर्ष प्रदेश कार्यालयले निकालेको जनाइएको छ।

आक्रमणमा संलग्न अर्का केन्द्रीय सदस्य जगतप्रसाद यादवलाई पनि केन्द्रीय कमिटीबाट निष्कासन गर्न माग गरिएको छ। आक्रमणमा संलग्न गंगा पासवान र फुलगेन नायकलाई प्रदेश कमिटीबाट निष्कासन गर्न र पूर्वमन्त्रीसमेत रहेका उमेश यादवको पार्टीको साधारण सदस्यता खारेज गर्न समेत माग गरिएको प्रदेश कार्यालय श्रोतको दावी छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

किरण कुमार कर्ण
किरण कुमार कर्ण

कर्ण रातोपाटीकाे प्रदेश नम्बर २ का विशेष प्रतिनिधि हुन् ।

लेखकबाट थप