बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

सरकारले भ्रम छर्न खोज्योः सांसद देव

बुधबार, २५ भदौ २०७६, १७ : ००
बुधबार, २५ भदौ २०७६

काठमाडौँ– नेपाली काँग्रेसका राष्ट्रियसभा सदस्य जितेन्द्र नारायण देवले जनतामा अनावश्यक भ्रम छर्ने काम नगर्न सरकारलाई सचेत गराएका छन् । 
राष्ट्रियसभाको बुधबार बसेको बैठकको विशेष समयमा बोल्दै उनले चिनियाँ विदेशमन्त्रीले गरेको तीनदिने नेपाल भ्रमण र प्राप्त उपलब्धिबारे सरकारले अनावश्यक रुपमा जनतामा भ्रम छर्ने काम गरेको टिप्पणी गरेका हुन् ।
भ्रमणका बारेमा विभिन्न क्षेत्र र निकायले आआफ्ना दृष्टिकोण सार्वजनिक गरिसकेको स्मरण गराउदै उनले केही सामान्य विषय बाहेक ठुलठुला आयोजनाका बारेमा खास उपलब्धि हाँसिल नभएको दावी गरे ।
उनले उच्चस्तरको भ्रमणको तयारी पनि सरकारले गर्न नसकेको आरोप लगाए । 
उच्चस्तरीय भ्रमणका क्रममा हुने वार्ताहरुमा आफ्ना योजनाहरुबारे नेपाल ठोस, स्पष्ट एवंम योजनावद्ध ढंगले प्रस्तुत गर्न नसकेको भन्दै उनले भ्रमणका क्रममा केरुङ्ग –काठमाडौ रेलवे सम्भाव्यता अध्ययन गर्न नेपालबाट भएको प्रस्ताव, बिआरआई प्राजेक्टर र मदन भण्डारी विश्वविद्यालयबारे चिनियाँ तर्फबाट कुनै प्रतिवद्धता नआएको तर अनावश्यक रुपमा जनतामा भ्रम छर्ने काम गरिएको भन्दै देवले असन्तुष्टी जनाए । 
उनले नेपाली जनतालाई अनावश्यक रुपमा भ्रम फैलाउने गरि मिडियाबाजी गर्ने काम नगर्न पनि सचेत गराए । 
उनले भने, ‘हामीले कहीँ नेपाली जनतालाई अनावश्यक किसिमले आईहाल्यो ठुल्ठुलो, एकदम त्यो चुच्चो चिनिया चि को फोटो लगाएर जसरी मिडियाबाजी गरिराख्या छौ । अनावश्यक रुपमा जनतालाई अब आयो, तब आयो, भोली आयो, पर्सिनै आईहाल्यो रेल उत्तरतिरबाट भनेर जसरी भन्न खोजीरहेका छौ । त्यसरी गर्दिन भएन । जे हो अवस्था वास्तविक अवस्था आईदिनुपर्यो ।’
उनले ३५ करोड ६० लाखमा मनाङ्गमा एउटा अस्पताल बन्ने, आपतकालिन बसोबासका लागि ५ हजार टेण्टहरु उपलब्ध भएको र नेपालका सरकारी स्कुलमा भाषा पढाउनका लागि चिनियाँ मास्टर आउनेबाहेक कुनै पनि उपलब्धि हाँसिल गर्न नसकिएको टिप्पणी गरे । हालै मात्रै चिनियाँ चोरहरुले एटिएम हयाकिङ्ग गरेर झण्डै साढे ३ करोड रुपैयाँ लुटेको, नेपाली चेलीलाई बेचबिखन गराउने काममा संलग्न भएको, केरुङ्ग काठमाडौको बाटोमा चिनियाँ सुन तस्कर बढेको लगायत विषयबारे तत्काल चिनियाँ पक्षसँग नेपाल सरकारले कुरा गर्नुपर्ने आवश्यकता रहेको देवको भनाई थियो ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप