बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

भ्रमण वर्ष २०२० सम्पन्न गर्न ६१ करोडको प्रस्ताव : २० करोड सकियो, तयारी सुस्त !

बुधबार, २५ भदौ २०७६, १२ : २५
बुधबार, २५ भदौ २०७६

काठमाडौँ– भ्रमण वर्ष २०२० लागि राष्ट्रिय कार्यक्रम संयोजक एवं उद्यमी सुरज वैद्यले सरकारसँग ६१ करोड रूपैयाँ मागेका छन् । २०६७÷०७७ का लागि भन्दै उनले सरकारसँग अनुमानित लागत स्टिमेटसहितको उक्त रकम मागेका हुन् ।

वैद्यले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा पेश गरेको प्रस्तावमा करारका कर्मचारीको तलब, भत्ता र पोसाकका लागि मात्रै एक करोड ७४ लाखभन्दा बढीको प्रस्ताव गरेका छन् । त्यस्तै टेलिफोन, पानी र बिजुलीको महसुल खर्च २० लाख रूपैयाँ खर्च हुने प्रस्ताव पेश गरेका छन् ।

तयारीमा सुस्तता

सन् २०२० लाई नेपाल भ्रमण वर्षका रूपमा मनाउने निर्णय गरे पनि त्यसका लागि पर्याप्त तयारी नभएको सरोकारवालाहरुले गुनासो गरेका छन् । सरकारले २०२० लाई भ्रमण वर्षका रूपमा मनाउन राष्ट्रिय कार्यक्रम संयोजकका रूपमा उद्यमी सुरज वैद्यलाई नियुक्त गरे पनि भ्रमण वर्षमा पर्यटकलाई आकर्षित गर्ने ठोस योजनाहरु बनाउन नसकेको भन्दै उनीहरुले असन्तुष्टि जनाएका हुन् ।

भ्रमण वर्ष आउन ४ महिना मात्रै बाँकी हुँदा तयारीस्वरूप गर्नुपर्ने धेरै कामहरु गर्न बाँकी नै रहेकाले ती काम गर्न गति बढाउनुपर्ने टे«किङ एसोसिएसन आफ नेपाल टानका अध्यक्ष खुम सुवेदीले बताए ।

‘ट्रेनिङ, जनचेता, डोमेस्टिक एयरलाइन्सहरुको क्षमता वृद्धि, सार्वजनिक स्थानमा शौचालय निर्माण, डोमेस्टिक उडान थप लगायतका काममा ध्यान दिन सक्नुपर्छ अनि मात्रै नेपाल भ्रमण वर्ष २०२० सफल पार्न सकिन्छ’, सुवेदीले रातोपाटीसँगको कुराकानीमा भने । होटल व्यवसायी दोर्जी शेर्पाले पर्याप्त तयारी नभए पनि सरकारले घोषणा गरेकाले यो योजना सफल पार्न सबैको पहल जरुरी भएको बताए ।

२० लाख पर्यटक भित्र्याउने यो योजना निकै महत्त्वाकाङ्क्षी भए पनि सफल पार्न राष्ट्रिय संयोजकले निजी क्षेत्रसँग सहकार्य गर्ने प्रयास गरे पनि त्यो प्रयाप्त नभएको नेपाल एसोसिएसन अफ टुर एन्ड ट्राभल्स एजेन्ट (नाटा)का अध्यक्ष सीएन पाण्डेको भनाइ छ ।

६१ करोडमा वैद्यले लगे २० करोड

सरकारले व्यवसायी सुरज वैद्यलाई भ्रमण वर्ष २०२० अभियानको राष्ट्रिय कार्यक्रम संयोजक नियुक्त गरेपछि उनले झण्डै ६१ करोड बजेटसहितको प्रस्ताव पेश गरेका थिए । त्यसमध्ये सरकारले हालसम्म २० करोड रूपैयाँ दिइसकेको छ । तर त्यो रकम केकेमा खर्च भयो भन्ने हिसाब किताब पारदर्शी नभएको पर्यटन मन्त्रालय स्रोतले जनाएको छ । तर मन्त्रालयका सहसचिव तथा प्रवक्ता घनश्याम उपाध्ययले बाँकी रकम निकासाका लागि अर्थमन्त्रालयसँग कुराकनी भइरहेको प्रतिक्रिया दिए । ‘भ्रमण वर्षका लागि २० करोड खर्च भइसकेको छ । बाँकी रकमबारे अर्थसँग कुराकानी भइरहेको छ’, प्रवक्ता उपाध्यायले रातोपाटीलाई बताए । सरकारले ०७४ साउन २९ गते ‘नेपाल भ्रमण वर्ष २०२०’ मनाउने घोषणा गरेको थियो । सोही घोषणा अनुसार सरकारले आर्थिक वर्ष २०७५/७६ को नीति तथा कार्यक्रममा उक्त भ्रमण वर्षमा बीस लाख पर्यटक भित्र्याउने लक्ष्य राखेको छ ।

संयोजक चयनप्रति नै असन्तुष्टि

भ्रमण वर्षको संयोजक चयनप्रति व्यवसायीहरुले असन्तुष्टि जनाउँदै विरोध गरेका थिए । विशेषगरी पर्यटन क्षेत्रमा संलग्न व्यवसायीले पर्यटन क्षेत्रभन्दा बाहिरको व्यक्तिलाई संयोजक बनाएको भन्दै विरोधसमेत गरेका थिए । भ्रमण वर्षका लागि नेपाल पर्यटन बोर्डले तयार गरेको १ सयवटा गन्तव्यबाट २०२० का लागि २० वटा गन्तव्य छनोट गरी आवश्यक पूर्वाधार बनाउने मन्त्रालयको तयारी भए पनि हालसम्म ती गन्तव्यका पूर्वाधार निर्माण भए वा छैनन् भन्ने कसैलाई अत्तोपत्तो छैन । भ्रमण वर्ष २०२० का गन्तव्य तथा तयारीहरु तय हुन नसकेको नेपाल पर्यटन वर्ष २०११ का संयोजक तथा व्यवसायी योगेन्द्र शाक्य बताउँछन् ।

भ्रमण वर्षको नाममा केही व्यक्तिलाई विदेश घुम्न पठाउने र राज्यको रकम खर्च गराउने मात्र भएकाले उपलब्धिहरुका विषयमा पनि स्पष्ट पार्न आवश्यक रहेको शाक्यले बताए ।

बढ्यो मन्त्रीको सक्रियता

पर्यटन व्यवसायीहरुका अनुसार तत्कालीन संस्कृति तथा पर्यटन तथा नागरिक उड्डयन मन्त्री रवीन्द्र अधिकारीको हेलिकोप्टर दुर्घटनामा भएको निधनसँगै भ्रमण वर्ष २०२० को तयारी ठप्प जस्तै बनेको थियो । तर पछिल्लो पटक उक्त मन्त्रालयको जिम्मेवारी योगेश भट्राईले सम्हालेपछि तयारीले केही गति लिएको छ । ‘नयाँ मन्त्री आएपछि गति बढेको छ । निजी क्षेत्रसँग छलफल र सुझाव पनि मागिएको छ । तर संयोजकले पनि मन्त्रीको गति बुझेर काम गर्नसके सरकारको योजना सफल हुन्छ, नत्र एक जनाको पहलले मात्रै लक्ष्यमा पुग्न कठिन छ’, टानका अध्यक्ष सुवेदीको भनाइ छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप