मङ्गलबार, ०६ चैत २०८०
ताजा लोकप्रिय

इन्द्रजात्रामा पाँच विदेशी मेयरहरु पनि सहभागी हुने

बुधबार, २५ भदौ २०७६, १३ : ३७
बुधबार, २५ भदौ २०७६

काठमाडौं– काठमाडौं उपत्यकाको सबैभन्दा ठूलो जात्रा इन्द्रजात्रामा यस वर्ष विश्वका विभिन्न सहरका ५ जना मेयरसहित ४८ जना विदेशी पाहुना पनि सहभागी हुने भएका छन् । काठमाडौं महानगरपालिकाले बुधबार पत्रकार सम्मेलन गरी यस वर्षको इन्द्रजात्रामा विदेशी पाहुनालाई पनि सहभागी गराउन लागिएको जानकारी गराएको हो ।

इन्द्रजात्रालाई पनि नेपालको पर्यटन उद्योगको विकाससँग प्रत्यक्षरुपमा जोडेर अघि बढाउन यस वर्ष पहिलोपटक विश्वका विभिन्न मुलुकका ५ मेयरसहित ४८ जना पाहुनालाई पनि सहभागी गराउने योजना तय गरिएको मेयर विद्यासुन्दर शाक्यले बताए ।

नेपालको धर्म, संस्कृति र परम्पराको प्रचार गरेर ‘नेपाल भ्रमण वर्ष–२०२०’ लाई सघाउ पु¥याउन पनि उनीहरुलाई इन्द्रजात्रामा पनि सहभागी हुन निमन्त्रणा गरिएको पनि उनले बताए । बिहीबारबाट उनीहरु नेपालमा आउन सुरु गर्नेछन् । आगामी २७ गते शुक्रबार ती विदेशी पाहुनाहरु इन्द्रजात्राको विशेष कार्यक्रममा सहभागी हुनेछन् ।

मंगलबार (हिजो)बाट विधिवत रुपमा सुरु भएको इन्द्रजात्राको विशेष दिन शुक्रबार राष्ट्रप्रमुखको रुपमा राष्ट्रपति विद्याभण्डारीले वसन्तपुर कुमारीको रथयात्रामा सहभागी भई टीकाप्रसाद ग्रहण गर्ने कार्यक्रम छ । सोही दिन विदेशी पाहुनाहरुलाई पनि कुमारीको रथमा सहभागी गराई काठमाडौं उपत्यकाको सम्पदाहरुको पनि अवलोकन गराउने काठमाडौं महानगरपालिकाको योजना छ । त्यसका लागि इन्द्रजात्रा व्यवस्थापन समिति र स्थानीय क्लबहरुसँग पनि सहकार्य गरिएको छ ।

काठमाडौं महानगरपालिकाकाले इन्द्रजात्रा व्यवस्थापन समितिका लागि १० लाख खर्चको व्यवस्था गरिसकेको छ । मेयर शाक्यले इन्द्रजात्रामा सहभागी हुन आउने ४८ जना विदेशी पाहुनाहरुको खर्चको व्यवस्था पनि महानगरपालिका आफैंले गर्न लागेको जानकारी दिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप