केन्द्रीय संस्करण
मेरो जीवन

राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीको जीवन : धेरैलाई विश्वास गरियो तर घात मिल्यो

ग्रहदशा, भाग्यमाथि मैले कहिल्यै विश्वास गरिन

person explore access_timeभदौ २८, २०७६ chat_bubble_outline0
कुवेर गिरी

रातोपाटी

काठमाडौँ– राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसी पछिल्लो सयम नेपालको सङ्घीयताको प्रखर विरोधी राजनीतिज्ञका रूपमा परिचित छन् । उनको परिचय यतिमा सीमित छैन ।

विभिन्न समयमा विभिन्न मन्त्रालयको जिम्मेवारी सम्हालेका केसी उपप्रधान मन्त्रीसमेत भइसकेका व्यक्ति हुन् ।

नेपालको कम्युनिस्ट आन्दोलनमा २०१४ सालदेखिको केसीको राजनीतिक यात्रा अनवरत जारी छ ।

१९ वर्ष भूमिगत जीवन, ९ महिना जेलको भोगाइ अनि मोहनविक्रम सिंहको नेतृत्वक कम्युनिस्ट आन्दोलनमा उनको जुझारुपना उनको थप परिचय हो । राष्ट्रिय मुद्दामा खरो रूपमा प्रस्तुत हुने स्वभावले जनता माझ केसीको लोकप्रियता सदाबहार छ ।

जो कारण हुन सक्छ केसीको सादगी जीवन । घट्टेकुलाको सानो गल्लीभित्रको दुई कोठा र एउटा भान्सा उनको २० वर्षदेखिको डेरा हो । त्यहाँबाट केसीको राजनीतिको यात्रा जारी छ ।

उनी उखान टुक्का मिसाएर मीठो भाषण गर्ने स्वादिला नेताका रूपमा पनि परिचित छन् । प्रस्तुत छ रातोपाटीको मेरोजीवन स्तम्भका लागि चित्रबहादुर केसीसँग गरिएको कुराकानी :

मेरो खाना

मेरो मनपर्ने खाना मकैको च्याँख्लाको भात र कोदाको ढिँडो हो । यो पाएसम्म अरू खाँदिनँ । त्यसपछिको भात र रोटी । मन नपर्ने खानेकुरा खासै केही छैन ।

फास्टफुड मलाई कहिल्यै मन परेन । रेस्टुरेन्ट पनि जाँदिनँ । पकाउन आउँछ । भ्याएसम्म पकाउने गरेको छु तर अचेल परिवारले पकाउन दिँदैन । मैले सबैभन्दा मीठो पकाउने परिकार माछा हो ।

मेरो पोसाक

पोसाकमा मलाई धेरै रुचि छैन । शरीर ढाक्न पाए पुग्छ ।  सफारी, कमिज सुरुवाल, लबेदा सुरुवाल, कोटपाइन्ट लगायत सबै प्रकारको पोसाक लगाउँछु । मनपर्ने कलरको यही हो भन्ने छैन । ब्रान्ड रोज्ने बानी कहिल्यै भएन । सिलाएको, रेडिमेड सबै प्रकारको पहिरन लगाउँछु ।

मेरा लागि प्रायः पहिरन छोराछोरीले किनिदिने गरेका छन् । वार्षिक पहिरन खर्च जतिसक्दो कम गर्छु । २०५६ मा पहिलो पटक सांसद हँुदा किनेको पहिरन अहिले पनि लगाउँदैछु । पोसाकमा आवश्यक पर्दा मात्र खर्च गर्ने मेरो बानी छ ।

 


मेरो फिट्नेस

नियमित बिहान ४ बजे उठ्छु । एक घण्टा सधैँ बिहान मर्निङवाक गर्छु । पहिले त योग पनि गर्थें । आफ्नो टोलमा योग गुरु ल्याएर योग शिविर चलाएको पनि थिए । तर मैले नियमित समय दिन सकिनँ । व्यायाम शरीरका लागि आवश्यक छ भन्नेमा म सचेत छु ।

मेरो अध्ययन

अध्ययन मेरो रुचिको विषय पनि हो । बिहान राजनीतिक लगायत अन्य सबै विषयवस्तुमा अपडेट हुनका लागि नियमित समाचारपत्रहरू पढ्छु । त्यसपछि किताब पढ्ने गरेको छु ।

राजनीतिक, सांस्कृतिक, इतिहास, जीवनीहरुका विषयमा लेखिएका किताब पढ्छु । पूर्वीय दर्शन भन्ने पुस्तक अहिले अध्ययन गरिरहेको छु ।

पहिले पहिले राति अबेरसम्म पनि पढ्न सक्थँे । अहिले सक्दिनँ । त्यसैले बिहान पढ्छु । मलाई बिहान ४ बजेदेखि निन्द्रा नै लाग्दैन । त्यसपछिको साथी पुस्तक हो ।

मेरो घुमफिर

घुमघाम धेरै रुचि छ । तर घुमिरहन भ्याउँदिनँ । घुम्न मनपर्ने ठाउँ आफू जन्मिएको, गाईवस्तु चराएको गाउँघर र त्यस्तै भूभाग । परिवारका साथमा पनि घुम्न मनपर्छ ।

देशको ६०, ६५ जिल्ला पुगेको छु । बाँकी पनि पुग्न मन छ ।  विदेशका पनि धेरै देश बाँकी छन् । अहिले अफ्रिकन मुलुक पुग्न मन लागेको छ ।

मेरो फर्सुद

फुर्सद कम हुने मानिसमध्येको एक म पनि होला । फुर्सद भयो भने पढ्ने, लेख्ने, परिवारसँग घुम्ने गर्छु । कहिले कार्यकर्ता भेट्ने र मिडियासँग कुराकानी गर्ने गर्छु ।

मेरो खेलकुद

सानो छँदा खेलकुदमा धेरै रुचि थियो । डन्डिबियो खेल धेरै खेल्थे । शिक्षक भएपछि विद्यार्थीसँग भलिबल खेल्न थाले । क्यारिङबोड पनि खेलियो । काठमाडौँ छिरेपछि भने खेलकुदमा लाग्न भ्याइएन । अहिले टीभीमा हेर्ने मात्र हो । भलिबल, फुटबलका खेलहरु टीभीमा हेर्ने गरेको छु ।

मेरो मोबाइल

मसँग अहिले सामसुङ ब्रान्डको एउटा मोबाइल छ । फोन गर्न समाचार पढ्न, फेसबुक र युट्युब चलाउने यो प्रयोग हुन्छ । मोबाइल धेरै कुराका लागि प्रयोग गर्न सकिन्छ रे ।

तर म धेरै जाँन्दिनँ । छिटोछिटो मोबाइल फेर्ने बानी पनि छैन । हरायो, बिग्रियो भने खाँचो पर्छ । त्यसपछि मात्र नयाँ भित्रिन्छ । मोबाइल साथीहरुले गिफ्टसमेत दिने गरेका छन् ।

मेरो टीभी

बिहान, बेलुका नियमित टीभी हेर्छु । घरमा टीभी मेरो साथी नै हो । टीभीमा धेरै हेर्ने देशविदेशको समाचार, अन्तरवार्ता नै हो । केही दिन पहिले तीजका गीतहरु धेरै हेर्थे ।

मेरो घरमा पुरानो खालको टीभी छ । त्यो १२ वर्ष पहिले कान्छो छोराले किनिदिएको हो । त्यो कति इन्च, कुन ब्रान्ड हो याद नै गरिनँ ।

मेरो चलचित्र

विद्यार्थी जीवनमा चलचित्र धेरै हेर्थें । टीभीमा, हलमा सबैतिर हेर्थें । अहिले हल नटेकेको धेरै भयो । चलचित्र हेर्नतिर ध्यानै जाँदैन । पहिले हिन्दी चलचित्र धेरै हेर्थें । केही नेपाली पनि हेरेको थिएँ । राजनीतितिर रुचि भएकाले चलचित्रतिर मन छैन ।

मेरो रोग

मेरो पाचनक्रिया कमजोर छ । त्यसमाथि प्रेसर र सुगर पनि । विगत ५, ६ वर्षदेखि प्रेसरको नियमित औषधि खाइरहेको छु । अन्य रोग छैन । पहिले म प्रेसरको बिरामी लिएर अस्पताल बारम्बार गइरहन्थेँ ।

सोही क्रममा प्रेसर के छ भनेर ठट्टा भयो । जाँच्दा देखियो । अनि औषधि खान थाले । ३, ४ महिनायता सुगर पनि देखिएकाले औषधि सुरु गरेको छु । 

मेरो भाषणशैली

सर्वसाधारणले सजिलै बुझ्ने खालको भाषणशैली मनपर्छ । सर्वसाधारणलाई बुझ्न गाह्रो हुने भाषण दिन्न । स्वाभाविक, आकर्षक र छोटो भाषण नै उपयुक्त हुन्छ भन्ने मेरो बुझाइ छ ।

भाषण सबैभन्दा छोटो, स्पष्ट, आफ्नो भनाइ पुष्टि गर्ने खालको एक दुईवटा उखान टुक्का जोडेर गर्न सकियो भने त्यो चोटिलो हुन्छ जस्तो लाग्छ । कहिले कहिले विषय, समय र परिस्थितिले आक्रमक भाषण पनि गर्नुपर्ने हुन्छ ।

मेरो मापसे

म मापसे गर्दिनँ । पहिले गरियो । त्यसैले यसको स्वाद थाहा छैन भन्न मिल्दैन । २० वर्ष भयो होला यो नछोएको । घरमा सजाउन मन पर्दैन ।

मेरो गीतसङ्गीत

गीतसङ्गीत नियमित सुन्छु । नेपाली लोकगीत धेरै मनपर्छ । शास्त्रीय सङ्गीतका गीतहरु पनि मनपर्छन् । धेरै सुन्ने भएको लोकगीत नै हो । टीभीमा, रेडियो, युट्युब सबैतिर गीत सुन्छु ।

मेरो राजनीति

२०१४ देखि म राजनीतिमा होमिएँ । त्यो समय म सानै थिए । विद्यार्थी जीवनमा साथीहरुको सङ्गतले राजनीतिमा लागियो । त्यतिबेला राज्यको जनताप्रति हेर्ने दृष्टिकोण राजनीति भन्ने बुझाइ थियो ।

त्यो सही हो वा गलत बुझ्नका लागि राजनीतिमा होमिएँ । बुझ्दै जाँदा सबै नीतिको मूल नीति राजनीति बुझेँ । त्यसपछि यसमा चासो बढ्यो । त्यो समयदेखि अहिलेसम्म पनि राजनीतिमै छु ।

राजनीतिमा लागेर नेपाली जनताको आधारभूत समस्य समाधान गर्न नसकेकोमा पश्चाताप छ । राजनीतिमा लाग्दै जाँदा विभिन्न उतारचढाव पार गरियो । निरन्तर राजनीतिमा लाग्दा पञ्चायती व्यवस्थामा गिरफ्तार, कुटपिट, यातना, जेलनेल पनि भोगियो ।

राजनीतिको दौरानमा पहाडका बाटोघाटो हिँड्दा भीरबाट लडेका कैयौँ घटना, दुर्घटनाको अनुभवको सँगालो पनि हो यो जीवन । जुन अहिले पनि सम्झँदा डर लाग्छ । अहिले पनि जनताको पक्षमा राष्ट्रको पक्षमा केही गरौँ, केही बोलौँ भन्ने छ ।

मेरो प्रेम

प्रेम त उमेरमा गरियो नि । स्कुल, कलेज पढ्दाखेरी भने भएन । त्यस पछाडि अलि अलि चल्यो तर धेरै चलेन । मेरो सानैमा विवाह भएको हो । विवाहपछि बाहिर प्रेम गर्न खोजेको थिएँ । तर अनुकुलता भएन । अहिले राजनीति र जनतासँग गहिरो प्रेम छ ।

मेरो भूल

भूल नगर्ने मानिस सायदै होलान् । जीवनमा जानी नजानी भूल धेरै भए पनि होलान् । यो स्वाभाविक हो । अहिलेसम्म पछुतो हुने ठूलो भूल गरेजस्तो लागेको छैन ।

राजनीतिको कुरा गर्ने हो भने धेरैलाई विश्वास गरियो तर घात मिल्यो ।

मेरो सपना

नेपाली जनता खुसी, समृद्ध हुनुपर्छ र त्यो बनाउनु पर्छ भन्ने एउटै सपना थियो र अहिले पनि छ । हाम्रो देश परनिर्भर नहोस्, स्वाभिमान होस् भन्ने लागेको छ । प्राकृतिक स्रोत साधनले सम्पन्न हाम्रो राष्ट्र अरूका अगाडि हात थापेर हिँड्ने होइन, दिन सकियोस् भन्ने लाग्छ ।

यही सपना देखेर राजनीतिमा होमिएको थिए । हाम्रा छोराछोरी रोजगारीका लागि विदेश जानुपर्ने । विदेशीले भने हाम्रो प्राकृतिक स्रोतमाथि दाइँ हाल्ने । राष्ट्रको यो अवस्था परिवर्तन हुनुपर्छ भन्ने छ ।

 


मेरो राशि

मेरो राशि मिन हो । ग्रहदशा हेराउने गरेको छैन । किनभने यसमा मेरो विश्वास छैन । म आफ्नो काममा विश्वास गर्छु । ग्रहदशा, भाग्यमाथि मैले कहिल्यै विश्वास गरिन । अहिलेसम्म पूजापाठ पनि गरेको छैन । मन्दिर जाँदिनँ । आफ्नो उन्नति अवनति मानिस आफैले गर्ने हो । अलौकिक शक्तिबाट हाम्रो भाग्यको निर्धारण हुन्छ भन्ने विश्वास गर्दिनँ ।

मेरो मृत्यु

मृत्यु प्रकृतिक नियम हो । जन्म हुनु नै मृत्युका लागि हो । त्यसैले यसप्रति साधारण हेराइ छ । अरूले स्यारसम्भार गर्नुपर्ने गरेर असहाय भएर बाँच्न नपरोस् । हिँडडुल गर्दैमा थला नपरी मृत्यु होस्, यही एउटा चाहना छ । मृत्युपछि पनि बाँच्न सकिन्छ । त्यसका लागि जिउँदो छँदा, राष्ट्र र जनताका लागि केही गर्नुपर्छ । मैले केही त्यस्तो काम गरेको छु भन्ने लागेको छ ।

 

कमेन्ट

कमेन्ट गर्नेहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

Loading comments...