बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

सडकको स्तरोन्नति र आधुनिकीकरणमा ध्यान नदिँदा बढ्दैछ उपत्यकामा ट्राफिक जाम

शनिबार, २८ भदौ २०७६, १३ : २४
शनिबार, २८ भदौ २०७६

काठमाडौँ । राजधानीको नेपालटारबाट जावलाखेलस्थित कार्यालयमा आइपुग्न सीता घिमिरेलाई कम्तिमा पनि एक घण्टा लाग्छ । सामान्य अवस्थामा आधा घण्टा पनि नलाग्ने झण्डै ९ किलोमिटरको दूरीमा उनी दिनहुँ जाम छिचाल्दै कार्यालयसम्म आइपुग्छिन् । जाम जिचोल्दै अफिस–घर आउजाउ गर्दा उनको धेरै समय बित्थामा सकिन्छ ।

घिमिरेमात्रै होइन चर्को ट्राफिक जाम झेल्दै गन्तब्यसम्म पुग्नु राजधानीबासीको दैनिकी नै बनेको छ । भदौको चर्को घामले गर्दा हुने गर्मी र ट्राफिक जामले सार्वजनिक यातायातमा होस् या निजी सवारीनै किन नहोस् राजधानीबासीको यात्रा कष्टकर हुने गरेको छ । 

हुन पनि बिहान होस् वा साँझ । ट्राफिक जाम नभएको दिन हुँदैन । घरको कामले होस् या अफिसको कामले कतै जानुपर्दा जामकै कारण समयमा गन्तब्यमा पुग्न सकिने अवस्था नै छैन ।


सवारीसाधनको तुलनामा सडकको स्तरोन्नति गर्न नसकिँदा राजधानीको सडकमा ट्राफिक जाम बढ्दो क्रममा रहेको छ । तर सरोकारवाला भने जाम न्यूनीकरणमा भन्दा पनि एकअर्कालाई दोष देखाएर आफू चोखिन उद्यत छन् ।

राजधानीको ट्राफिक  व्यवस्थापनमा मुख्यतः यातायात व्यवस्था विभाग, सम्बन्धित स्थानीय तह र ट्राफिक प्रहरीको मुख्य भूमिका रहन्छ । तर ती निकायबीच नै समन्वयको अभाव देखिन्छ ।

राजधानीको ट्राफिक अवस्था अस्तव्यस्त हुँदा सडक विभाग सडकको अवस्थाकै कारण ट्राफिक जाम बढेको मान्न तयार देखिँदैन । ट्राफिक व्यवस्थापनमा भएको कमजोरीका कारण समस्या बढेको विभागको दाबी छ ।

यता ट्राफिक प्रहरी भने सवारी साधनको चाप बढेपनि सडकको स्तरोन्नति प्रविधि नहुँदा सोचेअनुरुप ट्राफिक व्यवस्थापन गर्न नसकेको बताउँछ । 

हुन पनि काठमाडौं महानगरपालिका सहरी योजना आयोगका अनुसार उपत्यकामा दैनिक करिब १३ लाख सवारी साधन गुड्छन् । जुन सडकको क्षमताभन्दा बढी हो । सडक फराकिलो बने पनि धेरै ठाउँमा जाम उस्तै छ ।

यातायात क्षेत्रका विज्ञसहितको टोलीले कोटेश्वर, थापाथली र टुँडिखेलआसपासको सडकमा सवारी चापको तथ्याङ्क संकलन गर्दा उपत्यकामा चारपांग्रे सवारीको तुलनामा तेब्बरभन्दा बढी दुईपांग्रे सवारी गुड्ने गरेको पाइएको थियो ।

महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख एसएसपी भीमप्रसाद ढकाल सडक क्षमताभन्दा दोब्बर सवारी साधन गुडेकै कारण ट्राफिक जामको समस्याले निरन्तरता पाएको बताउँछन् । सडकको स्तरोन्नति र आधुनिकीकरणमा ध्यान दिन नसके काठमाडौंमा जामको समस्या थप निम्तिने उनको भनाइ छ ।

यसो त यातायात व्यवस्था विभागको कारण पनि काठमाडौं उपत्याकाको जामले निरन्तरता पाइरहेको छ । विभागले विभिन्न समयमा विभिन्न योजना ल्याउने गरेको भएपनि कार्यान्वयन भने प्रभावकारी हुन नसकेको सरोकारवाला बताउँछन् ।

यस्तै यात्रु र चालकको पनि जाम न्यूनीकरणमा सहयोगी भूमिका हुन्छ । ट्याक्सी चालक रुद्र श्रेष्ठ जोरबिजोर नम्बरका गाडी चलाउने व्यवस्थालाई ट्राफिक जाम न्यूनीकरणको विकल्पका रूपमा लिन सकिने बताउँछन् । नयाँ तरिकाबाट सवारी साधनको वितरण व्यवस्थित गर्नु पनि अहिलेको समाधान हुनसक्ने श्रेष्ठले बताए ।

अत्यधिक सवारी साधनको खरिदलाई निरुत्साहन गर्दै सार्वजनिक यातायातलाई भरपर्दो बनाउँदा पनि सवारी जाम न्यूनीकरण हुनसक्ने उनको भनाइ छ ।

उपत्यकामा जति पनि सवारी गुड्छन् ती आफ्नो ट्रयाकमा मात्र हिँडे भने पनि केही हदसम्म ट्राफिक जाम घट्ने उनको विश्वास छ ।

उपत्यकामा चल्ने गाडीलाई सरकारले समय र क्षेत्रगतरूपमा वितरण गरी सञ्चालनको अवधारणा ल्याउनुपर्ने आवश्यक रहेको उनले बताए ।

यस्तै अर्का ट्याक्सी चालक श्याम महर्जन चालक र सर्वसाधारणमा कर्तव्यबोधको समस्याले पनि अनावश्यक सवारी जाम हुने गरेको बताउँछन् ।

‘यस्ता समस्याको समाधानमा सबै पक्षको समन्वयात्मक सहकार्य हुनु आवश्यक छ,’ उनले भने, ‘सत्यलाई नागरिकले पनि बुझिदिनुपर्छ ।’

‘सवारी जामले गन्तव्यमा पुग्न ढिलाइमात्र गर्दैन जीवनमरण र आर्थिक पक्षमा पनि यो समस्या उत्तिकै सम्बन्धित छ भन्ने कुरालाई कसैले पनि बिर्सनहुँदैन,’ उनको भनाई छ ।

‘९९ प्रतिशत चालकलाई ट्राफिक नियम थाहा छैन’

महानगरीय ट्राफिक प्रहरी महाशाखाका अनुसार ९९ प्रतिशत सवारी चालकलाई ट्राफिक नियमको बारेमा जानकारी नै छैन । घरघरमा पुगेर ट्राफिक नियम पढाउँदा पनि प्रभावकारी हुन नसकेको महाशाखा बताउँछ ।

ट्राफिक नियमको पालनामा सवारी चालकहरुको सोचमा परिवर्तन ल्याउनु जरुरी रहेको महाशाखाका डीएसपी सुनिलजंग शाही बताउँछन् । गाडी लिएर सडकमा आउने सबैले ट्राफिक नियमको पालना अनिवार्य गनुएपर्ने डीएसपी शाही बताउँछन् । डीएसपी शाहीले लेन थाहा नहुनेले समेत लाइसेन्स लिएर गाडी चलाउने गरेको  पाइएको छ ।

सडकको स्तरोन्नति, आधुनिकीकरण, सरोकारवाला निकायबीच समन्वय र जिम्मेवारीपन नभए सवारी जामको समस्या ट्राफिक प्रहरीको जनशक्ति परिचालनले मात्र समाधान नहुने पक्का छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

सुजन पन्त
सुजन पन्त

पन्त सुरक्षा/अपराध बिटमा रिपोर्टिङ गर्छन् ।

लेखकबाट थप