शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

पूर्वराजदूत हत्या प्रकरण : मिडियामा ल्याइदिन्छु भन्दै धम्क्याउँथे सानुकान्छा

शुक्रबार, २७ भदौ २०७६, १५ : ५२
शुक्रबार, २७ भदौ २०७६

काठमाडौँ । नेपाल प्रहरीको प्रतिष्ठा र कार्यक्षमतासँग जोडेर टिकाटिप्पणी हुँदै आएको फ्रान्सका लागि पूर्वराजदूत केशव झाको हत्या प्रकरणमा अन्ततः प्रहरीले सफलता हात पारेको छ ।

बुधबार जिल्ला अदालत काठमाडौँले पूर्वराजदूत केशव झा हत्या अभियोगमा पक्राउ परेका सानुकान्छा तामाङलाई पुर्पक्षको लागि जेल चलान गर्न आदेश दिएको छ ।

अदालतको आदेशसँगै तामाङलाई सुन्धारास्थित केन्द्रीय कारागार पठाइएको महानगरीय प्रहरी परिसर काठमाडौँका प्रवक्ता डीएसपी होविन्द्र बोगटीले रातोपाटीलाई जानकारी दिए ।

झाको हत्यामा आफ्नै घरको भान्साको चक्कु प्रयोग भएको, झा र तामाङबीच ५० हजार विवाद भएको अनुसन्धानको निश्कर्षपछि अदालतले तामाङलाई जेल चलानको लागि आदेश दिएको हो ।

‘उनीहरूबीच लेनदेन विवाद देखिन्छ, त्यो विवाद बारम्बार हुँदै हत्यासम्म पुगेको अनुसन्धानले देखाउँछ,’ परिसर प्रवक्ता बोगटीले भन्छन्, ‘हत्यामा अन्य कुनै बाहिरका व्यक्तिहरूको संलग्नता पुष्टि हुन सकेन ।’

बोगटीले भने, ‘लामो अनुसन्धानपछि प्राप्त प्रमाणहरुलाई मिसिलमा राखेर जिल्ला सरकारी वकिलको कार्यालयमा आवश्यक कारबहाीको लागि पेश गर्यौँ । जिल्ला सरकारी वकिल कार्यालयबाट अदालतमा पेश भयो । अदालतबाट थुनछेकको बयानपछि तामाङलाई पुर्पक्षको लागि थुनामा पठाइएको हो ।’

तामाङले मिडियामा ल्याइदिन्छु भन्दै धम्क्याउँथे झालाई

फ्रान्सका लागि पूर्व राजदूत झाले १२ वर्षअघि तामाङलाई सुरक्षागार्डको रुपमा राखेका थिए । सुरुमा झाले तामाङलाई ५ हजार तलब दिएर घरमा राखेका थिए । तामाङलाई खान, बस्न झाकै घरमा व्यवस्था थियो ।

झाले तामाङलाई समय–समयमा कपडा समेत किनिदिने गर्थे । सुरुमा ५ हजारमा काम गरेका तामाङ सन्तुष्ट नै थिए । सामान्य परिवारका तामाङको एक वर्षपछि तलब बढेर ६ हजार पुग्यो ।

समय बितेसँगै कान्छारामको १० वर्षपछि १४ हजार तलब पुग्यो ।  खान र बस्न झाकै घरमा व्यवस्था थियो । १० वर्षमा १४ हजार तलब पुगेका तामाङको त्यसको २ वर्षसम्म एक रुपैयाँ पनि तलब बढेन ।

बीच–बीचमा तामाङले झालाई तलब बढाइदिन आग्रह गर्थे । तर, झाले सुनेको पनि नसुने झैँ टार्दै आएको प्रहरीको भनाइ छ । तामाङको तलबबारे दुई पक्षबीच विवाद रहँदै आएको अनुसन्धानमा देखिएको प्रहरीको भनाइ छ ।

झाको घरमा आउने आफन्त, छोरी, काका, दिदीबहिनी सबैलाई तामाङले तलबबारे आफू सन्तुष्ट नभएको बताउने गरेका थिए ।

यतिसम्म कि तामाङले मिडियामा गएर सबै कुरा बारिह ल्याइदिन्छु भन्दै झालाई धम्क्याउने समेत गर्थे । राजदूत झाको परिवार भने तामाङलाई १६ हजार तलब दिँदै आएको दाबी गर्छन् ।

यस्तो थियो लेनदेन विवाद

२०७२ सालको महामारी भूकम्पपछि सुरक्षागार्ड तामाङले घर बनाउन भन्दै पूर्वराजदूत झाबाट ५० हजार रुपैयाँ ऋण लिएका थिए । ५० हजार ऋण दिएपछि केही समय उनीहरुको सम्बन्ध राम्रै थियो ।

पूर्वराजदूत झाले ४–५ महिनापछि ऋण दिएको उक्त पैसा तामाङलाई फिर्ता गर्न भनेपछि विवाद शुरु भएको थियो । तामाङले पनि झालाई ‘१२ वर्ष काम गरेँ, ५० हजार पनि नदिने !’ भन्दै रिस पोख्दै आएका थिए ।

झाले समयमा पैसा फिर्ता नगरेको भन्दै तामाङलाई गालीगलौज गर्ने गरेको प्रहरीको अनुसन्धानबाट खुल्न आएको छ । झाले महिना–महिना तलबमा काट्छु भने पनि तामाङले अस्वीकार गरेका थिए ।

अचानक मृत फेला

पैसाको विवाद कायम नै रहेको बेला अचानक २०७५ भदौ ४ गते बिहान पूर्वराजदूत झा आफ्नै निवासका मृत अवस्थामा फेला परे । झाको अनुहार र छातीमाथि चक्कु प्रहार गरिएको थियो । यस्तै उनको घाँटीमा पनि गहिरो चोट लागेको थियो ।

झालाई तकियाले मुख थिचेर चक्कु प्रहार गरी हत्या गरेको पाइएको छ । हत्यामा प्रयोग गरिएको चक्कु झाकै भान्सामा प्रयोग हुने चक्कु रहेको पनि प्रहरी अनुसन्धानबाट खुल्न आएको छ । यता, मुख थिच्न प्रयोग गरिएको तकिया एकदिन पहिले मात्र दराजमाथि थन्काइएको थियो । जुन कुरा तामाङबाहेक अरु कसैलाई थाहा थिएन ।

झाको घरमा तामाङभन्दा बाहेक अरु मान्छे कतैबाट पनि पस्न सक्ने अवस्था थिएन । झाको हत्यामा जाडोमा लगाउने पञ्जा पनि प्रयोग भएको प्रहरीले बताएको छ । जुन पञ्जा तामाङले सरसफाइ गर्ने क्रममा आफैले दराजमा राखेका थिए ।

झाको कसले किन हत्या गर्यो भन्ने पाटोबाट अनुसन्धान थाले पनि प्रहरीले कसैलाई कठघरामा उभ्याउन सकेको थिएन । झाको हत्यालगत्तै काभ्रेका उनै तामाङ तामाङ पक्राउ परेका थिए ।

दोस्रोपटक शंकास्पदको घेरामा परेपछि...

‘शंकास्पद’ भन्दै पक्राउ गरिएका तामाङलाई एक वर्ष पहिले ‘अभद्र व्यवहार’ मा मुद्दा चलाइएको खुल्न आएको छ । झाको हत्यामा संलग्न भएको आशंकामा एक वर्षपछि प्रहरीले फेरि भदौ १ गते तामाङलाई काभ्रेबाट पक्राउ गरेको थियो । झाको परिवारले तामाङविरूद्ध किटानी जाहेरी दिएपछि महानगरीय अपराध महाशाखाले पक्राउ गरेको हो ।

‘किटानी जाहेरी आएपछि अनुसन्धानका लागि तामाङलाई पक्राउ गरी अनुसन्धान थालिएको थियो,’ परिसरका प्रवक्ता बोगटीले भने, ‘अनुसन्धानमा देखिएको दोषी सानुकान्छा नै हो ।’

दोस्रो पटक पक्राउ गरी अनुसन्धान गरिएका तामाङले ५० हजार लेनदेन विवादकै कारण पूर्व राजदूत झाको हत्या गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानमा देखिएको छ ।

झा हत्याको अनुसन्धानका क्रममा प्रहरीले बबरमहल आसपासका तीन सयभन्दा बढी व्यक्तिलाई सोधपुछ गरेको थियो । तथापि, हत्यारा घरमै छिर्दासमेत कसैले थाहा नपाएको पत्ता लागेको थियो । यसकारण पनि झाको हत्या ‘रहस्यमय’ बन्दै आएको थियो ।

झा सन् १९९३ देखि १९९७ फ्रान्सका लागि नेपाली राजदूत थिए । ८० वर्षीय उनी श्रीमतीसँग बबरमहलमा बस्दै आएका थिए । झाको हत्या भएको दिन घरमा ३ जना मात्रै थिए । 

यता, तामाङले प्रहरी र अदालतको बयानमा आफूले नगरेको दावी गरेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

सुजन पन्त
सुजन पन्त

पन्त सुरक्षा/अपराध बिटमा रिपोर्टिङ गर्छन् ।

लेखकबाट थप