शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

उपराष्ट्रपति पुनसँग जर्मन राजदूतको भेटवार्ता

बिहीबार, २६ भदौ २०७६, १६ : ५३
बिहीबार, २६ भदौ २०७६

काठमाडौं– उपराष्ट्रपति नन्दबहादुर पुन ‘पासाङ’सँग नेपालका लागि जर्मनीका राजदूत रोल्याण्ड स्क्याफेरले शिष्टाचार भेट गरेका छन् । बिहिबार अपरान्ह उपराष्ट्रपति भवन हरितगृहमा राजदूत रोल्याण्डले उपराष्ट्रपतिसँग शिष्टाचार भेट गरेका हुन् । भेटमा उपराष्ट्रपतिले नेपाल जर्मनी सम्बन्ध अत्यन्त प्रगाढ र सौहार्दपूर्ण रहिआएको बताए ।

उनले जनस्तरसम्म फैलिएको सम्बन्धलाई विस्तार गर्दै जानुपर्ने बताए । उपराष्ट्रपतिले राजनीतिक स्थायित्वसँगै नेपाल वैदेशिक लगानीका लागि पूर्ण सुरक्षित गन्तव्य बनेको उल्लेख गर्नुहुँदै जर्मनीको नीजि क्षेत्रलाई नेपालमा लगानीका लागि समन्वय गरिदिन आग्रह गरे । ‘समृद्ध नेपाल, सुखी नेपालीको राष्ट्रिय आकांक्षा पुरा गर्न सरकार र नीजि क्षेत्रसँगै वैदेशिक लगानीको खाँचो छ,’ उनले भने, ‘जर्मनी सरकार र जर्मनीको नीजि क्षेत्रबाट लगानीको अपेक्षा गरेका छौँ ।’ 

उपराष्ट्रपतिले सन् २०२० लाई नेपालले भ्रमण वर्षको रुपमा मनाउन लागेको जानकारी गराउँदै भ्रमण वर्ष वैदेशिक लगानीकर्ताहरुका लागि फलदायी हुने विश्वास व्यक्त गरे । ‘भ्रमण वर्षमा भ्रमण पनि र लगानीको सम्भाव्यताहरुको अध्ययन पनि होस् भन्ने हाम्रो चाहना छ,’ उनले भने, ‘जर्मनीका व्यवसायीहरु भ्रमण वर्षमा भ्रमण गरुन्, लगानीको सम्भाव्यता अध्ययन गरुन् र लगानी पनि गरुन् ।’

उपराष्ट्रपतिसँगको भेटमा राजदूत रोल्याण्डले जर्मनीको नीजि क्षेत्र नेपालमा लगानी गर्न तत्पर रहेको बताए । ‘नेपालले नयाँ नयाँ फड्को मार्दै गएको छ । राजनीतिक स्थिरतापछि यहाँ लगानीमैत्री वातावरण बनेको छ,’ उनले भने, ‘अक्टुबर २ मा जर्मनीको ६० वटा कम्पनीका प्रतिनिधि नेपाल भ्रमणमा आउँछन्, उनीहरु लगानीको सम्भावना अध्ययन गर्नेछन् ।’
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप