मङ्गलबार, ०४ वैशाख २०८१
ताजा लोकप्रिय

बाँकेमा काँग्रेस–नेकपाबीच झडप : काँग्रेस बाँकेका सभापतिको हात भाँचियो

घटनाबारे यस्तो छ काँग्रेस–नेकपाको प्रतिक्रिया
शुक्रबार, २७ भदौ २०७६, ११ : ४३
शुक्रबार, २७ भदौ २०७६

काठमाडौँ । नेपाली काँग्रेसले आफ्नो कार्यक्रममा नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का कार्यकर्ताले आक्रमण गरेको आरोप लगाएको छ ।

नेकपाका कार्यकर्ताको अक्रमणबाट नेपाली काँग्रेस बाँकेका सभापति किरण कोइरालाको हात भाँचिएको छ भने अन्य केही भाइते भएका छन् । नेपालगञ्जस्थित वेष्टर्न अस्पतालमा उनको उपचार गरिएको थियो ।

सो अस्पतालका चिकित्सक डा. विनोद थापाका अनुसार सभापति कोइरालाको हातको नाडीदेखि माथिको हड्डी भाँच्चिएकाले प्लाष्टर गरिएको छ ।

बाँकेको सीतापुरस्थित रेडक्रसको सभाकक्षमा आयोजना गरिएको कार्यक्रममा सहभागी भएका सभापति कोइराला लगायतका काँग्रेसकार्यकर्तामाथि नेकपाका कार्यकर्ताको समूहले मञ्चमै पुगेर आक्रमण गरेको काँग्रेसले जनाएको छ ।

काँग्रेसले विज्ञप्तिमा जारी गर्दै भनेको छ, ‘यति ठूलो घटना हुँदा पनि सुरक्षा निकाय परिचालित नहुनु र गृह प्रशासन समेत संवेदनशील नहुनुलाई काँग्रेसले सुनियोजित एवम् अत्यन्त गम्भीर घटनाको रुपमा लिएको छ ।’

यो हाम्रो क्षेत्र हो यहाँ काँग्रेसले कार्यक्रम गर्न पाउँदैन भन्दै बाँके सभापति किरण कोइराला, केन्द्रीय प्रतिनिधि विद्याप्रसाद खनाललगायत दर्जनौं कार्यकर्तामाथि सुनियोजित र सांघातिक हमला भएको काँग्रेसको ठहर छ ।

सोही विषयमा काँग्रेसले शुक्रबार दिउँसो पत्रकार सम्मेलन गर्ने लागेको बुझिएको छ ।

काँग्रेसले घटनाको भत्र्सना गर्दै नदोहोर्याउन नेकपालाई चेतावनी दिएको छ । साथै आक्रमणकारीलाई कारबाही गर्न सरकारसँग माग गरेको छ ।

तर नेकपा बाँकेका अध्यक्ष आइपी खरेलले पार्टी युवा समर्थकको व्यक्तिगत विवाद घटना हुन पुगेको बताएका छन् । अध्यक्ष खरेलले भने, ‘काँग्रेसको कार्यक्रम बिथोल्ने हाम्रो कुनै नीति नै छैन । काँग्रेसका कुनै एक कार्यकर्तासँग हाम्रो पार्टीका समर्थक युवाहरुको व्यक्तिगत विवादले एक्कासि जन्माएको यो दुःखद् घटना मात्र हो । ’

यता, आक्रमण गर्नेमध्ये तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । आक्रमणको घटनामा संलग्न अन्य तीन जनालाई प्रहरीले खोजिरहेको बाँकेको धनौनी इलाका प्रहरी कार्यालयका प्रमुख प्रहरी निरीक्षक पोषण थपलियाले बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप