शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

तरुण दलमा गुटगत झगडाले लियो उग्र रूप : अध्यक्ष–महासचिवबीचको लडाइँ ‘ज्यान मार्ने धम्की’सम्म !

बिहीबार, २६ भदौ २०७६, १५ : २७
बिहीबार, २६ भदौ २०७६

काठमाडौँ– नेपाली काँग्रेसभित्रको गुटगत झगडा भ्रातृ सङ्गठन नेपाल तरुण दलमा चर्को रुपले उठेको छ ।

सङ्गठनसम्बन्धी निर्णय र भ्रष्टाचारका मुद्दालाई आन्दोलनको विषय बनाउने कि नबनाउने भन्नेमा अध्यक्ष जितजङ्ग बस्नेत र महासचिव भुपेन्द्रजङ्ग शाही वक्तव्यबाजीमा उत्रिएका हुन् ।

सो विषयलाई लिएर आफूमाथि अध्यक्ष बस्नेतले ज्यान मार्ने धम्र्कीसमेत दिएको महासचिव शाहीको आरोप छ । तर अध्यक्ष बस्नेतले भने महासचिवलाई फोन नै नगरेको बताए । 

उनले भने, ‘मैले कसैलाई फोन गरेको छैन । म विरुद्ध ‘स्टनबाजी’ भइरहेको छ । यो ‘स्टनबाजी’को दुई तीन दिनभित्र पर्दाफास गर्छु ।’ तर महासचिव शाहीले भने विभिन्न मान्छे लागएर अध्यक्ष बस्नेतले आफूलाई ज्याज मार्ने धम्र्की दिएको रातोपाटीलाई बताए । 

४ जना पदाधिकारीमा सीमित तरुण दलमा अध्यक्ष र महासचिवबीच यो स्तरको चर्काचर्कीले विवादको चरम रूप लिएको छ । जसमा आर्थिक अनियमितताको विषय पनि जोडिएको छ ।
विदेशमा रहेका काँग्रेस निकट जनसम्पर्क समितिबाट बाढीपीडितका नाममा उठेको सहयोग रकम अध्यक्ष र कोषाध्यक्षको मिलेमतोमा हिनामिना भएको आरोप छ ।

अध्यक्ष बस्नेतले केही जिल्लामा राहत वितरण गरिएको र केही पैसा तरुण दलको खातामा रहेको प्रतिक्रिया दिए । 

उनले भने, ‘राहतको नाममा विदेशमा रहेको जनसम्पर्क समितिका साथीहरुले सहयोग गरेका थिए । 

जसमा १३ लाख ५४ हजार रुपैयाँ सङ्कलन भएको थियो । यसको सबै डाटा छ । कसै अपचलन भएको छैन । मबाट यस्तो काम हुँदैन पनि ।’ केही दिनभित्र सबै कुरा पारदर्शी ढङ्गले बाहिर ल्याउने अध्यक्ष बस्नेतले बताए । यद्यपि तरुण दल स्रोतका अनुसार ७५ लाख रुपयाँ सङ्कलन भएको थियो । तर अध्यक्ष बस्नेतले भने  १३ लाख मात्र सङ्कलन भएको दाबी गरे । 

जागरण अभियानबारे विवाद
यस्तै माउ पार्टीले सुरु गरेको दोस्रो जागरण अभियानका विषय पनि विवादको इस्युका रूपमा देखा परेको छ ।

महासचिव शाहीले तरुण दलको कमिटी विस्तार र नेविसङ्घको कमिटीबिना थालिएको जागरण ‘नौटङ्की’ मा भएका थिए । 

उनको सो अभिव्यक्तिलाई अध्यक्ष बस्नेतले पार्टी नीति विपरीत भएको जिकिर गरे । महासचिव शाहीले पार्टी र तरुण दलको विधानविपरीत अगाडि बढाएको भन्दै अनुशासनको कारबाही हुने अध्यक्ष बस्नेतले सङ्केत दिए । यस विषयमा एक दुई दिनभित्र निर्णय लिने उनको भनाइ थियो ।

महासचिव शाहीले जागरण अभियानको विरोध गर्यो भनेर आफूमाथि भ्रम फैलाउने खोजिएको बताए । 

उनले भने, ‘मैले जागरण अभियानको नै पूरै विरोध गर्यो भनेर जसरी विभिन्न माध्यमबाट भ्रम फैलाउन खोजिएको छ । त्यो सरासर झुट र गलत हो । यस्ता खाले गलत प्रचारको म खण्डन गर्न चाहन्छु । मैले प्रष्ट रूपमा भनेको छु जागरण अभियानमा जाँदा पार्टीका भातृसंस्थाहरुलाई पूर्णता दिएर जाँदा अभियान झन् सफल हुन्छ र पार्टीलाई बल पुग्छ ।’ 

भ्रष्टाचारविरुद्ध आन्दोलनमा के विमिति ? 
महासचिव शाहीले भ्रष्टाचारविरुद्ध आन्दोलन गर्न अध्यक्ष बस्नेत तयार नभएको बताउँदै आएका छन् । पार्टीले घोषणा गरेको जागरण अभियानका क्रममा तरुण दलले वाइडबडी, बालुवाटार जग्गा प्रकरण, एनसेलको कर छली, ३३ किलो सुन काण्ड, निर्मला हत्या प्रकरण लगायतका विषयमा आन्दोलन गर्न आफूले जोड गर्दा अध्यक्ष बस्नेतले विमति राखेको महासचिव शाहीले आरोप छ ।

शाहीले भने, ‘भ्रष्टाचारलाई आन्दोलनको विषय बनाउन नमानेपछि विवाद चर्केको हो ।’ केही समयअघि वाइडबडीलाई घोटालाका दोषीलाई कारबाहीका माग राखेर अख्तियार घेर्ने तय भइसकेको कार्यक्रमसमेत अध्यक्ष बस्नेतकै कारण स्थगित भएको उनको दाबी छ ।

‘स्टनबाजी’का लागि महासचिव शाहीले वक्तव्यबाजी गरेको अध्यक्ष बस्नेत बताए । ‘अख्तियार घेर्ने कार्यक्रम तय भएको थियो । तर त्यसभन्दा बढी प्रभावकारी सीडीयो कार्यालयमा ज्ञापन बुझाउँदा होला भनेर हामीले ७७ जिल्लाकै सीडीयो कार्यालयमार्फत प्रधानमन्त्रीलाई ज्ञापन बुझाउने काम गरेका हौँ’ बस्नेतले भने, ‘हाम्रा कार्यक्रममा वाइडबडीका मुद्दा कहिल्यै छुटेको छैन ।’

वाइडबडी प्रकरणमा सभापति देउवाकै नाम जोडेर मिडियामा आएपछि अध्यक्ष बस्नेतले सो काण्डलाई लिएर आन्दोलन गर्न नमानेको शाहीको तर्क थियो । तर अध्यक्ष बस्नेतले उक्त कुरा ठाडै अस्वीकार गरे । 
‘सभापतिजीले हामीलाई भ्रष्टाचारविरुद्ध आन्दोलन नगर्नु भनेर कहिल्यै भन्नु भएको पनि छैन’, उनले भने, ‘हामीले देशभर नै महँगी, भ्रष्टाचारका विरुद्ध सभाहरु समेत गरेका छौँ ।’ 

केही महिनाअघि तरुण दलले सबै प्रदेशको राजधानीमा सरकारको विरुद्ध भण्डाफोर गरेको दाबी स्वरूप फेसबुकमा फोटा बताउँदै उनले भने, ‘मेरो नेतृत्वमा भ्रस्टाचारविरुद्ध कार्यक्रम भएको थियो कि थिएन । सत्य लुक्दैन, झुट टिक्दैन । ‘स्टनबाजी’ गरेर हुन्छ ?’

एकअर्काविरुद्ध वक्तव्यबाजी
सङ्गठनसम्बन्धी निर्णयमा समेत एकअर्काविरुद्ध वक्तव्यबाजी चलेको छ । सिन्धुपलाञ्चोकका उपाध्यक्ष सगुन श्रेष्ठलाई अध्यक्ष बस्नेतले केही समयअघि गरेको कारबाही महासचिव शाहीले फुकुवा गरेको पत्र पठाए । शाहीले सप्तरीमा सीता अधिकारीलाई तरुण दलको अध्यक्ष घोषणा गरे । 

तर शाहीको पत्रलाई अवैधानिक भन्दै अध्यक्ष बस्नेतले सिन्धुपालञ्चोक र सप्तरीमा यसअघि भएको निर्णय नै यथावत् रहेको भनी वक्तव्य जारी गरे ।

तरुण दल अध्यक्षत्मक प्रणालीमा सञ्चालन कुरा महासचिवले नबुझेको उनको आरोप छ । महासचिवले विधान विपरीत गएर निर्णय गरेको अध्यक्ष बस्नेतले जिकिर गरे ।

यता शाहीले भने, ‘अध्यक्ष एउटा कर्मचारीको जस्तो गरी वक्तव्यबाजी गरेर बस्ने होइन । सङ्गठनसम्बन्धी अधिकार महासचिवको हुन्छ । अर्को कुरा सप्तरीको निर्णय राजनीतिक सहमतिमा भएको थियो ।’

३ वर्षसम्म सङ्गठनलाई पूर्णता दिने कुरामा अध्यक्ष उदासीन देखिएको र विभिन्न विवादमा फसेको भन्दै अध्यक्षले गरेका आगामी निर्णयहरु मान्य नहुने उनले बताए । बस्नेत नेतृत्वको कार्यसमितिको आगामी मङ्सिर १ गते समयअवधि सकिँदै छ ।

महासचिव शाहीले माउ पार्टीसँग केन्द्रीय समिति विस्तार र तरुण दलको ५औँ महाधिवेशन घोषणा गर्ने माग गरे । उनले भने, ‘केन्द्रीय समिति तत्काल विस्तार गरियोस् । साथै कात्तिक २८, २९ र ३० गते तरुण दलका ५औँ महाधिवेशन घोषणाको पार्टीसँग माग गर्छु ।’

०७३ भदौमा पोखरामा सम्पन्न चौथो महाधिवेशनमा भागबण्डाकै आधारमा तरुण दलको ४ जनाको कार्यसमिति घोषणा भएको थियो । अध्यक्ष बस्नेत र कोषाध्यक्ष विद्वान् गुरुङलाई कोटाबाट आएका थिए । यता महासचिव शाही र उपाध्यक्ष उत्तम चापागाईं रामचन्द्र पौडेल र पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलाले सिफारिस गरेका थिए ।

पार्टीका नेताहरुको भागबण्डा नमिल्दा कार्यकाल सकिन दुई महिना छँदासम्म तरुण दल ४ जना पदाधिकारीमा सीमित छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप