मङ्गलबार, ११ वैशाख २०८१
ताजा लोकप्रिय

नेता नै थला पर्दासमेत डेङ्गु नियन्त्रणमा प्रमुख राजनीतिक दलहरू उदासीन !

फेसबुक र ट्विटरमा लेखेर आफ्नो ‘जिम्मेवारी पूरा गर्दै !
शुक्रबार, २७ भदौ २०७६, ११ : १०
शुक्रबार, २७ भदौ २०७६

काठमाडौँ । गत साता नेकपाका नेता तथा सङ्घीय सरकारका कृषि मन्त्री चन्द्रप्रकाश खनाल ‘बलदेव’लाई डेङ्गु सङ्क्रमण भएको भेटिएपछि उनी झण्डै ५ दिन अस्पतालको बेडमा बसे ।

त्यसपछि अर्का नेता वामदेव गौतमलाई पनि डेङ्गु सङ्क्रमणको आशङ्कामा स्वास्थ्य परीक्षण गरियो । तर गौतमलाई डेङ्गुको सङ्क्रमणले नछोएको स्वास्थ्य रिपोर्टले देखायो ।

त्यति मात्रै होइन, बिहीबारको प्रतिनिधि सभा बैठकको शून्य समयमा बोल्दै नेकपाका सांसदहरूले स्वास्थ्य मन्त्रीलाई तत्काल संसदमा बोलाएर डेङ्गु रोगको अवस्थाबारे जानकारी गराउन माग गरे । नेकपा सांसद कृष्णगोपाल श्रेष्ठले सरकार र स्वास्थ्य मन्त्री गम्भीर नभएको भन्दै आक्रोश मात्रै पोखेनन् ‘डेङ्गु डेङ्गु भन्दैमा थाकिसकियो । डेङ्गुको सरोकारमा सरकार नबोलेर टार्ने प्रयास भएको गुनासो गरे  ।

‘अमेरिकाको सरकारले बोलिदियो, नेपालमा डेङ्गु आतङ्क छ नजानू, भएका अमेरिकी नागरिक नेपालमा सचेत रहनू । योभन्दा लाजमर्दो के हुन्छ सभामुख महोदय ?’ उनले सभामुखलाई प्रश्न गर्दै सरकारका मन्त्री डेङ्गुु पीडित, आँखाको डाक्टर डेङ्गु पीडित भएको बताए । उनले अब कति सांसदलाई डेङ्गु भएपछि सरकारको ध्यान जान्छ ? भन्दै सभामुखमार्फत प्रश्न गरे ।

नेकपाकै अर्का सांसद खगराज अधिकारीले पनि डेङ्गु रोग हो कि महामारी हो ? त्यसमा स्पष्ट पार्न माग गरे । उनले महामारी हो भने सम्पूर्ण जनप्रतिनिधिहरू, राजनीतिक दलका सदस्यहरू सम्पूर्ण शक्तिका साथ यसको विरुद्ध जनचेतना जगाउन जानुपर्ने बताए । उनले डेङ्गुविरुद्ध स्वास्थ्य सङ्कटकाल घोषणा गरेर जाने बताए । उनले भने– ‘यो रोग प्रकोप हो भने इपिडिमियोलोजी महाशाखा के सुतेर बसेको हो ? स्वास्थ्य मन्त्रालय सुतेर बसेको हो ? जनतामा यो भय र आतङ्क तुरुन्त रोक्ने काम गर्नुपर्यो ।’  


डेङ्गुको सङ्क्रमण नियन्त्रणमा सरकारले प्रभावकारी कदम चाल्न नसक्दा सङ्क्रमितको सङ्ख्या र जनआक्रोश घट्नुको साटो यसरी बढ्दै गएको छ ।

६ जनाको ज्यान लिइसकेको डेङ्गुबाट हालसम्म झण्डै ५ हजारभन्दा बढी मानिस बिरामी भएको तथ्याङ्क आइसकेको छ । उसो त संसदमा समेत डेङ्गु नियन्त्रणमा सरकारको प्रभावकारी भूमिका नदेखिएको भन्दै सांसदहरूले सरकारको पटक–पटक ध्यानाकर्षण गराइसकेका छन् । राष्ट्रिय सभाका सांसद राधेश्याम अधिकारीले त सङ्कटकाल नै घोषणा गरेर यसको नियन्त्रणको पहल गर्न बैठकमै कुरा उठाए ।

अधिकारीले राष्ट्रियसभा बैठकमा यसरी सरकारको ध्यानाकर्षण गराए पनि स्वास्थ्य मन्त्रालयका प्रवक्ता महेन्द्र श्रेष्ठले त्यसको भोलिपल्ट बिहीबार डेङ्गु नियन्त्रण गर्न सङ्कटकाल आवश्यक नरहेको प्रतिक्रिया फर्काए । श्रेष्ठले बरु डेङ्गुको अनावश्यक भय फैलाइएको भन्दै सङ्कटकाल घोषणा गर्ने आवाज उठाएर जनतालाई त्रसित नपार्न आग्रह गरे ।

उनले भने, ‘सामान्य अवस्था छ, यसको मतलब केही भएको छैन, केही भएको होइन भन्ने चाहिँ होइन ।’ उनले डेङ्गु रोग नियन्त्रणका लागि सरकारले सबै प्रयास गरिरहेको पनि दाबीसमेत गरे ।

सरकारले डेङ्गु नियन्त्रणमा आफ्नो प्रयास मात्रै पर्याप्त नहुने भन्दै सबैको सहयोगले मात्रै यसलाई नियन्त्रणमा लिन सकिने बताउँदै आएको छ ।

जिम्मेवारीको हिसाबले यसमा स्वास्थ्यकर्मी परिचालन र औषधि उपकरणको व्यवस्था गर्ने मुख्य भूमिका तालुकदार निकाय स्वास्थ्य मन्त्रालयको हो । तर यस्तो आपतको बेलामा सरकारबाहेक राजनीतिक दलहरूले कुनै भूमिका निभाउन सक्दैनन् ? के सरकारको मात्रै मुख ताक्ने हो ? हो, यही प्रवृत्तिका कारण पनि समस्या थप बढ्दै जाने गरेको घट्नाक्रमहरूले देखाएका छन् ।

सरकारले मात्रै होइन, जनताका नाममा राजनीति गर्छांै भन्ने प्रमुख राजनीतिक दलहरूले पनि डेङ्गु नियन्त्रणमा बेवास्ता गर्दै आएका छन् । उनीहरूले गर्नसक्ने सामान्य कामहरू समेत आफूले नगरी सरकारलाई देखाउने र उतै पन्छाउने गरेका छन् ।

प्रदेश १ को धरानमा गत वैशाखबाट सुरु भएको डेङ्गुको प्रकोप देशका ६१ जिल्लामा फैलिसक्दा समेत राजनीतिक दलहरूले त्यसको नियन्त्रण र रोकथाममा कुनै पहल नगर्नुले उनीहरू नागरिकको स्वास्थ्यप्रति कति गैरजिम्मेवार छन् भन्ने कुरालाई झल्काउँछ ।

बरु कतिपय राजनीतिक दल र तिनका नेताहरूले विज्ञप्ति निकालेर त कतिले फेसबुक र ट्विटरमा लेखेर आफ्नो जिम्मेवारी पूरा भएको ठान्ने गरेका छन् ।

हुन त राजनीतिक दलहरूलाई यो काम आफ्नो नभएर ‘सरकारको हो’ भन्दै उम्कने विकल्प नभएको भने होइन । किनकि दलहरूको भन्दा बढी जिम्मेवारी सरकारकै हुन्छ भन्नेमा शङ्का रहेन । त्यसो भन्दैमा महामारीको अवस्था आइसक्दा समेत दलहरूले आफ्नो ठाउँबाट यसको नियन्त्रण र रोकथामका लागि किन प्रयास गर्न सक्दैनन् ? के उनीहरू राजनीतिक स्वार्थका लागि मात्रै जनतामा जाने हुन् ? प्रश्न स्वाभाविक उठ्न पुगेको छ ।

के गर्दैछन् राजनीतिक दलका स्वास्थ्य विभाग ?

राजनीतिक दलहरूले स्वास्थ्य विभाग बनाउँछन् । तर यस्तो बेलामा उनीहरूका विभाग के गरेर बस्छन् स्वयं पार्टीका नेता कार्यकर्तालाई समेत थाहा हुँदैन ।  पार्टीमा विभागीय प्रमुख बन्न ठुलै खिचतानी पनि हुने गर्छ । तर ती विभागहरू आवाश्यक काम पर्दा भने ‘चुपचाप’ जस्तै बस्ने गरेका छन् । हाल सङ्घीय संसदमा प्रतिनिधित्व गर्ने चार राजनीतिक दल छन् । जसमध्ये नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को नेतृत्वमा सङ्घीय सरकार बनेको छ । यो पार्टीले नेता राजेन्द्र पाण्डेको नेतृत्वमा स्वास्थ्य विभाग गठन गरेको छ । विभागमा पाण्डे प्रमुख र कल्पना धमला* उपप्रमुख छन् । नेकपाको यो विभाग पनि डेङ्गु नियन्त्रणमा कहीँकतै परिचालन भएको छैन । तर स्वास्थ्य विभाग प्रमुख पाण्डे नेता कार्यकर्ताले आआफ्नो स्थानबाट यसबारे जनचेतना फैलाउने काम भइरहेको दाबी गर्छन् । ‘पार्टीमार्फत सरकारलाई भन्ने काम भइरहेको छ’ पाण्डेको भनाइ छ ।

प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसले त लामो समयदेखि स्वास्थ्य विभाग नै गठन गरेको छैन । काँग्रेसले डेङ्गु फैलनुमा सरकारलाई दोष दिँदै आएको छ । यसैक्रममा काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले केही दिनअघि ‘किरा मार्न नसक्ने सरकारले के नै गर्न सक्छ र ?’ भन्दै सरकारप्रति व्याङ्ग्य नै कसेका थिए । उता समाजवादी र राजपा नेपालले पनि डेङ्गु नियन्त्रणमा आवाश्यक पहलकदमी लिन सकेका छैनन् । समाजवादीका अध्यक्ष उपेन्द्र यादव स्वयं स्वास्थ्य मन्त्री छन् । तर उनी मन्त्रालयको काम भन्दा पनि पार्टीका काममा बढी व्यस्त बनेका छन् । समाजवादीले पार्टीले नेता डा. महेशमान श्रेष्ठको नेतृत्वमा स्वास्थ्य विभाग बनाएको छ । तर यो विभागले जनस्तरमा जनचेतना फैलाउने, विभिन्न स्थानको सफाइ लगायतका कुनै पनि काम गर्न अग्रसरता देखाएको छैन । उता, राजपा नेपालले पनि डेङ्गु नियन्त्रणमा सहयोग पुग्ने गरी आफ्ना नेता कार्यकर्ता कतै परिचालन गरेको छैन । राजपाका नेतासमेत रहेका महिन्द्र राय यादवले डेङ्गु नियन्त्रणमा राज्य, राजनीतिक पार्टी र नागरिकहरू स्वयं सचेत हुनुपर्ने भन्दै त्यसका लागि पार्टीले भन्दा पनि प्रधानमन्त्रीले नै अग्रसरता देखाउनुपर्ने बताए । ‘हाम्रो पार्टीमा स्वास्थ्य विभाग त छैन । तर २ नम्बर प्रदेश र स्थानीय तहमा हाम्रा कार्यकर्ता खटिएका छन् । हामी सबै मिलेर यसको निकास खोज्नुपर्छ  । हामीले त प्रधानमन्त्रीलाई सर्वपक्षीय बैठक नै बोलाउन आग्रह गरिसकेका छौँ’ यादवले रातोपाटीसँग भने ।

सरकारलाई घच्घच्याइरहेका छौँ : राजेन्द्र पाण्डे, स्वास्थ्य विभाग प्रमुख नेकपा

डेङ्गु नियन्त्रणका लागि हामीले जति गर्नुपर्ने थियो, गर्न सकेका छैनौँ । पार्टीका तर्फबाट स्वास्थ्य विभागमा प्रमुख र उपप्रमुख मात्रै तोकिएको छ । विभागले पूर्णता पाएको छैन । त्यसकारण सरकारलाई घच्घच्याउने काम भने गरिरहेका छौँ । प्रदेश संसदमा पनि यसबारे छलफल भएको छ । स्वास्थ्य मन्त्रीलाई भेटेर जनचेतना फैलाउने काम गर्नुपर्छ भनेर भनेका छौँ । यद्यपि यो पार्टीले निर्णय गरेर गरेको भने होइन, । यसमा पार्टीकै निर्णय चाहिन्छ भन्ने पनि छैन । यस विषयमा स्थानीय तह र प्रदेश सरकार बढी सक्रिय हुनुपर्ने भएकाले उनीहरूलाई चलायमान पार्न जरुरी छ । त्यसका लागि आआफ्ना स्थानबाट पहल गर्न जरुरी छ ।

विश्वप्रकाश शर्मा, प्रवक्ता काँग्रेस

हामी भदौ २४ गतेदेखि राष्ट्रि«य जागरणमा अभियानमा छौँ । देशभर डेंगुको संक्रमणका फैलिँदै गएपछि काँग्रेसले अब जगरण अभियानमा खटेका प्रतिनिधिलाई परिपत्र जारी गर्दै डेंगु नियन्त्रणका लागि पनि निर्देशन दिन्छ । त्यसको लागि आगामी आइतबार पत्रकार सम्मेलन गर्दैछौँ ।

राजनीतिक दलले औषधिसहित डाक्टरहरुलाई डेंगु प्रभावित क्षेत्रमा पठाउने सम्भव हुँदैन । यसका लागि सरकारले सम्बन्धित संयन्त्र परिचालन गर्नुपर्छ । तर सरकारले त्यसमा अहिलेसम्म तदारुकता देखाएको छैन । ६० बढी जिल्लामा डेंगुको संक्रमण फैलिसक्दा पनि सरकारले डेंगु रोगलाई  नजर अन्दाज गर्दा ठूलो क्षति हुनसक्ने खतरा छ ।

अनिलकुमार झा, अध्यक्षमण्डलका सदस्य, राष्ट्रिय जनता पार्टी नेपाल

सातजना भन्दा बढीको निधन भइसकेको छ, हजारौँ मानिस सङ्क्रमित भएका छन् तर सरकारले अझै केही गर्ने सुरसार गरेको देखिँदैन । राजपा नेपालले सदनमा यो कुरा उठाएको छ । यसको चाँडो नियन्त्रण होस्, जनतालाई गफ दिएर भ्रममा पार्नु हुँदैन भनिरहेको छ । पार्टीले गर्ने त्यही हो । सरकार यसमा बढी लाग्नुपर्ने हो लागेको पाइँदैन ।

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) नेतृत्वको सरकार गफको भरमा मात्र चलेको कुरा डेङ्गुको महामारीले पुष्टि भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले उखानटुक्का र ठूला ठूला सपना देखाएर जनतालाई भ्रममा राखेको यो प्रकरणले पनि देखाउँछ । डेङ्गु नियन्त्रण गर्न नसकेको सरकारबाट जनताले अरू के अपेक्षा गर्ने ?’ प्रदेश सरकार र स्थानीय सरकारले पनि यसमा विशेष रूपमा ध्यान दिनुपर्ने भए पनि डेङ्गु नियन्त्रणको पूर्ण दायित्व केन्द्र सरकारको हो ।

सरकारलाई सुझाव दिएका छौँ : प्रकाश अधिकारी सहमहामन्त्री प्रकाश अधिकारी, समाजवादी पार्टी

हाम्रो पार्टी सरकारमा छ । सरकार डेङ्गुको प्रकोप नियन्त्रण गर्न लागि परिरहेको छ । हाम्रो पार्टी सरकारमा पनि भएकाले त्यसलाई नियन्त्रण गर्न पार्टीको पूर्ण सहयोग रहने नै भयो । प्रकोपबाट नागरिकलाई कसरी सुरक्षित गर्ने ? बच्न केके उपाय अपनाउने भनेर छुट्टै कार्यक्रम नगरे पनि सरकारलाई सल्लाह र सुझाव दिइरहेको छ ।

प्रधानमन्त्रीले अग्रसरता लिनुपर्छ : मोहन श्रेष्ठ, राप्रपा 

राप्रपाका प्रचार विभाग प्रमुख मोहन श्रेष्ठ जनतालाई सचेत हुन सबैभन्दा पहिला आफूले अपिल गरेको बताउँछन् ।

‘हामीले जनतालाई सचेत हुन आग्रह गर्ने हो नियन्त्रणका लागि गर्ने काम सरकारको हो’, श्रेष्ठले भने, ‘डेङ्गु महामारीको रूपमा फैलिएको छ । यसबाट बच्न प्रत्येक व्यक्तिको भूमिका रहन्छ । प्रधानमन्त्रीले अग्रसरता लिएर अभियान नै सञ्चालन गर्नुपर्छ भनेर राप्रपाले भनिसकेको छ ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप