शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

नेता बैङ्क

शनिबार, २८ भदौ २०७६, १३ : ५०
शनिबार, २८ भदौ २०७६

-माधव पोेखरेल ‘गोज्याङ्ग्रे’

नेपालमा जे जति उद्योगधन्दा, सामाजिक सङ्घ संस्था, निजी क्षेत्रका बैङ्कहरू खोलिए ती सबै जनताका लागि खोलिएकाले जनताहरू रोजगारीका लागि दिन दुई गुना रात चौगुनाकादरले विदेश गैरहेका छन् । नेपालमा रोजगारीको अवसर आउँछ विदेश गएर रोजगारी गर्नुपर्ने यो कालो समस्याले जालो नै बनाएको छ । बिचरा नेपाली नेताहरू बेरोजगारी भएर बसेका बेलामा सरकारले एउटा नेता बैङ्क खोलिदिएमा कति जाति हुन्थ्यो । बेरोजगारी नेताहरूको पैसा राखने ठाउँ नभएर कति बिजोग भा छ ।

अख्तियारले अनुसन्धान गर्दा सेतो हुने गरी कालोधन र सरकारले दिएको छ करोड राख्न कम्ता गाह्रो भा छैन । खाली जनताको मात्रै कुरा सुन्ने सरकारले नेताहरूलाई त मच्छर, झिँगा धपाएझैँ धपाइरहेको छ । नेताको सरकार र सरकारको नेता हुँदा पनि देश बेपत्तामा छ । बेपत्ता देशको खोजी गर्नका लागि पनि सरकारले नेता लगाएर खोज्नुपर्ने भएकाले सबैभन्दा पहिले नेताहरूका लागि नेता बैङ्क खोलेर त्यहाँ रकम जम्मा गर्नुपर्ने हुन्छ । किनभने अहिले हातमा नगद दिन मिल्दैन । त्यसैले नेता बैङ्क खोलेर विकासमा सहयोग गर्न यो श्री शून्य गोज्याङ्ग्रेको सरकारले श्री ७६१को सरकार समक्ष टिप्पणी आदेश पेश गरेको छ ।

नेपालमा जनताका लागि के छैन सबै थोेक छ, तर नेताका लागि भने जनताको जतिको सुविधा सरकारले दिएको छैन । जनताभन्दा नेता धेरै छन् । जनतालाई उल्लु बनाउने विकासे र विनासे कार्र्यकर्ता धेरै छन् । जनताले सबै थोक पाएका छन् । जनताका नाममा कानले सुन्ने, आँखाले हेर्ने, आँखाले हेरेर दुई ओठले पढ्ने सुन्ने जनता अनलाइन समाचार छ, जनता रेडियो छ, जनता टेलिभिजन छ । जनताले प्रयोग गर्ने जनता बैङ्क छ ।

भनौँ नेपालका जनता सबै कुरामा सम्पन्न छन् । तर नेपालमा नेताले पढ्ने, हेर्र्ने, सुन्ने न समाचार छ, न रेडियो छ, न टेलिभिजन छ । न त छ उनीहरूले कमाएको रकम जम्मा गर्ने नेता बैैङ््क । अचम्म छ वा नेताहरू त सरकारका लागि सौताका छोराछोरी जस्ता पो देखिन्छन् भन्या । सरकारको यस्तो सौतेनी व्यवहारसहितको रामराज्यको पाराले देश फल्दैन र फुल्दैन । फुलेर फल्ने देश होइन, यो फलेर फुल्ने देश हो । त्यसैले यो पाराले देश चल्दैन चल्दैन ।

देसको मेसमा भेष धारी नेताहरूलाई कन्टिजेन्सी वितरण गर्न नसक्ने हो भने सरकारले जनताका लागि भनेर नेता नपाले हुन्छ । पाल्नु छ भने नेता मात्र पाल्नु होइन भने यो देशको गफाडी सरकार नै फाल्नु कि त जनता पालेर नेता बैङ्क खोल्नु र प्रत्येक वर्ष प्रत्येक नेताका नाममा दश करोड त्यो बैङ्कमा हाल्नु नेताको मुख टाल्नु योभन्दा बढी के भन्नु । जनताका नेता क ख नजाने पनि कमसेकम औँठा छाप लाउने त भा छन् कानुन बेत्ता । यस्तै हो हजुर गाणतन्त्र नेपालको कानुन औँठा छाप लाउन नजान्नेले पनि जानून् ।

अनि जनताको नामको छ करोड राख्न त चाहियो नि नेता बैङ्क जनता बैङ्कमा राखो भने जनताले थाहा पाउँछन् । कागजमा विकास भइहाल्छ । आखिरी अस्तीदेखिको लागेको बानी न हो कागजी घोडा दौडेपछि देशको फेसै अलग हुन्छ । होइन भने नेता नेता मिलेर बैङ्क खोलाी पाउँ भनेर कवितात्मक आन्दोलन गरे भने सरकारले घुँडा टेक्नुको साटो आन्दोलनकारीको लागि काँध थाप्यो भने तलको कविता नजन्मेला भन्न सकिन्न ।

आफै नेता आफ्नै बैङ्क,

स्तर हेर्दा ठूलै रैङ्क,

पठाउ छिटो ठूलै टैङ्क,

चाहियो हामीलाई नेता बैङ्क ।

हाम्रो कुरा सधैँ फ्रेङ्क

जनता नेता फरक रैङ्क

खोल्देऊ हामीलाई छुट्टै टैङ्क

चाहियो हामीलाई नेता बैङ्क ।

राजनीति त नेताहरूको ढाँटी खाने भाँडो हो । त्यसैमा खाएर त्यसैमा चुठ््छन् । ओड्ने ओछ््याउने पनि राजनीतिलाई नै बनाएका छन् । आकाशमुुनिको सिङ््गो घर नै उनीहरूको हो । भनाँै जनता जतिको धनी नेपालमा अरू कोही छैनन् तर पनि सरकारले नेताहरूले छुट्टै आफूखुसी रूपले प्रयोग गर्न पाउने बैङ्क भने स्थापना नगरेर नेताहरूलाई धोखा दिएको छ । सबै कुरा जनताकै लागि भनेर छुट्याएको छ । जनताका लागि भनेर मरी मरी श्रम गर्ने बजेटका लागि लडाइँ गर्ने अनि गोजी खर्च भनेर सरकारसँग रोएर दङ्ग्याएर नाटक गरेर छ करोडको मालिक बन्दा पनि धर छैन ।

आखिरी छ, छ करोड दिन सक्ने सरकारले नेता नामको बैङ्क चाहिँ किन नखोलेको होला ? त्यत्रो राजनीति गरेर कमाएको राख्ने ठाउँ नभएर नेपालको विकास नै विनासमा परिणत हुने चेतावनी आएको बेला सरकारले नेताहरूको बोलीमा कमसेकम लोली त मिलाउनुपर्ने हो । तर नेताहरूको झोली नै रित्तो पार्ने गरी छ करोड मात्रको व्यवस्था गरेको छ । यसले त जनता हसाउने काम बाहेक अरू केही भा छैन ।

फेरि अर्कोतिर नेपालमा सरकारले निजी क्षेत्रलाई सरकारको नाता नै नपर्ने सानीमा बैङ्क खोल्न दिएको छ भने एकातिर बिहे नै नभएकाहरूका लागि कुमारी बैङ्क खोल्न दिएको छ । सगरमाथा नपुगीकन फर्कनेहरूका लागि एभरेस्ट बैङ्क, व्यापार व्यवसायका नाममा ऋण लिएर व्यापार व्यवसाय नगरी बैङ्क ठगदै हिँड्नेहरूका लागि वाणिज्य बैङ्क खोलेको छ । धन कुमारहरूका लागि लक्ष्मी बैङ्क खोलेको छ । अब आउँदा दिनहरूमा ठूलीआमा, काकी, भाउजु, देवरानी, जेठानी, फुपू, भदै, भान्जी, माइजू, सासू, जेठी सासू, विधवा, सधवा, सम्धिनी, श्रीमती बैङ्क समेत खोलिएलान् । भनौँ हरेक तह र तप्काका मानिसहरूका लागि बैङ्क छ तर नेपालका नेताका लागि नेता बैङ्क नहुनु भनेको सरकारले नेताप्रति गरेको ठाडो पक्षपात र पक्षघात दुवै हो ।

जनताका लागि भने जे पनि गर्न सक्ने सरकारले नेताका लागि भने केही गर्न नसक्नु भनेको नेपालमा श्री शून्य गोज्याङ्ग्रेको सरकार भए सरहको भएकाले अस्तीको श्री ३ वा हिजोको श्री ५ को सरकार जतिको पनि नहुनु त गणतन्त्र नेपालको खिल्ली उडाएको जस्तो भयो नि । हुन त गणतन्त्र हो कि गनतन्त्र हो केको ? सरकारका पालामा श्री ७६१ को सरकार भएको सुनिँदै छ तर त्यो कुन दुलामा लुकेर बसेको छ ७६१ लाई नै कुनै जानकारी छैन । सरकार भएको जानकारी करिब तीन करोड जनतालाई हुनुपर्ने हो तर ‘कागलाई बेल पाक्यो हर्ष न विष्मात’ भनेझैँ हामी हल्लुँडे जनतालाई के थाहा । नेताका गोजीमा हामी जनता लुकेर बसेको पनि जानकारी पाउँदैनौँ भने नेताका बारेमा म जस्तो गोज्याङ्ग्रेले जानकारी पाउने कुरै भएन ।

जनताका लागि खोलिएको जनता बैङ्कका बारेमा देश विदेशमा कस्तो कस्तो खबर समाचारहरू आएर मान्छेहरू बेखबरमा रुमलिएका छन तर नेता बैङ्कका बारेमा भने सरकारले डकार्दा पनि डकार्दैन । सायद नेताबाट सरकारले रोयल्टी नपाएर हो वा नेताहरूको पहुँच नपुगेर हो अथवा नेताहरूले नै सरकार चलाएर उल्टो काम गरेका कारणले हो न कुनै चर्चा छ न कुनै प्रचार प्रसार अचम्म छ भनेको ।

यो कुरालाई ध्यान दिँदा मलाई त के लाग्छ भने सरकार प्रकार प्रकारका भएकाले सिंहदरबारको सरकार गाउँको स्याल दरबारभित्र ब्वाँसोको घेराबन्दीमा परेर नजरबन्दमा बसेको छ । जसका कारण नेता बैङ्क नै स्थापना हुन सकिरहेको छैन । नेता बैङ्कको अभावले बल्ल बल्ल पाएको छ करोड फुपूको धन राख्नै समस्या भएको कुरा सरकारले बुझ्नुपर्ने हो । तर जनताका लागि भने जे पनि गरेको छ । 

जनताका लागि केही गरेबापतको पारिश्रमिकका रूपमा कुरा लुकाएर मागेको त्यो जाबो छ करोड राख्न पनि बैङ्कको व्यवस्था गर्न नसक्ने सरकारले देशको विकास गर्ला भन्नु त आकाशको फल आँखा तरी मर भने जस्तै होला नि त ?

जनतालाई ढाँटेर, छलेर, चमेरो, लाटो कोसेरो, वा उल्लु बनाएर देसका निम्ति केससमेत बाँकी नराखी आफैँ शेष भएर विकासे बेसका रूपमा फेस देखाएर चेस खेल्दा पनि सरकारले जाबो एउटा बैङ्क नपत्याउनु भनेको नेताको अस्तित्व नै स्वाहा पार्नु भएकाले भोलि जनताले आहा भन्न बेर लाउँदैनन् । यदि जनताले आहा भनिहाले भने नेताको इज्जतै स्वाहा होला भन्ने चिन्ता पनि नगर्ने सरकारले  करोडियाहरूको अपमान नगर्ला पनि भन्न सकिन्न ।

किनभने नेताहरू लखपतिबाट करोडपति भएकाले पति हटाएर लखिया, करोडिया मात्र भन्दा भारतीय शब्दझैँ हुने भएकाले पनि आफूहरूलाई दुई नम्बरी ठान्यो भनेर अर्को चर्को नेता बैङ्क खोल्ने आन्दोलन न छेडलान् भन्न सकिन्न । यो आन्दोलनबाट चोखिन सुनपानी छर्कनु पर्ने भएकाले त्यसको जिम्मा नेताहरूलाई दिएर सरकारले नेता बैङ्क खोलनेतिर काम कार्यबाही पछि सार्न मनासिब देखी यो टिप्पणी आदेश श्री ७६१ को सरकार समक्ष पेश गरेको छु । जो आदेश । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप