शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

पाँच किलोमिटरको भाडा रु १३०

बुधबार, २५ भदौ २०७६, १३ : ०६
बुधबार, २५ भदौ २०७६

म्याग्दी– बेनीको महारानी थानदेखि बेनी नगरपालिका–४ डाँडाखेत जोड्ने सडकमा यातायात सेवा दिने व्यवसायीले मनोमानी भाडा असुल्ने गरेका छन् । बेनी नगरपालिका, जिल्ला प्रशासन र यातायात व्यवसायीका प्रतिनिधिको बैठकबाट तय भएको भन्दा बढी भाडा असुलेका हुन् । सो सडक आसपासका थाकनपोखरी, डाँडाबारी, छापा, फुर्केसल्ला, कुँडुले, डाँडाखेत, सिस्नेराका बासिन्दा व्यवसायीको मनोमानीबाट ठगिएका छन् । 

महारानी थानदेखि डाँडाखेत हुँदै ठूलोखोलासम्मको कृषि सडकको दूरी ११ किलोमिटर छ । बेनीदेखि डाँडाबारीसम्मको २.५ किलोमिटर, फुर्केसल्ला पाँच किलोमिटर र डाँडाखेत सिस्नेरा आठ किलोमिटर छ । सो सडकमा राजन बानिया र शङ्कर किसानले जिपमार्फत यातायात सेवा दिँदै आएका छन् । 

सो सडकमा प्रतिकिलोमिटर रु १५ का दरले भाडादर कायम भएको थियो तर उनीहरूले पाँच किलोमिटर दूरीको फुर्केसल्लासम्म यात्रा गरेको रु १३० लिने गरेका छन् । बेनी नगरपालिका–४ का वडाध्यक्ष गोविन्दप्रसाद पौडेलले बढी भाडा असुलेको गुनासोका बारेमा उपभोक्ताले लिखित उजुरी गरेको बताए । 

वडा अध्यक्ष पौडेलले बेनीदेखि डाँडाखेत जोड्ने सडकमा रु १०० प्रतिव्यक्ति भाडा कायम भएकोमा आफैँलाई समेत व्यवसायीले रु १३० लिएको बताए । बेनी–दरवाङ सडकको बेनीदेखि ठूलोखोलासम्मको विकल्प मानिएको यो सडकबाट बेनी नगरपालिका–४, ५ र ६ का बासिन्दाले सेवा लिँदै आएका छन् । यस क्षेत्रमा २०० भन्दा बढी घरधुरीको बसोबास छ । पछिल्लो केही वर्षयता यो सडकलाई करोडौँ रकम खर्चेर स्तरोन्नति पनि गरिएको छ । 

यातायात व्यवसायी बानियाँले डिजेलको मूल्य बढेको र कच्ची सडक भएसँगै गाडीको इञ्जिन बिग्रने, मर्मत खर्च बढी लाग्ने भएकाले आफूहरुले भाडा बढाएको प्रतिक्रिया दिए । गाडीमा नचढ्ने मोटरसाइकल भएकाले स्थानीयलाई आफूहरुका विरुद्ध उचालेको उनको भनाइ छ । 

म्याग्दीका प्रमुख जिल्ला अधिकारी ज्ञाननाथ ढकालले लिखितरूपमा तोकिएकोभन्दा बढी भाडा लिएको विषयमा उजुरी नआएको र त्यस्तो सूचना पाएमा कारवाही गरिने बताए । म्याग्दीका अन्य ग्रामीण सडकमा चल्ने सवारी साधनहरुले पनि मनोमानी हिसाबले तोकिएको भन्दा बढी भाडा असुल्ने गरेको जनगुनासो छ । 

म्याग्दी यातायात प्रालिका कार्यवाहक अध्यक्ष लालबहादुर थापाले सामान ढुवानी र घरायसी प्रयोजनको मात्र अनुमति लिएका निजी गाडीले यात्रु बोकेर मनोमानी भाडा असुल्ने गरेको र त्यसको अपजस आफूहरुले भोग्नुपरेको बताए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप